कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चोक चोकमा साबुनपानी

टोलटोलमा चन्दा उठाएर हात धुने पानी र साबुनको व्यवस्था गरिएको छ । विभिन्न कार्यालयमा हात धोएर मात्रै प्रवेश दिइएको छ । केही स्थानमा सम्भावित संक्रमणबाट बच्नका लागि स्यानिटाइजरको प्रयोगसमेत गरिएको छ । साबुनपानीले पटक–पटक हात धुादा कोरोना भाइरस फैलिने जोखिम कम हुने चिकित्सकहरूले जनाएका छन् ।

काठमाडौँ — पाको न्युरोडमा पुग्नुभयो भने त्यहाँ तरल साबुनको बट्टा र स्ट्यान्डसहितको १२ वटा पानी भरिएको टुटी जडित हरियो ड्रम देख्नु हुनेछ । यो प्रायः भीडभाड हुने त्यस क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणलाई हात धुन राखिएको हो । यसमा हात धोएबापत् कुनै शुल्क लाग्दैन ।

चोक चोकमा साबुनपानी

त्यस क्षेत्रका मोबाइल व्यवसायीले मिलेर कोभिड–१९ को संक्रमणबाट बचाउन निःशुल्क हात धुने व्यवस्था मिलाएका हुन् । ‘रोग लागेपछि उपचार खोज्नुभन्दा लाग्न नदिने उपाय अपनाउनु ठीक ठानेर यसो गरेका हौं,’ न्युरोडका विवेक शर्माले भने । न्युरोडमा जस्तै सुन्धारा, रत्नपार्क, जमल, घण्टाघरमा राख्ने योजना रहेको उनले बताए ।


ड्रम २ सय २५ लिटर पानी राखिएको छ । १२ वटा ड्रममा ३ हजार ६० लिटर पानी जम्मा गर्ने जिम्मेवारी श्रीराज महर्जन र महेन्द्र शाहीले लिएका छन् । पानी भर्न दुई जना कामदार राखेको महर्जनले बताए । ‘दैनिक ५ हजार लिटर पानीले यस क्षेत्रमा आउने सर्वसाधारणलाई हात धुन पुग्छ,’ उनले भने, ‘साबुन दिनको ३ वटा भए पुग्छ ।’


चोकचोकमा हात धुने व्यवस्था गरेकाले सबैलाई सचेत गराएको कीर्तिपुरका सुजित आर्चायले बताए । कामाडौंको भोटेबहाल भने लायन्स क्लब अफ काठमाडौं सर्मपनले ३ सय लिटरको पानी ट्यांकी राखेर हात धुने व्यवस्था मिलाएको छ । ट्यांकीमा पानी भर्ने र साबुन राख्ने जिम्मेवारी त्यहाँका बालकृष्ण अग्रवालले लिएका छन् । क्लबका सचिव अग्रवालले बबरमहल, वसन्तपुर र मैतीदेवीमा पनि राख्ने योजनामा रहेको बताए ।


कुपण्डोलमा भने नाइटिङ्गेल स्कुलले निःशुल्क हात धुने व्यवस्था मिलाएको छ । स्कुलले कोरोना भाइरसबाट बच्ने र बचाउने उपाय, भाइरसका मुख्य लक्षणबारे लेखिएको जनचेतनामूलक सन्देश पनि राखिएको छ । ललितपुर महानगरपालिका–१६ वडाले भने धपगाल बजारमा राख्ने योजना बनाएको जनाएको छ ।


काठमाडौंस्थित मैतीदेवीमा पनि युनाइटेड क्लबले हात धुने व्यवस्था मिलाएको छ । १० हजारको लगानीमा पैदलयात्रुका लागि सबैले हात धुने व्यवस्था गरेको क्लबका अध्यक्ष राम शाहीले बताए । वरिपरि कोरोनासम्बन्धी जनचेतनामूलक फ्लेक्स बोर्ड टाँसेर साबुनपानीले हात धुने व्यवस्था मिलाइएको छ । ‘कुनै वस्तु छुनेबित्तिकै हात धुनुपर्छ,’ उनले भने, ‘कोरोनाको त्रासले भयभीत बनेको बेलामा पैदलयात्रु तथा सबैले हात धोऊन् भनेर व्यवस्था मिलाए हौं ।’ टोलटोलमा रहेका सबै क्लब तथा समितिले हात धने ठाउँको व्यवस्था गर्न पछि पर्न नहुने उनले बताए ।


