‘असारभित्रै उपत्यकामा मेलम्चीको पानी’- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘असारभित्रै उपत्यकामा मेलम्चीको पानी’

दीपेन्द्र विष्ट

मेलम्ची — मेलम्ची खानेपानी आयोजनाले सुरुङभित्र पानी हालेर परीक्षण गरेपछि सुन्दरीजलमा झारिने जनाएको छ । आयोजनाले गत सोमबार एक किलोमिटर पानी सुरुङभित्र हालेर सफल परीक्षण गर्‍यो । अब दुई चरणमा पानी हालेर परीक्षण गरेपछि सुन्दरीजल झार्ने आयोजनाको तयारी छ ।

आयोजनाले सुरुङमा पानी हालेर परीक्षण सकिएपछि असारभित्रै उपत्यका पानी ल्याउने तयारी गरेको छ । यसअघि पटक–पटक आयोजनाले समयसीमा निर्धारण गरे पनि सर्दै आएको थियो  । सोमबार अस्थायी बाँधदेखि अम्बाथान ‘अडिट’ (प्रवेश) सम्मको एक किमि मुख्य सुरुङमा पानी परीक्षणमा खानेपानी मन्त्री विना मगर र आयोजनाका अधिकारीहरू उपस्थित थिए ।


‘पहिलो चरणको परीक्षण सफल भएको छ, अब केही दिनमै मुख्य मुहानबाट ग्यालथुङसम्म मुख्य सुरुङमा पानी पठाएर परीक्षण गर्छौं,’ आयोजनाका निर्देशक त्रिरेशप्रसाद खत्रीले भने, ‘काम तीव्र गतिमा अघि बढेको छ, यसअघि केके भयो भन्ने मतलब छैन, अब सुन्दरीजलमा जसरी पनि पानी खसाल्छौं ।’


इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेपछि र चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी कामको जिम्मा पाएको ६ महिनाको प्रगति हेर्दा असारमा पानी ल्याउन सकिने आधार तय भएको उनले दाबी गरे ।


केही दिनभित्रै दोस्रो चरणमा मुख्य मुहानदेखि ग्यालथुङ अडिटसम्म करिब नौ किलोमिटर सुरुङभित्र पानी पठाएर परीक्षण गर्ने खत्रीले बताए । त्यसपछि सुरुङको मुखबाट सिन्धु ‘अडिट’ सम्मको करिब १७ किमि पानी पठाएर परीक्षण गर्ने उनले बताए । अन्तिममा बाँधबाट सिधै सुन्दरीजलसम्मको २६ किमि सुरुङमा पानी पठाएर परीक्षण सम्पन्न गरिने उनले बताए ।


‘तीन चरणमा परीक्षण गर्छौं, किनभने विभिन्न स्थानमा चुहावट आउन सक्छ, त्यसका लागि पूर्ण सावधानी अपनाएर परीक्षण गर्छौं,’ उनले भने, ‘काम सन्तोषजक रूपमा अघि बढिराखेको छ, २६ किमि सुरुङ पानी पठाउँछौं, मिति घोषणा नगरौं ।’ आयोजनाले असारसम्म सुन्दरीजल पानी खसाल्ने तयारी गरेको छ ।


यसअघि पटक–पटक काठमाडौं पानी पुर्‍याउने सयमसीमा निर्धारण गर्दा सरकार विवादित भएको उनको भनाइ छ । ‘कुराभन्दा काम गरौं न, यो बाँधदेखि अम्बाथान परीक्षण गर्दा पनि हामीले कसैलाई भनेनौ, सुन्दरीजलमा पानी पनि केही दिनभित्रै देख्नुहुन्छ, त्यो मिति नजिकै छ, अहिले नभनौं ।’


सुन्दरीजल पुगेकी खानेपानी तथा सरफाइ मन्त्री मगरले काठमाडौंवासीको मेलम्चीको पानी खाने सपना चाँडै पूरा हुने दाबी गरिन् । ‘यहीं मिति भनेर तय नगरौं, सुन्दरीजलमा चाँडै पानी खसाल्छौं,’ अम्बाथान अडिटमा पानी खसाल्दा निकै उत्साहित भएकी मन्त्री मगरले भनिन्, ‘मेलम्ची पानी म कति चाँडो सुन्दरीजलमा खसालेर राजधानीवासीलाई खुवाउला भन्ने सपना मात्र देख्न थालेकी छु ।’

मेलम्ची आयोजनासँग सम्पूर्ण राजनीतिक जीवन साइनो जोडिन थालेको उनले बताइन् । ‘जति चुनौती छ, उति नै मेरा लागि अवसर पनि छ, २४ घण्टा मेलम्ची पानी चाँडो कसरी ल्याउन सकिएला भनेर मात्र सोच्छौं,’ उनले भनिन् ।


