कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपत्यकाका २३३ बालगृहको अवस्था के छ ? 

लकडाउनसँगै कुनैमा खाद्यान्‍न अभाव, कतै सेनिटाइजर र साबुन छैन
विद्या राई

काठमाडौँ — ललितपुर, भैंसेपाटीको अनाथ बालबाटिका संघमा २५ अनाथ बालबालिका छन् । लकडाउनले गर्दा खाद्यान्न अभाव हुन थालेको छ । 

सञ्चालक रीता राईका अनुसार यहाँ दिनहुँ चामल ६ किलो, दाल डेढ किलो, चिउरा तीन किलो, चिनी ३ पाउ, दूध १० लिटर र तरकारी ५ किलोलगायत सामान चाहिन्छ । लकडाउनले गर्दा धेरैजसो पसल बन्द छन् ।


‘खाजाका लागि बिस्कुट र चिउरा अभाव भइसकेको छ, मकैको सातु बनाएर नानीहरूलाई खुवाइरहेका छौं,’ उनले फोन सम्पर्कमा भनिन्, ‘बजार खुलेको छैन, नानीहरुलाई केही होला भनेर बाहिर निस्केन सकेका छैनौं ।’

कोरोना भाइरस संक्रमणबाट जोगिन आवश्यक पर्ने मास्क, सेनिटाइजर, साबुन तथा सरसफाईका सामग्री नरहेको उनले बताइन् । बालबाटिकामा तीन दिनेदेखि १६ वर्ष उमेरका १३ बालक र १२ बालिका छन् ।


राष्ट्रिय बालअधिकार परिषद्ले उपत्यकाका ३३६ बालगृहमा फोन सम्पर्क गरेर बास्तविकता बुझ्ने प्रयास गरेको थियो । जसमध्ये सम्पर्कमा आएका २३३ बालगृहमा खानेपानी, खाद्यान्न, मास्क, सेनिटाइजरलगायतको अवस्थाबारे परिषदले चासो राखेको थियो । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार सबैजसोले खानेपानी उपलब्ध रहेको बताएका छन् । बालबाटिका संघ र संयुक्त अपांग एकता आवाज केन्द्रमा खाद्यान्नको तत्काल अभाव छ । काठमाडौंको लोटस बालगृहमा १० दिन र हीर्षकमा १५ दिन पुग्ने खाद्यान्न छ । हीर्षक, हेप्पी चिल्ड्रेन ट्रस्ट, हाम्रो अनाथ बालगृह, हिमाली बालसेवा संस्था, हिमाली बालक समन्वय, सम्बन्ध नेपाल, शारदा बाल, सहारा बालगृह र बालसुधार गृहमा मास्क र सेनिटाइजर भएकाले सहयोगको अपेक्षा राखेका छन् । बन्दी सहायता नेपालले तरकारीको समस्या भएर बालबालिकालाई गेडागुडी उमारेर खुवाउँदै आएका छन् ।


अनन्त सेवा नेपाल, अनुग्रह मिसन नेपाल, अपाङ सेवा संघ, असहाय तथा अनाथ बालबालिका, आइरिस, आमा घर, आशीष बालकल्याण गृह, आशा गृहलगायतले भने कम्तीमा एक महिना पुग्ने खाद्यान्न रहेको बताएको चन्दले जानकारी दिए ।


उनका अनुसार सोवरलगायत ८/१० बालगृहमा ग्यास अभाव छ । ‘अहिलेको संकटविरुद्ध लड्न बालगृहहरुलाई के–कस्ता आवश्यकता छन् भनेर फोनसम्पर्क गरेर तथ्यांक लिएका हौं, कतिपय बालगृहको व्यवस्थापन कमजोर भएर अभाव भएको देखियो,’ परिषद्का सूचना अधिकारी चन्दले भने, ‘लिएको विवरणको आधारमा राहत पठाउन सरकारलाई आग्रह गर्नेछौं ।’


परिषद्ले लकडाउन सुरु भएदेखि तथ्यांक लिन थालेको थियो । उपत्यकाबाहिर परिषद्का अनुसार ४६ जिल्लामा सञ्चालित ५३३ बालगृहमा १५ हजार ५ सय ६५ बालबालिका आश्रित छन् ।

प्रकाशित : चैत्र १७, २०७६ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?