सावधानी अपनाउँदैनन् चालक

सीमा तामाङ

काठमाडौँ — लगनखेलदेखि रत्नपार्क जाने माइक्रोबसका चालकले मास्कबिनै गाडी चलाइरहेका थिए । सहचालकले पनि मास्क नलगाई यात्रुको अगाडि पुगेर भाडा उठाइरहेका थिए । यात्रुले भने केहीले सर्जिकल, धेरैजसोले कपडाको मास्क लगाएका थिए । मास्क नहुने महिलाले भने सलले मुख छोपेका थिए ।

सावधानी अपनाउँदैनन् चालक

केही पुरुष यात्रुले भने रुमाल बाँधेर यात्रा गरिरहेका थिए । मास्कबिनै यात्रा गर्ने यात्रु पनि उत्तिकै थिए । मास्क लगाउने यात्रुले नलगाउनेलाई एकहोरो हेरिरन्थे । उपत्यकामा चल्ने सवारीसाधनमा चढ्ने यात्रुको संख्यामा समेत कमी आइरहेको यातायात व्यवसायीहरू बताउँछन् । उपत्यकाबाहिर जाने सवारीमा भने यात्रुको चाप बढेको छ ।


काठमाडौं–बाह्रबिसे/त्रिपुरासुन्दरी चल्ने बसमा बिहीबार सिटभन्दा बढी यात्रु चढेर गाउँ फर्किरहेका थिए । दसैंतिहारमा मात्र भीड हुने बसले चाडपर्व नहुँदा पनि सिटभन्दा बढी यात्रु लिएर गएको हो । ती बसका कर्मचारी पनि मास्कबिना थिए भने यात्रुको स्यानिटाइजरको व्यवस्था पनि थिएन । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिए पनि यातायात क्षेत्रमा कार्यरत चालक/सहचालकले हालसम्म कुनै पनि सावधानी अपनाएका छैनन् ।


कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न तथा नगराउन यातायात व्यवसायीलाई आग्रह गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार सिटभन्दा यात्रु चढाउन नदिन निर्णय गरेको छ । ‘सिट खाली नभएको बसमा चढनुस्,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘यातायात व्यवसायीले पनि यात्रुको सुविधाका लागि स्यानिटाइजरको व्यवस्था गर्नुपर्छ ।’ यात्रु चढाउन रुटमा लैजानुअघि संक्रमणमुक्त बनाउने व्यवस्था गर्न पनि विभागले आग्रह गरेको छ ।


विभाग र प्रहरीले यसको अनुगमन गर्न छुट्टै समितिसमेत बनाउने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले थोरै यात्रु बोकेर हिँड्न तयार रहे पनि गाडीको तेल खर्च र चालक/सहचालकको स्वास्थ्य सुरक्षामा सरकारले ध्यान दिनुपर्ने माग गरे । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तादेखि बिमाको व्यवस्था छ,’ उनले भने, ‘तर, यातायात क्षेत्रका लागि भने निर्देशन र निर्णय मात्र गरिएको छ ।’

यातायातलाई संवेदनशील क्षेत्र घोषणा गरे पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको उनले दाबी गरे । ‘चालक/सहचालक दैनिक सयौं यात्रुसँग घुलमिल हुनुपर्छ,’ उनले भने, ‘उनीहरूले आफैं मास्क किनेर लाउन बाध्य छन् ।’


सरकारले यात्रुवाहक सार्वजनिक यातायातका सवारीधनीले सवारीसाधन चलाउनुअघि सवारीसाधनलाई डिसइन्फेक्सन स्प्रे गर्न निर्देशन दिएको छ । तर, डिसइन्फेक्सन गर्न सहजै सामान नपाउने उनले सुनाए । ‘मास्क, थर्मल गन, सेनिटाइजर, स्प्रे सबै किन्न तयार छौं,’ उनले भने, ‘त्यो पनि तोकिएको सरकारी मूल्यमा सहजै पाउनुपर्छ ।’ त्रासका कारण लामो र मध्यम दूरीमा यात्रुको संख्या बढेको उनले बताए । उपत्यकाभित्र भने अरू बेला गुड्नेको तुलनामा आधा मात्रै सार्वजनिक यातायात गुड्ने गरेको उनले बताए ।


सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सबै कम्पनीलाई सवारीसाधन सरसफाइ गर्न, मास्क लगाएरमा चलाउन निर्देशन दिइसकेको बताए । ‘सार्वजनिक सवारीसाधन भएपछि यात्रुलाई पनि सुरक्षित साथ गन्तव्यमा पुर्‍याउनुपर्छ,’ उनले भने, ‘सम्बन्धित निकायले चालक/सहचालककै सुरक्षाका लागि केही नगरेपछि यात्रुलाई कसरी सुरक्षित यात्रा गराउने ?’ जनचेतना फैलाउनका लागि पर्चा, पम्पलेट बाँडे पनि यात्रुलाई सुरक्षित यात्रा दिन नसकेको उनले बताए ।