त्यस्तै, काठमाडौं महानगरपालिकाको १५ नम्बर वडा कार्यालयले पनि स्वयम्भूस्थित भगवान्पाउ चोकमा हेल्थ डेस्कसहित हात धुने व्यवस्था गरेको छ । डेस्कमा हात धुने व्यवस्थासहित स्यानिटाइजर पनि राखिएको वडाध्यक्ष ईश्वरमान डंगोलले बताए । वडाका भीडभाड हुने सबै ठाउँमा यस्तो व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले रत्नपार्क हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई लक्षित गरेर हात धुने पानी र डिटोल राखेको छ ।


कार्यालय प्रवेश गर्ने प्रहरी र सर्वसाधारणले पनि हात धोएर मात्रै जाने गरेका छन् । कार्यालयबाट घर जाँदा पनि हात धुने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि मुख्य प्रवेशद्वारमा साबुनपानीले हात धुने व्यवस्था गरेको छ । महाशाखाले हात धोई ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरेको प्रवक्ता एसी जीवनकुमार श्रेष्ठले बताए ।




‘ट्राफिक महाशाखाको मूलगेट अगाडि बाल्टिनमा पानी र साबुन राखिदिएका छौं,’ उनले भने, ‘ज्वरो नापेर र हात धोएर मात्र भित्र जानुहोला भन्ने सूचनासमेत मूलगेट अगाडि राखेका छौं ।’ कार्यालयमा प्रवेश गर्ने प्रहरी कर्मचारी, सेवाग्राही आगन्तुकले साबुनपानीले हात धोएरमा मात्र भित्र जान पाइने छ । महाशाखाका मातहतका सबै ट्राफिक कार्यालयमा पनि साबुनपानीले हात धुने व्यवस्था मिलाउन निर्देशन गरिसकेको महाशाखाले जनाएको छ ।


हात धोएर कार्यालय प्रवेश


स्पिकरमा कोरोना भाइरसबारे सचेतनाका आवाज गुन्जिएको छ । पैदलयात्रु, सवारीसाधन चालकलाई कोभिड–१९ बारे पर्चा वितरण गर्ने कार्य पनि उत्तिकै छ । सरकारी तथा गैरसरकारी कार्यालयले कार्यालय प्रवेश गर्नुअघि हात धुने व्यवस्थाको थालनी गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई हात धुने व्यवस्था गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सविन प्रधानले बताए ।


‘नागरिक सहजकर्ताले हात धोएर मात्र कार्यालय प्रवेश गर्न सेवाग्राहीलाई सुझाव दिन्छन्,’ उनले भने, ‘कर्मचारी तथा सेवाग्राहीलाई हात धुन प्रवेशद्वारमै साबुनपानीको सुविधा छ ।’ जिल्ला प्रशासन कार्यालय भक्तपुरले मातहतका सरकारी कार्यालयमा हात हुने व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ । सबै सरकारी कार्यालयले कोभिड–१९ बारे सचेतना अपनाउँदै स्यानिटाइजरको प्रयोग गर्ने र हात धुने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । ‘जिल्ला प्रशासन प्रवेश गर्नुअघि हात धोएर व्यवस्था मिलाएका छौं,’ उनले भनिन् ।


हात धुन सिकाउँदै स्काउटर


काठमाडौं – नेपाल स्काउटले काठमाडौं उपत्यकाका मुख्य चहलपहल हुने कम्तीमा ५० स्थानमा स्यानिटाइजर केन्द्र स्थापना गरेको छ । नेपाल स्काउटले कोरोनाको रोकथाम गर्न जनचेतनामा आफ्ना रोभर र रेञ्जर सदस्य परिचालन गरेर चोकचोकमा स्यानिटाइजरको प्रयोग र हात धुने तरिका सिकाइरहेका छन् । त्यस्तै रोग लाग्न नदिन अपनाउनुपर्ने विधिको पर्चा बाँड्ने गरेका छन् । स्काउटले काठमाडौं उपत्यकाका सर्वसाधारणको चहलपहल हुने सामाखुसी, जावलाखेल बसपार्क, चाबहिल, असन लगायत ५० स्थानमा स्यानिटाइजरसहित हात धुने ठाउँको व्यवस्था गरेको हो । एउटा स्टेसनमा ३ देखि ५ जनाको प्रशिक्षित स्वयंसेवक टोली खटिएका छन् ।


कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग र सुरक्षाका अरू उपायबारे सिकाउन आफ्ना स्वयंसेवक परिचालन गरिसकेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले बताए ।

प्रकाशित : चैत्र ८, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?