१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

खटमा मूर्ति राखेर जात्राको निम्तो

दामोदर न्यौपाने

काठमाडौँ — पशुपतिको मूल भट्ट गणेश भट्टले मंगलबार बिहान पशुपतिनाथमा प्रसाद चढाए । केही बेरपछि मन्दिरका दोस्रो वरियताका श्रीराम भट्टले मन्दिरभित्रको मुख्य मूर्तिसँगै राखिएको पशुपतिनाथको मूर्तिमा विधिपूर्वक पूजा गरे । मन्दिरका पालोवाला भण्डारी विजय राजभण्डारीले मूर्ति निकालेर डंगोल समुदायलाई दिए ।

खटमा मूर्ति राखेर जात्राको निम्तो

डंगोल समुदायले सानो खटमा राखे । त्यसपछि पशुपतिनाथलाई देशोद्वार पूजा, बज्रेश्वरी, बत्सलेश्वरी र पाँहाँचाह्रे जात्राको निम्ता बाँड्न खटमा राखेर यात्रा सुरु भयो । अघि–अघि भट्ट हिँडे, पछि–पछि खटमा पशुपतिनाथको मूर्ति । विजय राजभण्डारीले भने, ‘पशुपतिनाथले निम्ता बाँड्न हिँडेपछि पशुपति क्षेत्रमा यो वर्षको जात्रा सुरु भएको मानिन्छ । पशुपतिको जात्रा सुरु भएपछि उपत्यकाका तीनै सहर, बनेपा, पनौतीलगायत नेवार समुदायको बस्तीमा समेत जात्रा सुरु हुन्छ ।’


पशुपतिनाथको मूल शिवलिंगको उत्तर–पूर्वी कुनामा राखिएको हुन्छ पशुपतिनाथको प्रतिकृति मूर्ति । अष्टधातुले बनेको मूर्तिमा पशुपतिनाथसँगै हरेक दिन नित्यपूजा गरेर राखिएको हुन्छ । आठ इन्च उचाइको शिवलिंग खटमा राखेपछि पशुपतिनाथको अघोर मुखका पुजारीले पूजाआजा गर्ने चलन छ । पशुपतिनाथको यो रूपलाई रत्नेश्वर नामले पुकारिने भण्डारीले जानकारी दिए । मन्दिरभित्रै नवग्रह र हनुमानको बीचमा सानो डबली छ । त्यही डबलीमा खट राखिन्छ । त्यहाँ पशुपतिनाथ राखेपछि बाजागाजासहित यात्रा सुरु भएको हो । जात्राको निम्ता बाँड्न पशुपतिनाथको साथमा भट्ट, चारै कवलका मूल भण्डारी, अमालकोट कचहरीका द्वारे, पशुपति भण्डार तहबिलका नाइके, र रै—रकमी, टोलबासीसहित धिमे बाजा बजाएर जाने चलन छ । रथ बोक्ने काम डंगोल समुदायले गर्छन् भने बाजा कुसुलेले बजाउँछन् ।


पशुपतिनाथको रथयात्रा देशोद्वार पूजा, बत्लेश्वरी र बज्रश्वरी जात्राका लागि निम्तो गर्ने पर्वका रूपमा मनाइन्छ । यसलाई ‘दुदु च्याँच्याँ’ जात्रा भनेर पनि चिनिन्छ । ‘दुदु च्याँच्याँ’ भनेको दूध खाने बालकदेखि वृद्धवृद्धासम्म आउनु है भनेर महादेव चुलेनिम्तो दिन हिँड्ने पर्व हो,’ पशुपति भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीले भने, ‘पार्वतीका दिदीबहिनीलाई निम्ता दिन गइन्छ ।’