‘सम्बन्धित निकायले चालक/सहचालकको सुरक्षाको जिम्मा लिनुपर्छ,’ उनले , ‘उनीहरूले जस्तोसुकै अवस्थामा पनि सवारीसाधन चलाइरहेका हुन्छन् ।’ टिकट काट्ने ठाउँ धेरै भीडभाड हुने भएकाले त्यसलाई ई–टिकटमा परिवर्तन हुनुपर्ने उनले सुनाए । त्यस्तै, सरकारले किस्तामा लिएका सवारीसाधनको ३ देखि ६ महिनासम्मको ब्याज तथा किस्ता मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्ने उनले माग गरे ।


नेपाल यातायात स्वतन्त्र संगठनका अध्यक्ष नवराज घिमिरेका अनुसार ग्रामीण क्षेत्रबाट आउने सवारीसाधनमा केही चाप देखिए पनि उपत्यकामा सञ्चालन हुने सवारीसाधनमा यात्रुको संख्या न्यून रहेको बताए । त्यस्तै सुरक्षाका लागि अब बसपार्कहरूमा पानी ट्यांकी राखेर सफा गरिने उनले सुनाए । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले बसका चालक/सहचालकहरूलाई मास्क र रुघाखोकी, ज्वरो आउने तथा खोकी लाग्ने यात्रुलाई छुट्टै ठाउँको व्यवस्था तथा नजिकैको स्वास्थ्य चौकीमा सामान्य परीक्षण गराई आवजावत गराइरहेको बताए ।


फागुन १५ गतेदेखि निरन्तर घट्दै गएको यात्रुको संख्यामा बिहीबार अचाक्ली बढेको उनले सुनाए । पहिले दैनिक माइक्रोबस, मिनीबस, रात्रिबस, एसी/डिलक्स गरी दुई सयभन्दा बढी सवारीसाधन चलिरहेको अवस्थामा अहिले ७० वटा मात्र चलिरहेको उनले बताए । यात्रुको संख्या घटेका कारण आइतबारदेखि सवारीको संख्या घटाउने तयारी भइरहेको उनले सुनाए । ‘बिरामी र चिकित्सक पछि संक्रमण फैलाउने अर्को आधार हो, सार्वजनिक बस,’ उनले भने, ‘दैनिक विभिन्न यात्रुसँग हिँड्नुपर्ने भएकाले सवारीसाधनले पनि संक्रमण फैलाउने छ ।’


राजधानीकै बसपार्कमा छैन हेल्थ डेस्क


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार सरुवा रोगहरूको संक्रमण फैलन नदिन यातायात ट्रान्जिट र बसपार्क, नाकाहरूमा स्वास्थ्य परीक्षणमा कडाइ गर्नुपर्छ । तर, राजधानीकै बसपार्कहरूमा हालसम्म पनि हेल्थ डेस्क राखिएको छैन । महासचिव सिटौलाका अनुसार उपत्यकाका सबै बसपार्कहरूमा हेल्थ डेस्क राख्न एक साता अघिदेखि नै आग्रह गरेको थियो । तर हालसम्म त्यसको व्यवस्था हुन सकेको छैन ।

आफ्‍नै प्रयास


काठमाडौं चक्रपथमा सञ्चालन भएका सुन्दर यातायात र साझा यातायातले पनि यस्तो सेवा सुरु गरिसकेको छ । सुन्दरले यात्रुको तापक्रम परीक्षण गर्ने र ग्यारेजबाट सवारीसाधन निस्कनुअगावै डिसइन्फेक्सन गर्ने गरेको जनाएको छ भने साझाले पनि सबै सवारीसाधनलाई डिसइन्फेक्नस गरेर मात्र यात्रु चढाउन सुरु गरेको छ । यातायात व्यवस्था विभागले महानिर्देशक गोगनबहादुर हमालले एक महिनाका लागि रुट परमिट खुला गर्ने जनाएका छन् । यात्रुको भीडभाडलाई मध्यनजर गर्दै रुट परमिट खुला गरेको उनले बताए । त्यस्तै यातायात कार्यालयमा लाइसेन्स नवीकरण हुने तर नयाँ र क्याटेगोरी थप गर्न नपाउने उनले बताए ।

प्रकाशित : चैत्र ८, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?