२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

तरकारी बजार क्षेत्रमा एक मिटरको दूरी कायम

लीला श्रेष्ठ

(भक्तपुर) — भक्तपुर नगरपालिकाले शुक्रबार साँझबाट नगरका विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गर्न दूरी कायम गरेको छ । तरकारी र अन्य दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताले आपसमा निश्चित दूरी कायम नगरी किनमेल गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सर्ने सम्भावनालाई ध्यानमा राखी प्रहरीको समन्वयमा नगरपालिकाले बजारमा एक मिटरको दूरीमा बक्स कोरेको हो ।

तरकारी बजार क्षेत्रमा एक मिटरको दूरी कायम

तरकारी किन्न आउने उपभोक्ताले बक्सभित्र उभिएर लामबद्ध भई सामान खरिद गर्नु पर्ने नगरपालिकाले जनाएको छ । नगरको टौमढी, ग:हिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलविनायकमा दूरी कायम गरिएको छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिका–२ बालकोट चोकका किराना पसल व्यवसायीहरुले दैनिक उपभोग्य सामग्री खरिदका लागि आउनेहरुको सुरक्षाको लागि दूरी कायम गरेका वडासदस्य सुवास कार्कीले बताए । उनका अनुसार किराना पसल, वडा कार्यालयलगायत क्षेत्रमा उपभोक्ताले सामाजिक दूरी कायम गरेपछि मात्र सामान खरिद गर्न सकिने छ ।


महानगरीय प्रहरी वृत्त जगातीले सूर्यविनायक–६ सूर्यविनायकस्थित विभिन्न खाद्यान्न, तरकारी तथा फलफूल पसल सञ्चालक, सेवाग्राहीलाई १ मिटर दूरी कायम गर्न अनुरोध गरेको छ । प्रहरी निरीक्षक राजकुमार थापा नेतृत्वको अनुगमन टोलीले कोभिड–१९ बाट बच्न पसलमा आउने उपभोक्तालाई १ मिटरको दूरी कायम गर्न, हात धुने र स्यानीटाइजरको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।


‘डीस–इन्फेक्टेन्ट’छर्कियो

मध्यपुर थिमि नगरपालिकाले ‘डीस–इन्फेक्टेन्ट’ छर्कन सुरु गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार नगरको ४, ५ र ६ वडामा शुक्रबार डीस–इन्फेक्टेन्ट छर्किएका छन् । शुक्रबार बहाखाबजारबाट सुरु गरेर शंखधर चोकसम्म डीस–इन्फेक्टेन्ट छर्किएको उनले बताए । नगरपालिकाले ट्र्याक्टरमार्फत स्प्रे गरेको छ ।


त्यसैगरी, भक्तपुर नगरपालिकाले कोभिड–१९ संक्रमणबाट सर्वसाधारणलाई सुरक्षित गर्न विभिन्न स्थानमा कीटनाशक झोल स्प्रे ‘डीस–इन्फेक्टेट’ गरेको छ । नगरको च्याम्हासिंह, बाराहीस्थान, ग:पली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलविनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, ब्यासीदेखि कमल विनायकसम्मको मूलसडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकमा कीटनाशक झोल स्प्रे गरेको नगरपालिका स्यानिटेसन शाखा प्रमुख दिलीप सुवालले बताए । कीटनाशक झोल स्प्रेको कामलाई निरन्तरता दिइने उनले बताए ।

नगरपालिकाले शुक्रबार एक वक्तव्य जारी गर्दै अत्यावश्यक सामान खरिदको लागि बाहिर निस्कँदा तोकिएको स्थानमा अर्को व्यक्तिसँग एक मिटरको दूरी कायम गरी लामबद्ध भई सामान खरिद गर्न आह्वान गरेको छ । नगरपालिकाले हरेक दिनको बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म सामान खरिदको समय निर्धारण गरेको छ । सामान खरिदको लागि तोकिएको समयमा अत्यावश्यक परेको अवस्थामा मात्र घर बाहिर निस्कन अनुरोध गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७६ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?