सीएमसीले २६ किमि सुरुङको आरसीसी ढलान, भेन्टिलेसन सफ्ट र चारवटा अडिटमा ढोका राख्ने र हेडवर्कस निर्माणको प्रगति हेर्दा निकै प्रगति भएको देखिन्छ । गतअसोज अन्तिमतिर सुरुङ र हेडवर्कस निर्माण ठेक्का सिनो हाइड्रोले पाएको हो ।


यसले गर्दा अडिट टनेलबाहेक करिब २६ किमि मुख्य सुरुङको लम्बाइ छ । आयोजनाको बाँधदेखि काठमाडौंको सुन्दरीजलसम्म २६ किमि सुरुङको काम सकिएको छ । आयोजनाको गेट, भेन्टिलेसन कामको जिम्मा लिएका आठवटा साना ठेकेदार कम्पनीले ७५ प्रतिशत काम पूरा गरेको आयोजनाले जनाएको छ ।


गेट र भेन्टिलेसन सफ्ट जडानको काम ५० प्रतिशत सकिएको र स्थायी फाउन्डेसनको काम अन्तिम चरणमा रहेको उनले बताए । आयोजनाका अधिकांश महत्त्वपूर्ण भौतिक संरचना सम्पन्न भइसकेकाले अन्य अब कुनै अवरोध नआउने आयोजना प्रमुख खत्रीको दाबी छ । तीनवटा महत्त्वपूर्ण भेन्टिलेसनमध्ये सुन्दरीजलको (७८ मिटर अग्लो) सम्पन्न भइसकेको छ । ग्यालथुङ (४८ मिटर अग्लो) आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ । त्यसैगरी, सिन्धुको १०४ मिटर अग्लो भेन्टिलेसनको काम पनि भइरहेको छ । त्यसैगरी सुन्दरीजल, सिन्धु, ग्यालथुङ र अम्बानथान अडिटमा गेट राख्ने काम जारी छ । सीएमसीले ठेक्का तोडेपछि गेट आपूर्तिमा केही ढिलाइ भएको भन्दै प्रमुख खत्रीले हाल ५० भन्दा प्रतिशत काम सम्पन्न भइसकेको बताए ।


सुरुङको ३२ वटा गेटमध्ये अब चार वटा मात्र राख्न बांँकी छ । बाँध निर्माण काम करिब २५ प्रतिशतभन्दा बढी भइसकेको छ । अस्थायी बाँधबाट सुन्दरीजलमा पानी खसाल्ने उनले बताए ।

‘पुससम्म स्थायी बाँध निर्माणको समयावधि हो, त्यो बन्दै गर्छ, अस्थायीबाट सुरुङमा पानी पठाउँछौं, त्यसैअनुसार संरचना निर्माण भइराखेको छ,’ उनले भने । १५ महिनाभित्र सम्पन्न हुने गरी काम अघि बढेको भन्दै उनले ठेकेकदार, आयोजनाका कर्मचारी चौबीसै घण्टा निर्माणस्थलमा खटिराखेको बताए । सुरुङको मुख्य महानको काम नौ महिनाभित्र काम सम्पन्न हुने उनले बताए । १५ महिनाभित्र हेडवर्कसको काम सम्पन्न गर्ने समयसीमा तोकिएको छ । आयोजना निर्माण गर्ने पूर्वठेकेदार कम्पनी सीएससीले गत वर्ष पुसमा ठेक्का सम्झौता तोडेपछि आयोजनाको काम अन्योलपूर्ण अवस्थामा रहेको थियो ।


त्यसपछि सरकारले फास्ट ट्र्याकबाट काम गर्ने निर्णय गरेको थियो । निर्णयसँगै आठ वटा ठेक्का सिधै स्थानीय भेन्डर, सुरुङ र हेडवर्कस ठेक्का आह्वान गरेको थियो । ठेक्कामा हिमाल हाइड्रो र सिनो हाइड्रोबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि सिनोले सुरुङ र हेडवर्कस निर्माण ठेक्का पाएको हो । ८५ करोड एक लाख लागतमा सुरुङ एक अर्ब दुई करोड ८२ लाख लागतमा हेडवर्कस

निर्माण गरिनेछ ।


खानेपानी मन्त्री पुनले सुरुङको निरीक्षण गरेपछि ‘चाँडै उपत्यकामा पानी’ पुर्‍याउने दाबी गरिन् । मुख्य बांँधबाट पानी अम्बाथान अडिट खसेपछि मन्त्री खुसी देखिन्थिन् । ‘अब राजधानीवासीको पानी खाने सपना पूरा गर्न सक्छौं भन्ने लाग्यो, यो सफल परीक्षण हो ।’ करिब ४५ मिनेट जति सुरुङभित्र निरीक्षणपछि उनले ‘अब म समयसीमा तोक्दिनँ, काम गरेर देखाउँछौं, तपार्इंहरूले थाहा पाउनुहुनेछ । चाँडै उपत्यका पानी पुग्छ, म अहिलेलाई यति भन्छु ।’ विगतमा समयसीमा निर्धारणमा तोकेर विवादमा तानिएकी मन्त्री मगर यसपटक सञ्चारकर्मीलाई जवाफ दिनेमा निकै सजग देखिन्थिन् ।

