कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशबाट फर्केकाको स्वास्थ्य सामान्य

प्रशान्त माली

ललितपुर — गोदावरी र महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्केर सम्पर्कमा आएका कोहीमा पनि कोभिड–१९ संक्रमण नदेखिएको नगर प्रमुखहरूले बताएका छन् । 

विदेशबाट फर्केकाको स्वास्थ्य सामान्य

गोदावरीमा विदेशबाट आएका ५४ जना नगरपालिकाको सम्पर्कमा छन् । तीमध्ये ३५ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको गोदावरीका प्रमुख गजेन्द्र महर्जनले बताए । ‘अरू १९ जना होम क्वारेन्टाइनमा छन्,’ उनले भने । गोदावरीमा चैत १ गतेयता विदेशबाट आउनेलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।


नगर प्रमुख महर्जनका अनुसार कोभिड–१९ को आशंकामा बज्रबाराही चापागाउँ नगर अस्पतालको आइसोलेसन वार्डमा राखिएकी १८ वर्षीया किशोरीमा पनि संक्रमण नभएको पुष्टि भएको छ । ती किशोरी बोस्नियाबाट चैत २ गते आएकी हुन् ।


महालक्ष्मीमा विदेशबाट आएका ४१ जना नगरको सम्पर्कका छन् । स्थानीय स्वास्थ्यकर्मी र अस्पतालमा जाँच गराउँदा उनीहरू सबैमा स्वास्थ्य सामान्य पाइएको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताए । ‘चिकित्सकले उनीहरूलाई होम क्वारेन्टाइनमा राखे पुग्ने सल्लाह दिएअनुसार व्यवस्था मिलाएका छौं,’ उनले भने ।


गोदावरीले गोदावरी भिलेज रिसोर्टसँगको समन्वयमा ४० शय्याको क्वारेन्टाइन र चापागाउँस्थित बज्रबाराही चापागाउँ नगर अस्पतलामा १० शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । महालक्ष्मीले किस्ट अस्पतालसँगको सहकार्यमा ६० शय्याको आइसोलेसन र २२ शय्याको आईसीयू वार्ड तयार पारेको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?