वृद्धाश्रममा तरकारी, सरसफाइ र औषधिको समस्या

विद्या राई

काठमाडौँ — लकडाउनले गर्दा आश्रित ज्येष्ठ नागरिकहरूको व्यवस्थापनमा समस्या थपिएको वृद्धाश्रम सञ्चालकहरूले बताएका छन् । उनीहरूलाई तत्कालका लागि तरकारी, सरसफाई र औषधिको समस्या छ ।

तीनकुनेस्थित नि:सहाय सेवा सदनका सहायक प्रशासन अधिकृत योगेश अधिकारी भन्छन्, ‘हाम्रो सेवा सदन दाताहरूका भरमा चल्दै आएको हो । हामीसँग ३८ जना बुवाआमा हुनुहुन्छ । एक साताअघि समाज कल्याण परिषद्ले दुई सय थान मास्क, पाँच लिटर सेनिटाइजर र पाँच लिटर साबुन ल्याइदिएको थियो । हामी ११ कर्मचारीमध्ये ७ जना यहीं बसेका छौं । बुवाआमाको हेरचाहलाई ध्यान दिएकै छौं तर कोरोना भाइरस संक्रमणको त्रासले गर्दा दाताहरूको सहयोग लिन डराउनुपर्ने अवस्था छ । उहाँहरुलाई हामीले नै रोकेका छौं ।’


दुई दिनअघि एक जना दाताले पठाइदिएको तरकारी पनि धेरैबेर पानीमा धोइपखाली गरेर मात्रै भित्र लगेको उनले बताए । उनका अनुसार सेवा सदनमा दैनिक चालम ७ किलो, दाल २ किलो, पिठो २ किलो, चिनी २ किलो, तेल २ लिटर, दूध ४८ प्याकेट, बिस्कुट ५२ वटा, चिउरा अढाई किलो, तरकारी करिब ६ किलो चाहिन्छ । ‘अहिले चामल करिब अढाइ सय किलो र दाल ४९ किलो छ, तरकारीचाहिँ ‘स्टक’ छैन,’ उनले भने, ‘दाल, चामल एक महिना जतिलाई पुग्ला तर लकडाउन बढ्यो भने संकटमा पर्छौं ।’ सरकारले बनाएको क्वारेन्टाइनको मापदण्डमा न्यूनतम ३.५ फिटको ‘डिस्ट्यान्स’ हुनुपर्ने उल्लेख भए पनि ठाउँ अभावले गर्दा आमाबुवालाई १६ वटा कोठामा अटाउनुपरेको उनले बताए । ‘हामीसँग एउटै मात्र भान्साकोठा छ । सबै आमाबुवालाई एकैचोटी खाना खुवाउँछौं,’ उनले भने ।


धुम्बाराहीस्थित धुम्बाराही लाइन वृद्धाश्रममा पनि पर्याप्त खाद्यान्न छैन । वृद्धाश्रम अध्यक्ष धनराज भडेल भन्छन्, ‘पसलहरू खुलेका छैनन्, दाताहरुबाट पनि लिएका छैनौं, भाइरस सर्छ भनेर ल्याउन पनि चाहेका छैनौं । स्टकमा भएको खाद्यान्नले एक महिनासम्म जसोतसो पुग्छ, त्यसपछि भगवान भरोसा ।’ गेडागुडीलाई नै तरकारीको रुपमा प्रयोग गर्दै आएको उनले सुनाए । ‘यहाँ ९ जना आमा छन्, वृद्धवृद्धालाई भाइरस संक्रमणको जोखिम बढी हुने कुराले उहाँहरू आत्तिनुभएको छ,’ उनले भने ।


गोंगबु नयाँपार्कस्थित हिमालय वृद्धाश्रममा तरकारी, सेनिटाइजर र सरसफाइका सामग्री तथा औषधिको समस्या छ । यहाँ ३५ आमाबुवा छन् । वृद्धाश्रमकी प्रमुख शोभा सापकोटाले भनिन्, ‘दालचामल दुई महिना पुग्नेछ, सरसफाईका सामान र औषधि ल्याउन पाइएको छैन, सेनिटाइजर पाइएको छैन ।’ मास्क भने वडा कार्यालयले शनिबार प्रत्येकलाई एक थानका दरले वितरण गरेको थियो ।


चितवनको देवघाट समाजकल्याण केन्द्र वृद्धाश्रममा पनि दैनिक उपभोग्य सामग्री चामलबाहेकका दाल, तरकारी, तेल, घिउ पर्याप्त छैन । वृद्धाश्रमका अध्यक्षले भने, ‘चामल हामीसँग दुई महिना पुग्नेछ, अन्य खाद्यान्न जेनतेन प्रबन्ध गरेका छौं ।’ सेनिटाइजर किन्न नपाएको र स्थानीय युवाको सहयोगमा कपडाको मास्क प्रत्येकलाई दुई थानका दरले पालैपालो प्रयोग गर्न दिइएको उनले बताए । नेपाल सरकारको अनुदानबाट सञ्चालनमा रहेको वृद्धाश्रममा ३७ आमाबुवा आश्रित छन् । आश्रमले दुई वर्षदेखि सरकारको अनुदान पाएको छैन ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार देशभर सय हाराहारीमा वृद्धाश्रम छन् । जसमध्ये पशुपति वृद्धाश्रम, चितवनको देवघाट र धनकुटाको विश्रान्तीस्थित वृद्धाश्रम सरकारको अनुदानबाट सञ्चालित छन् । यीबाहेकका वृद्धाश्रमहरू सामाजिक संघसंस्था र नियमित दाताहरूको सहयोगमा चल्दै आएका छन् । देशभरका ८८ दिवासेवा केन्द्र भने राष्ट्रिय ज्येष्ठ नागरिक महासंघमार्फत् तत्कालका लागि बन्द गराइएको उनले बताए ।


प्रकाशित : चैत्र १६, २०७६ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?