प्रकाशित : चैत्र ६, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यका नजिक नयाँ सहर बनाइने

दीपेन्द्र विष्ट

काठमाडौँ — काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या चाप नियन्त्रण गर्न सरकारले १० वटा नयाँ सहर निर्माण गर्ने भएको छ । केही वर्षदेखि काठमाडौं उपत्यकाको जनसंख्या बढ्दै गएकाले सीमा जोडिएका जिल्लामा आधुनिक सहरको विस्तार गर्न लागिएको हो । 

उपत्यकाको वैकल्पिक सहरका रूपमा टोखा–छहरे सुरुङमार्गसँगै रहेको थानसिंह, ढिकुरे गंगटे हुँदै देवीघाट, रातामाटे हुँदै गल्छीसम्म र थानकोट–नौबिसे निर्माणधीन सुरुङमार्ग आसपासको गल्छीसम्मको भू–भागमा सुविधासम्पन्न सहर बसाल्ने तयारी भएको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए ।

त्यसैगरी, नुवाकोटको छहरेदेखि धादिङको गल्छीसम्मको करिब ३५ किमि र धादिङको गल्छीदेखि नुवाकोटको चाउथे–बन्चरे हुँदै तीनपिप्ले बालाजु जोड्ने क्षेत्रमा पनि सहर निर्माण गरिने छ । नुवाकोटको बट्टारदेखि विदुर हुँदै बेत्रावतीसम्मको त्रिशूली उपत्यका, बेत्रावतीदेखि जिपजिपे, धुन्चे र रसुवाको टिमुरेसम्मको हिमाली सहर, नुवाकोटको गंगटे–पीपलटार–बुहुनीबेसी–देवीघाट–महादेवफाँट–गल्छी र गल्छीदेखि–चाउथे हुँदै बन्चरेडाँडा–तीनपिप्लेमा नयाँ सहर निर्माणका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

धादिङको नौबिसे–गल्छी, मकवानपुरको इन्द्रसरोवर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेंसी, बनेपा, धुलिखेल र पनौती क्षेत्रसहित समेटेर नयाँ सहरको अवधारणा अघि बढाइएको छ । मानन्धरका अनुसार प्रदूषणमुक्त राजधानी बनाउने परिकल्पनासहित सहर निर्माण प्रक्रिया अघि बढाइएको हो । ‘प्रक्रिया अघि बढिसकेको छ, केही दिनभित्रै यसको अन्तिम निष्कर्ष बाहिर ल्याउँछौं,’ उनले भने, ‘विभिन्न सहरी विज्ञसँग छलफल गरेर अघि ल्याएको योजना हो ।’ उपत्यकाको विकल्पका रूपमा बेलैमा नसोचे २० वर्षपछि जनसंख्याको चाप नियन्त्रण गर्न गाह्रो हुने उनले बताए । त्यसैगरी, धादिङको सल्यानटारमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणपछिको अवस्थालाई आकलन गरी त्यस वरपरको १७ किमि क्षेत्रमा पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक सहर निर्माणको योजना बढाउनेबारे विज्ञसँग परामर्श भइरहेको मानन्धरले बताए ।

पछिल्लो तथ्यांकअनुसार उपत्यकामा ४० लाखभन्दा बढी मानिस बसोबास गर्छन् । मन्त्री मानन्धरका अनुसार उपत्यका बाहिरको चाप नियन्त्रण गर्न सरकारले २७ वटा सुविधासम्पन्न आधुनिक सहर निर्माण गरिरहेको छ । मध्यपहाडी लोकमार्गमा निर्माणाधीन १० नयाँ सहरको काम सुरु भइरहेको उनले बताए । लोकमार्गमा सरकारले २० वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या अटाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो । जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसंख्या, बसाइ–सराइ, गैरकृषि क्रियाकलाप, साक्षरता, विद्युत्सेवाको उपलब्धता जस्ता ९ वटा सूचकका आधारमा नयाँ सहर छनोट गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

हुलाकी राजमार्गमा पनि पाँचवटा थप सहर बनाउने निर्णय गरिएको छ । सप्तरीको शम्भुनाथ, महोत्तरीको बलवा, सर्लाहीको ईश्वरपुर, रौतहटको कटहरिया र दाङको गढवा गरी पाँच नयाँ सहरको विकास गरिने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । ती सहरबाट अन्यत्र गएका परिवारलाई आकर्षित गर्ने योजना बनाइएको उनले बताए । विभागका अनुसार प्रत्येक सहर निर्माण सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लाग्नेछ ।

प्रकाशित : फाल्गुन २३, २०७६ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×