कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल प्रवेशअघि ‘थर्मल गन’

फातिमा बानु

काठमाडौँ — यदि तपाईं राजधानीका निजी अस्पताल छिर्दै हुनुहुन्छ भने ढोकैका ज्वरो नाप्ने, स्यानिटाइजरले हात सफा गर्नुपर्ने (स्क्रिनिङ) हुन्छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न राजधानीका अधिकांश निजी अस्पताल छिर्नुअघि स्वास्थ्यकर्मीले थर्मल गनमार्फत ज्वरो नापिरहेका छन् ।

अस्पताल प्रवेशअघि ‘थर्मल गन’

धापासीस्थित ग्रान्डी अस्पतालले शुक्रबारदेखि अस्पताल छिर्ने जुनसुकै बिरामी, कुरुवालगायत अस्पतालकै चिकित्सक र कर्मचारीको पनि मूल गेटमै ज्वरो नाप्न र हात सफा गर्न लगाइरहेको छ ।


बिहान सात बजेदेखि रातको आठ बजेसम्म संक्रमण नियन्त्रण समितिका नर्स ज्वरो नाप्न खटिइरहेको र इन्टरनल मेडिसिनका दुई जना चिकित्सक थप स्क्रिनिङका लागि राखिएको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बताए । ‘अस्पताल यसै पनि संवेदनशील ठाउँ हो, जहाँ सजिलै धेरै मानिसमा संक्रमण फैलिने जोखिम हुन्छ,’ उनले भने, ‘संक्रमण फैलेपछि उपचार सोच्नुभन्दा फैलन नपाओस् भनेर हामीले स्क्रिनिङ गर्न थालेका हौं ।’


अस्पतालमा दैनिक करिब दुई हजार व्यक्तिको स्क्रिनिङ भइरहेको छ, स्क्रिनिङ, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई एकदिने तालिमसमेत दिइएको छ । स्क्रिनिङ गर्ने मात्रै होइन, १००.४ भन्दा बढी ज्वरो आएका या कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्ति अस्पतालभित्र छिर्न पाउँदैनन् ।


लक्षण देखिएका व्यक्तिका लागि अस्पतालले दिनभरि राख्न मिल्ने छुट्टै क्वारेन्टाइनको समेत व्यवस्था गरेको छ । ‘स्वास्थ्य परीक्षणको रिपोर्ट नआएसम्मका लागि लक्षण भएका व्यक्ति क्वारेन्टाइनमै बस्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय र टेकु अस्पतालसँग समन्वय गरेर बाँकी प्रक्रिया अघि बढाउँछौं ।’ कुनै बिरामीमा कोभिड रिपोर्ट पोजिटिभ नै आए पनि अस्पतालमा आइसोलेसन र आईसीयूसमेतको व्यवस्था भएको उनले बताए । चीन या संक्रमण फैलिएको देशबाट फर्किएका व्यक्तिलाई लक्षण देखिए अस्पतालले विशेष निगरानीमा राख्ने गरेको छ । शंकास्पद तर रिपोर्ट नेगेभिट आएका व्यक्तिलाई घरमै आइसोलेसन भएर बस्ने तरिका सिकाएर पठाउने गरेको छ ।


ग्रान्डीमा हालसम्म दुई जना व्यक्ति शंकास्पद भेटिएका छन् । ‘उहाँहरूको रिपोर्ट नेगेभिट आयो तर इन्फ्लुएन्जा संक्रमण कारणले श्वासप्रश्वासमा समस्या भएर आईसीयूमै राख्नुपर्ने भएको थियो’ अस्पतालकी संक्रमण नियन्त्रण कमिटीकी नर्स रोशनी राणाले भनिन्, ‘महिला बिरामी भने जापान गएर आउनुभएको रहेछ ।’ उनले सरकारको सहयोग भए संक्रमण नियन्त्रणमा निजीले अझै पहल गर्ने बताइन । सानेपास्थित स्टार अस्पतालमा पनि ज्वरो नापेपछि मात्रै भित्र छिर्न पाइन्छ । कोरोना रेस्पोन्स टिम बनाई आइसोलेसन क्षेत्र छुट्याएर संक्रमण रोक्न प्रयास गरिएको अस्पतालले जनाएको छ । अस्पतालको गेटमा हेल्थ डेस्क राखिएको छ ।


स्वास्थ्यकर्मीले ज्वरो नाप्ने र स्यानिटाइजर लगाउन दिने गरेका छन् । अन्य प्रक्रियाका लागि डब्लूएचओको निर्देशिकाअनुसार काम भइरहेको अस्पताले जनाएको छ । कुनै व्यक्तिमा उच्च ज्वरो या कोभिडका लक्षण देखिएमा पाटन अस्पतालसँग सहकार्य गरी उपचार थालिने व्यवस्था मिलाइएको छ । शंकास्पद व्यक्ति राख्नुपरे अब्जरभेसन वार्ड र आईसीयू पनि तयारी अवस्थामा छ । चाबहिलस्थित ओम अस्पतालमा पनि दुई दिनयता स्वास्थ्यकर्मीले गेटमै ज्वरो नाप्ने, कोभिडबारे जनचेतना दिने गरिरहेका छन् ।


अस्पतालमा कोभिड १९ बिरामी उपचारका लागि कोठासमेत छुट्याइएको अस्पताल व्यवस्थापक विनोद अधिकारीले बताए । ‘शंकास्पद कोही व्यक्ति भेटिएमा राख्न आइसोलेसन पनि छ,’ उनले भने, ‘टेकुबाट रिपोर्ट नआउँदासम्म उनीहरू त्यहीं बस्नुपर्छ ।’ नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल पस्नुअघि ज्वरो नापिन्छ । कोभिडसँग मिल्दोजिल्दो लक्षण देखिएका व्यक्तिलाई स्वास्थ्यकर्मीले अस्पताल प्रवेशमा रोक लगाउने गरेको अस्पतालका व्यवस्थापक विजय रिमालले बताए । लक्षण देखिएका व्यक्ति स्याम्पल लिएर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरेको छ । ‘रिपोर्ट नआउँदासम्म बिरामीलाई आइसोलेसन गर्छौं,’ उनले भने, ‘रिपोर्ट पोजेटिभ आइहाल्यो भने टेकु अस्पताल नै पठाउने निर्णय गरिएको छ ।’


थापाथलीस्थित नर्भिक अस्पतालमा पनि यस्तै अभ्यास सुरु गरिएको छ । प्रत्येक आगन्तुकलाई ज्वरो नाप्ने र उच्च ज्वरो आएका व्यक्तिलाई मास्क, स्यानिटाइजर लगाएर छुट्टै वार्डमा राखिने अस्पतालका प्रबन्धक आरपी मैनालीले बताए । ‘शंकास्पद व्यक्तिलाई वार्डमा कोभिडको लक्षण छ छैन हेरिन्छ,’ उनले भने, ‘लक्षण मिल्यो भने कोभिड परीक्षण गर्ने किट हामीसँग छैन, टेकु पठाउने गरेका छौं ।’ कोभिडका बिरामी राख्नै परे १५ बेडको आइसोलेसन र आईसीयू तयारी रहेको उनले बताए ।

प्रकाशित : चैत्र ६, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?