कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

व्यक्तिगत खर्चमा जात्रा

जात्रा चलाउन राखिएको गुठीको जग्गा कोषले अधिग्रहण गरेपछि आम्दानीको स्रोत सुकेको छ
दामोदर न्यौपाने

काठमाडौँ — पशुपतिनाथ क्षेत्रमा मनाइने देशोद्धार पूजा सञ्चालनको जिम्मेवारी यो वर्ष विजय राजभण्डारीको काँधमा आएको छ । पूजासामग्री जुटाउनेदेखि भोज खुवाउनेसम्मको खर्च उनैले बेहोर्नुपर्छ । राँगो किन्न ७० हजार, फलफूल र रोटीका लागि ८० हजार, भोज खुवाउन करिब ७ लाख खर्च हुने अनुमान गरिएको छ ।

व्यक्तिगत खर्चमा जात्रा

‘यतिले पनि पुग्ने हो कि होइन, थाहा छैन,’ राजभण्डारीले भने, ‘जीवनभरमा यो पर्व चलाउने जिम्मेवारी एक पटक मात्र आउँछ । खर्च त बेहोर्नैपर्‍यो नि ।’


पशुपति क्षेत्रमा बस्ने नेवार समुदायका चारै जातिको सहभागिता रहन्छ जात्रामा । ब्राह्मणचाहिँ हरेक वर्ष एकै जना हुन्छन् । अरू तीन जातिमा जात्रा सञ्चालन गर्ने पालो हरेक वर्ष फेरिन्छ । आर्थिक स्रोत नहुनेको पालो पर्नेलाई भने जात्रा चलाउनै समस्या हुन्छ । घर बेचेर समेत जात्रा चलाउनुपर्ने बाध्यता छ । बागेश्वरानाथ वैद्यले घर नै बेचेर जात्रा चलाएको स्थानीय बासिन्दा बताउँछन् । ‘जात्रा चलाउन पशुपति विकास कोषले केही भरथेग गर्दैन ।


घर बेचेर समेत पर्व चलाउनुपर्ने बाध्यता हुन्छ,’ सुवर्ण वैद्यले भने । बलि दिन र भोज खुवाउन दुई वटा राँगा चाहिन्छ । बलि दिएको राँगाको मासु यहाँका प्रत्येक गुठियारलाई परालमा बेरेर पुर्‍याउनुपर्ने चलन छ । पशुपति क्षेत्रका नौवटै टोलबाट करिब एक हजार जनालाई भोज खुवाउनुपर्ने राजभण्डारीले बताए ।


जात्रा चलाउन राखिएको गुठीको जग्गा कोषले अधिग्रहण गरेपछि आम्दानीको स्रोत सुकेको छ । पहिला यही जग्गाबाट उठेको अन्नले जात्रापर्व चल्थ्यो । २०७० सालमा कोषले जग्गा अधिग्रहण गरेर मोहीलाई मुआब्जा दिए पनि गुठियारले पाएनन् । देशोद्धार पूजाका लागि पदमेसानन्द वैद्यले दुई सय वर्षअगाडि १३ रोपनी जग्गा गुठी राखेका थिए । गुठीको जग्गा १२ जनाका नाममा थियो । मुआब्जाबापत १३ करोड रुपैयाँ कोषले दिनुपर्ने वैद्य बताउँछन् । ‘ब्याजसमेत सात करोड भइसक्यो,’ उनले भने ।


गैरसरकारी संस्था खोलेर आए रकम दिने आश्वासन कोषले दिएपछि गुठियारले जिल्ला प्रशासन कार्यालयमा संस्थासमेत दर्ता गराए । त्यसपछि पनि पैसा दिन आलटाल गरेको वैद्यको गुनासो छ । कोषले यसबारे परिषद्मा लगेर निर्णय गर्ने बताउँदै आएको छ । ‘हामीलाई मुआब्जाको रकम दिन समस्या छैन,’ कोषका लेखा प्रशासन महाशाखा प्रमुख प्रेमहरि ढुंगानाले भने, ‘तर दाबी गर्न गुठियारको सन्तति मात्र आउनुपर्‍यो । अरूले दाबी गरेर भएन ।’