चैत कृष्णअष्टमी तिथि पारेर पशुपति मन्दिरबाट निकालेपछि रथ पाचाटोल पुर्‍याइन्छ ।


पशुपतिनाथको प्रतिकृति पुर्‍याउँदा ठाउँठाउँमा बाजागाजासहित बसेका भजन खलले स्वागत गर्छन् । पाचाटोलबाट जयबागेश्वरी, ताम्रेश्वर, सिफल, भण्डारेश्वर महादेव पुर्‍याइन्छ । त्यहाँको मन्दिर घुमाइन्छ । त्यसपछि सानोगौचर पूर्वको बाटो हुँदै ज्ञानेश्वर पुर्‍याइन्छ । ज्ञानेश्वर महादेवलाई पनि प्रदक्षिणा गराइन्छ । त्यहाँबाट भगवती बहाल, चारढुंगे, नागपोखरी, हात्तीसार, तीनधारा पाठशाला, जमलपाटी पुर्‍याइन्छ ।


कमलाक्षीटोलमा नरदेवीको श्वेतकाली मन्दिरका कुमारी, भैरवी, बाराहीलगायत धिमे बाजासहित स्वागत गर्न आएका हुन्छन् । बाजागाजासहित त्यहाँबाट सहर भित्र्याइन्छ । केहीबेर बाजा बजाएपछि नरदेवीबाट आएका पनि त्यही यात्रामा सहभागी हुन्छन् । असनको अन्नपूर्ण भगवतीलाई दायाँ पारेर रथ बालकुमारी, इन्द्रचोक, मखनटोल हुँदै हनुमानढोका पुर्‍याइन्छ । त्यहाँ हनुमानलाई दायाँ पारेर आकाश भैरवको बाटो रथ वसन्तपुरको कुमारीघरतिर अघि बढाइन्छ ।


त्यहाँबाट चिकमुगल हुँदै जैसीदेवल लगिन्छ । जैसीदेवल पुगेपछि बाज बजाउने समूह, पूजाका सामान खर्पनमा बोकेको समूह भेट हुन्छ । त्यो समूह पचलीभैरवको पूजा गर्न जान्छन् । पशुपतिनाथालाई चाहिँ लगन डबलीमा राखिन्छ । यहाँ दोस्रोपटक खट बिसाइएको हुन्छ । पचलीमा पूजा गर्ने समूह नआउन्जेल खट त्यही राखिन्छ । डबलीमा पशुपतिनाथको दर्शन गर्न भीड लाग्छ ।


लगन डबलीबाट याङगाल हुँदै रथ अघि बढाइन्छ । वसन्तपुरको काष्ठमण्डपलाई दायाँ पारेर मरुगणेश हुँदै रथ प्याफल पुर्‍याइन्छ । त्यही बाटो हुँदै नरदेवी लगिन्छ । नरदेवीमा पशुपतिनाथलाई दर्शन गर्न ठूलो संख्यामा दर्शनार्थी बसिराखेका हुन्छन् । यतिबेला मध्यरात भइसकेको हुन्छ । नरदेवीमा शिवलिंगको पूजा हुन्छ । पूजा सकिएपछि असन, कमलाक्षमी, तीनधारा, ज्ञानेश्वर, कालोपुल हुँदै फेरि पशुपतिनाथ मन्दिरमै फर्काइन्छ । पशुपतिनाथका देवतालाई दायाँ पार्दै परिक्रमा गराइन्छ ।


परिक्रमा गराएर पशुपतिको पूर्वी ढोकाबाट निकालेर वाग्मती, आर्यघाट हुँदै बत्सलेश्वरी मन्दिर प्रदक्षिणा गराइन्छ । त्यसपछि खटलाई पालोवाला भण्डारीको घरमा पुर्‍याइन्छ । यो महिना विजय राजभण्डारीको पालो परेको छ । जुन दिन मन्दिरबाट निकोलेको हो, त्यही दिन रातीसम्म पालो पर्ने भण्डारीको घरमा पुर्‍याउने गरिन्छ ।

प्रकाशित : चैत्र ५, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?