१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा शुक्रबारदेखि स्थगित गरेको छ । सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन गरेको आग्रहलाई मध्यनजर राखेर पशुपति क्षेत्रमा विशेष सर्तकता अपनाउन विशेष पूजा रोकेको कोषका संस्कृति महाशाखा प्रमुख प्रेमहरि ढुंगानाले जनाए ।

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

नियमित पूजा भने यथावत् रहेको उनले बताए । विशेष पूजामा भीड बढ्ने भएकाले बन्द गरिएको ढुंगानाले बताए ।

‘एक जनाको विशेष पूजा गर्न कम्तीमा चार जना आउँछन्,’ ढुंगानाले भने, ‘५ जना मात्र पूजा गर्न आए भने पनि कम्तीमा ५० जना हुन्छन् । त्यही भएर विशेष पूजा स्थगित गरेका हौं ।’ सरकारले सांस्कृतिक, सामाजिकलगायत सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी उपस्थ्ति हुन रोक लगाउने निर्णय गरेको छ । पशुपतिमा नेपाली भक्तजन घट्दै गए पनि भारतीय भने बढ्दै गएको थिए । कोषका अनुसार दिनमै ३ हजारसम्म भारतीय आउने गरेका छन् । विशेष पूजा गर्नेमा नेपालीभन्दा भारतीय नै बढी हुने गरेका छन् ।


कोषले अतिरिक्त शुल्क लिएर विशेष पूजा गराउँदै आएको छ । पशुपतिनाथ मन्दिरमा र वासुकी मन्दिरमा शुल्क तिरेर विशेष पूजा हुने गरेको छ । पशुपतिनामा मन्दिरमा १ हजार १ सयदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुन्छ । वासुकीमा चाहिँ २ सय ५५ देखि १ हजार १ सय रुपैयाँसम्मको विशेष पूजा हुन्छ । वासुकीमा दुग्धापर्ण पूजाको २ सय ५५, बेलपत्र, नैवेद्य एवं दुग्धापर्ण पूजाका लागि ५ सय ५ र पञ्चामृत पूजाका लागि १ हजार १ सय तिर्नुपर्छ ।


पशुपतिनाथमा १० प्रकारको विशेष पूजा हुने गरेको छ । १ हजार १ सय तिरेर पञ्चामृत पूजा, बालभोगसहित पञ्चामृत पूजाका लागि २ हजार १ सय, रुद्राभिषेक र बालभोगसहित पञ्चामृत पूजाका लागि ५ हजार १ सय, लघु रुद्राभिषेक र पूराभोगसहित पञ्चामृत पूजाका लागि ११ हजार रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी रुद्राभिषेख, पूराभोग, सवा लाख बत्तीद्वारा आरती र पञ्चामृत पूजाका लागि २७ हजार रुपैयाँ, लघु रुद्राभिषेक, पूराभोग, हवन, सवा लाख बत्तीद्वारा आरती र पञ्चामृत पूजाका ५६ हजार रुपैयाँ, भक्तजनको सहभागितामा हुने भोगसहितको नित्यपूजाको लागि १ लाख ५६ हजार, एकदिवसीय महारुद्रीको २ लाख ५१ हजार रुपैयाँ, एकादश दिवसीय महारुद्रीको ८ लाख १ रुपैयाँ, एकादश दिवसीय अतिरुद्रीका लागि २५ लाख रुपैयाँ तिर्नुपर्छ ।


नियमित दर्शन गर्न आउने भक्तको लागि चाहिँ विशेष सावधानी अपनाएर दर्शनको व्यवस्था गरिएको ढुंगानाले जानकारी दिए । ‘मन्दिरको ढोकाभन्दा अलि पर जाली राख्ने व्यवस्था गर्छार्ैं,’ ढुंगानाले भने, ‘आम मान्छेलाई मन्दिरमा नजानुस् भन्न मिलेन । त्यही भएर सक्दो सावधानी अपनाएका छौं । ठाउँठाउँमा स्यानिटाइजर राखेका छौं, त्यसको प्रयोग गरेर मात्र मन्दिर प्रवेश गर्न अपिल गरेका छौं ।’

रथयात्रा रोक्‍नुपरेकोमा क्षमायाचना

सेतो मत्स्येन्द्रनाथको रथयात्र पनि स्थगित भएको छ । रथयात्रा ११४० व्यवस्था समितिले रथयात्रा रोक्नुपरेकोमा क्षमायाचनासमेत गरेको छ । ‘यस वर्ष रथयात्रा सञ्चालन गर्न नसकिने स्थिति आइलागेकोमा सेतो मस्त्येन्द्रनाथसँग कोटिकोटि क्षमायाचना गर्न चाहन्छौं,’ समितिका अध्यक्ष नीलकाजी शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट भक्तजनमा पर्न जाने भावनात्मक तथा सांस्कृतिक असुविधाप्रति क्षमाप्रार्थी छौं ।’


सेतो मत्स्येन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले विज्ञप्तिमार्फत चैत १९ देखि २१ सम्म हुने रथयात्रा स्थगित शुक्रबार स्थगित गरेको हो । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथको हर्षोल्लासका साथ पूजा हुने तयारी भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यही समयमा कोरोनाको महामारीको त्रासका कारण विश्व आक्रान्त भइरहेको अवस्था छ । हाम्रो देश पनि यसको संक्रमणको खतरामा छ । संक्रमणको जोखिमलाई कम गर्न सजगताका लागि जनस्तरमा हुने भीडभाड हुने कार्यक्रम नगर्नु नै उचित हुन्छ ।’


जात्रा रोक्न, भोज नगर्न मेयर शाक्यको आग्रह


काठमाडौं महानगरपालिकाले यही महिना हुन लागेको विभिन्न जात्रा रोक्न अपिल गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले विज्ञप्ति जारी गर्दै पाँहाचाह्रे, घोडेजात्रा नमनाउन अपिल गरेका हुन् । ‘काठमाडौं महानगरपालिका सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने पनि उत्तिकै दायित्व छ । विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको पनि विशिष्ट महत्त्व रहिआएको छ,’ मेयर शाक्यले गरेको अपिलमा भनेका छन्, ‘अहिले नजिक आइरहेका पाहाँचःर्‍हे, घोडेजात्रा, सेतो मत्स्येन्द्रनाथको रथयात्रालगायत जात्रा पर्वहरू निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएको छ ।


तर अहिले विषम परिस्थितिमा भीडभाडका साथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन अनुरोध गर्दछु ।’ मेयर शाक्यले भोजभतेरसमेत नगर्न अपिल गरेका छन् ।

प्रकाशित : चैत्र ८, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?