पशुपतिनाथकै ठूलो जात्रा चैत कृष्णपक्ष एकादशी तिथिमा हरेक वर्ष देशोद्धार पूजा हुन्छ । आउँदो चैत ८ मा यो जात्रा मनाइँदै छ ।


पशुपतिनाथका नौ शक्तिपीठमध्येको बज्रेश्वरी मन्दिरबाट पूजा आरम्भ हुन्छ । ‘देशको उद्धारका लागि पूजा गरिन्छ,’ पशुपतिनाथका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘पशुपति क्षेत्रका नौ वटै जाति मिलेर अमलकोट कचहरीमा रातभर पूजा हुन्छ । बलि पनि दिइन्छ ।’ पाशुपत क्षेत्रका ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र जात मिलेर देशको कल्याण र संवृद्धिका लागि वैदिक र तान्त्रिक विधिबाट पूजा गरिन्छ ।


बज्रेश्वरीमा नवदुर्गा, गणेश र भैरवका मूर्ति लहरै राखिन्छ । पूजा सकिएपछि ती मूर्ति घरमै लगेर राखिन्छ । घरमा समेत पूजाविधि सकेपछि फेरि बज्रेश्वरीमै लगिन्छ । त्रयोदशी र चतुर्दशी तिथिमा भने दिनभर पिंगनस्थानमा राखिन्छ । यहाँ दर्शन गर्न भक्तजनको घुइँचो लाग्छ । प्रदर्शनमा राखिएका मूर्ति लिन चतुर्दशीको साँझ पोडेहरू आउँछन् ।


भोलिपल्ट औंसीमा देवीदेवतालाई ढक्कीमा राखेर रामघाट हुँदै वत्सलेश्वरी मन्दिर घुमाइन्छ र भकुनटोल, बालकुमारी हुँदै इँटापाखामा पुर्‍याइन्छ । खटमा राखिएको मूर्तिको शोभायात्रा इँटापाखा पश्चिमतिरको वेदविद्याश्रमस्थित पूर्वी ढोकाबाट निकालिन्छ । त्यहाँबाट भकुनाटोल हुँदै फेरि वत्सलेश्वरी मन्दिरमा लैजाने चलन छ ।


वत्सलेश्वरीबाट भकुनटोल, भुवनेश्वरी, लगनलाक्षी, पशुपति पश्चिम ढोका हुँदै जयवागेश्वरी, नवालीटोल हुँदै ताम्रेश्वर तापाखेल लगिन्छ । भण्डारखाल पर्खालमा तीन ठक्कर खुवाइएपछि नवालीटोल, दथुटोल, लगनलाक्षी हुँदै पशुपतिको पश्चिमढोका पुर्‍याइन्छ । यहाँ पनि तीन ठक्कर खुवाएर भुवनेश्वरी मन्दिर लगिन्छ ।


बज्रश्वरीलाई द्यःछे मा भित्र्याएपछि पाशुपत क्षेत्रको अर्को महत्त्वपूर्ण जात्रा वत्सलेश्वरीको जात्रा सुरु हुन्छ । बज्रेश्वरीलाई गुठियारको धर्मपत्नीले लसकुस गरी भित्र्याउने चलन छ । त्यसपछि सात दिनसम्म गोप्य तरिकाले विभिन्न पूजा गर्नुपर्छ । यो अवधिभर गुठियारले एक छाक खान्छन् । डंगोल, महर्जन, कसाइ, पोडेलगायत जातिले इष्टदेवीका रूपमा बज्रेश्वरीलाई मान्छन् ।

प्रकाशित : चैत्र २, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?