कोरोना त्रास : सेनाद्वारा घोडेजात्रा स्थगित- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना त्रास : सेनाद्वारा घोडेजात्रा स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले यस वर्षको घोडेजात्रा कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण विश्वभर फैलिइरहेको र नेपालमा पनि प्रभाव देखिन लागेको भन्दै घोडेजात्रा समारोह स्थगित गरिएको सेनाले जनाएको छ । 

'नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरू सहित मनाउने गरिएको राष्ट्रिय पर्व 'घोडेजात्रा समारोह' हाल विश्वमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यस वर्षको सो समारोह स्थगित गरिएको छ,' सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।


सेनाले यसअघि नै ठूलो भेला नगर्न आन्तरिक सर्कुलर जारी गरिसकेको छ । सरकारले पनि २५ जनाभन्दा बढी भेला नहुन सार्वजनिक आह्वान गरेको छ । सरकारले कोरोना रोकथाम र निर्मूल गर्न लिएका निर्देशन बमोजिम उक्त समारोह स्थगित गरिएको सेनाले जनाएको छ ।


सेनाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका हरेक निर्देशन पालना गर्न तयार रहेको जनाएको छ । कोरोनाले निम्त्याउने परिस्थितिसँग सामना गर्न सेना तयार रहेका र संक्रमण नियन्त्रण तथा बिरामीको उपचारका लागि तयारी थालिएको पनि सेनाले जनाएको छ ।


प्रकाशित : चैत्र ११, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

बेलायत तीन साताका लागि ‘लकडाउन’ 

नवीन पोखरेल

लन्डन — बेलायत सोमबार मध्यरातदेखि तीन साताका लागि ‘लकडाउन’ भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न बेलायत सरकारले थप कडा नियम घोषणा गरेको हो ।

सोमबार बेलुका टेलिभिजनबाट प्रसारित प्रत्यक्ष सम्बोधनमा प्रधानमन्त्री बोरिस जोनसनले बेलायती जनतालाई अत्यावश्यक खाद्यान्न किनमेल, दैनिक व्यायाम, औषधि उपचार र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीबाहेक अरुलाई घरैमा बस्न निर्देशन दिएका छन् । ‘यी नियम पालना नगर्ने मानिसहरुलाई दण्ड जरिवाना गर्न र भीडभाड हटाउन प्रहरीलाई अधिकार दिइएको छ’, उनले भने ।

त्यसैगरी सबै पुस्तकालय, जिम, खेल मैदान, चर्च तथा धार्मिक भेला, विवाह समारोहहरुमा पनि रोक लगाइएको छ । यद्यपि अन्त्येष्टि समारोह भने आयोजना गर्न पाइनेछ । दुई जनाभन्दा बढी भेला हुन नपाइने प्रधानमन्त्रीको सम्बोधनमा छ । पार्कमा अभ्यासका लागि एक जनामात्र वा परिवारका साथ जान सकिन्छ ।

बैंक, फार्मेसी, पेट्रोल, खाना, पत्रिका, हार्डवेयर, लन्ड्रीजस्ता पसलबाहेक बन्द हुनेछन् । सडक र रेल नेटवर्क खुल्ला रहनेछन् तर अत्यावश्यक सेवाका कामदारले मात्र प्रयोग गर्न पाउने बताइएको छ ।

प्रधानमन्त्री जोन्सनले बेलायतको स्वास्थ्य
सेवा (एनएचएस) कोभिड १९ बिरामीको चापका कारण तहसनहस हुन नदिन यो कदम चाल्नु परेको पनि बताएका छन् । यसअघि सरकारले जमघट, अनावश्यक यात्रा नगर्न र सकभर घरैबाट काम गर्न गरेको अनुरोध अवज्ञा भएपछि सरकार थप कठोर बनेको हो । फ्रान्स, इटाली र स्पेनले पनि कोभिड १९ फैलन नदिन लकडाउन गरेका छन् ।

बेलायतमा कोभिड १९ का कारण सोमबारसम्म ३ सय ३५ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ६ सय ५० जनामा संक्रमण भएको छ । नेशनल हेल्थ सर्भिस (एनएचएस) ले अहिले जोखिममा रहेका समूहलाई टेक्स्टमार्फत १२ सातासम्म घरैमा बस्न अपिल सुरु गरेको छ ।

प्रकाशित : चैत्र ११, २०७६ १२:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×