उपत्यकाबाट तीन सय बढी सवारी साधन नियन्त्रणमा
काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
अटेर गरी लकडाउन उल्लंघन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए।साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाइ-बुझाइ गरी घरतर्फ नै फर्काईएको श्रेष्ठले बताए ।
अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।मंगलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो ।
सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।
प्रकाशित : चैत्र १२, २०७६ ११:४०