१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

धमाधम आकस्मिक कोष बन्दै

कोषबाटै स्वास्थ्यकर्मीलाई दैनिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता र मासिक २५ लिटर इन्धन
सीमा तामाङ

ललितपुर — ललितपुर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनीकरण र नियन्त्रका लागि आकस्मिक कोष नछुट्याए पनि विपद् व्यवस्थापन समितिमार्फत काम गर्दै आएको जनाएको छ ।

धमाधम आकस्मिक कोष बन्दै

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा एक करोड ५० लाख रुपैयाँ रहेको र हाल उक्त समितिअन्तर्गत नै काम गरिरहेको बताए ।


महानगरको २९ वटै वडाको विपद् व्यवस्थापन समितिमा पनि एक/एक लाख रुपैयाँ रहेको उनले जानकारी दिए । ‘वडाले वडास्तरीय समितिबाट कोरोना भाइरससम्बन्धित जनचेतनामूलक कार्यक्रम, मास्क र सेनिटाइजर वितरण र किटनाशक औषधि छर्किरहेको छ,’ उनले भने, ‘अहिले विदेशबाट आएका र मजदुरहरुको तथ्यांक सकंलन भइरहेको छ ।’


दैनिक ज्याला मजदुरी गर्नेलाई राहत वितरण गर्न संघीय सरकारले २५ लाख रुपैयाँ दिने जानकारी प्राप्त भएको उनले बताए । उनका अनुसार नगरस्तरिय समितिमै उक्त रकम राखेर राहत वितरण गरिनेछ । ‘अझ लकडाउनको समय लम्बियो र छुट्टै कोष नै बनाउनु पर्ने अवस्था आयो भने बताउँछौं,’ उनले भने ।


काठमाडौं महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि १० करोडको रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । वडाअनुसार दुईदेखि चार लाख रुपैयाँसम्म बजेट पठाइसकिएको र पुनः सोही मात्रामै पठाउने तयारी भइरहेको महानगरले जनाएको छ ।


महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले कोषबाटै कोरोना भाइरस रोकथामको लागि आवश्यक पर्ने अत्यावश्यक सामाग्रीदेखि व्यवस्थापनसम्मको खर्च भइरहेको बताए । ‘कोरोनासम्बन्धी जनेतनामूलक पम्पलेट, ब्यानर र पर्चादेखि मास्क तथा किटनाशक औषधि छर्कदैछौं,’ उनले भने, ‘अब क्वारेन्टाइन तथा आइसोलेसन बनाउन छलफल गर्दैछौं ।’


गोदावरी नगरपालिकाले ५१ लाख रुपैयाँको आकस्मिक कोष खडा गरेको जनाएको छ । नगरपालिकाले कोषबाटै स्वास्थ्यकर्मीलाई दैनिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता समेत दिइरहेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । उनका अनुसार कोषमा रकम जम्मा गर्न नगरपालिकाले अन्य संघसस्थालाई पनि आहृवान गरेको छ ।


जनचेतना फैलाउन नगरबाट परिचालन भएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा कर्मचारी संक्रमित भई उपचार गर्नुपरेमा निःशुल्क गर्ने र संक्रमणबाट मृत्यु भएमा तिनको परिवारलाई १० लाख रुपैयाँ पनि कोषबाटै उपलब्ध गराउने निर्णय भएको उनले बताए । लकडाउनको अवधिभर स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीलाई मासिक २५ लिटरका दरले इन्धनसमेत दिइनेछ । आवश्यक परेको खण्डमा नगरपलिकाले फेरि बजेट छुट्याउने उनले जनाए ।


गोकर्णेश्वर नगरपालिकाले पनि ५० लाख रुपैयाँको आकस्मिक कोष बनाएको नगप्रमुख सन्तोष चालिसेले बताए । कोषबाट कोरोना भाइरससम्बन्धी जनचेतनामूलक कार्यक्रमदेखि विपन्नलाई राहत, क्वारेन्टाइन तथा आइसोलेसन कक्ष तयार गरिने उनले जानकारी दिए ।

प्रकाशित : चैत्र १८, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?