विपन्नलाई काठमाडौं महानगरले राहत दिने

ज्यालादारी मजदुरको विवरण संकलन सुरु 
मकर श्रेष्ठ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा दैनिक ज्यालादारी, मजदुरी गर्ने र सडकमा बस्ने घर परिवारबिहीनलाई लक्षित गरेर राहत कार्यक्रम ल्याउने भएको छ ।

विपन्नलाई काठमाडौं महानगरले राहत दिने

राहत आवश्यक पर्ने परिवारको तथ्याङ्क संकलन सुरु भएको काठमाडौं महानगरका प्रशासन प्रमुख नमराज ढकालले बताए ।


लकडाउनले कमाई नभएपछि खानाको समस्या भएको हुनसक्ने भएकोले तथ्याङ्क संकलन सुरु गरेको उनले बताए ।


‘अति विपन्न र ६ महिनादेखि वडा क्षेत्रमा बसोबास गर्दै आएका श्रमिक कामदारको विवरण संकलन गरी प्रशासन विभागमा पठाउन सबै वडालाई परिपत्र गरेका छौं,’ उनले भने, ‘आफ्नो वडाअन्तर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरवारबिहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम नियन्त्रणमा वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत र सहयोग उपलब्ध गराउन लागिएको हो ।’


दैनिक ज्यालादारी गरेर हातमुख जोड्ने वर्गले खानै नपाएको गुनासो आएपछि यस्तो निर्णय गरेको उपमेयर हरिप्रभा खड्गीले बताइन् । अभिलेख तयार भएलगत्तै समस्यामा परेका परिवारलाई खानाको जोहो महानगरले गर्ने उनले बताइन् ।


‘घर भएकालाई समस्या भएन । आज कमायो आजै खाने समूहमा समस्या भएको गुनासो आयो । उनीहरुको पहिचान गरेर भोकै नपरुन् भनेर केही मात्रामा चामल, दाल, तरकारी दिने भनेर कुरा भएको हो,’ खड्गीले भनिन् ।


उनका अनुसार महानगरपालिकाले कोभिड १९ रोकथाम र नियन्त्रणका काममा तत्काल खर्च गर्न सानो वडालाई दुई लाख, मझौलालाई तीन लाख र ठूलो वडालाई चार लाख रुपैयाँ निकासा गरिसकेको छ । ‘यही रकमबाट भए पनि विपन्नलाई खानाको जोहो गर्न लागेका हौ,’ उनले भनिन् ।


महानगरले फागुन १८ यता विदेश भ्रमण गरी महानगरमा बसोबास गर्नेको पनि अभिलख तयार गर्न वडा कार्यालयलाई निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ, ‘विदेश भ्रमण गरी मार्च १ देखि हालसम्म वडामा बसोबास गर्दै आएका नागरिकको अभिलेख तयार गर्न र उनीहरुको के कस्तो अवस्थामा बसेका छन् ? सोको विवरणसहित लगत तयार गरी प्रशासन विभागमा पठाउने ?’

प्रकाशित : चैत्र १४, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?