कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जग्गा नहुँदा बनेन विद्यालय भवन

काठमाडौँ — प्याफलस्थित अग्ला भवनको बीचमा छ, कान्ति ईश्वरी राज्यलक्ष्मीे विद्यालय । २२ आना जग्गामा विद्यालयको मुख्य भवन छ । दायाँबायाँ टहरा छन् । मुख्य भवन भने कतै भासिएको त कतै पर्खाल छुट्टिएको अवस्थामा छ । भूकम्पले क्षति पुर्‍याएको भवनमा १९ कोठा छन् ।

जग्गा नहुँदा बनेन विद्यालय भवन

भवन अभाव भएपछि अफिस, शौचालय, पुस्तकालय र कम्प्युटर कोठालाई पनि स्टोर रुम बनाइएको छ । जोखिमयुक्त भवन भएकाले विद्यार्थी अर्कै भवनमा पढ्छन् । विद्यालयको खाली मैदानको दायाँबायाँ दुई वटा भवन छन् । पहिलो तल्ला ढलान गरिएको छ भने अर्को तल्ला ट्रष्टले निर्माण गरेको छ । दुई भवनमा ११ कोठा छन् ।


तिनै कोठामा शिशु कक्षा (नर्सरी) देखि १० सम्मका विद्यार्थीलाई पढाइरहेको निमित्त प्रधानाध्यापक रामशरण खनालले बताए । भूकम्पअघि तीन सयभन्दा बढी विद्यार्थी भए पनि भवन बन्न नसकेपछि विद्यार्थी घटेर १ सय ५० मा पुगेको छ । ‘विद्यालय निर्माण गर्न हरेक वर्ष नापजाँच र अनुगमन गरिन्छ,’ उनले भने, ‘तर, जग्गाको लालपुर्जा नहुँदा भवन बन्न सकेको छैन ।’


गत पुसमा मेयर विद्यासुन्दर शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको टोलीले अनुगमन गरी सडककै छेउमा र सम्पदाभित्र रहेको भन्दै विद्यालय भवन नबन्ने बताएका थिए । माघमा महानगर, विद्यालय व्यवस्थापन समिति र शिक्षक प्रतिनिधि बसेर स्थानान्तरण गरेर उक्त ठाउँमै भवन निर्माण गर्ने गरी हस्ताक्षर गरिएको थियो । ‘तर, अहिले विद्यालयलाई एउटा कोठामा सीमित राखेर विद्यार्थी र शिक्षकलाई अन्य ठाउँमा पठाउने र भवन निर्माण भएपछि स्कुल फेरि सञ्चालन गर्ने सुनेको छु,’ उनले भने, ‘लिखितम अहिलेसम्म आएको छैन ।’


वसन्तपुरस्थित नवआदर्श माविको अवस्था पनि उस्तै छ । तीन आना दुई पैसा दुई दाम जग्गामा रहेको विद्यालयमा शिशु अर्थात् बाल विकास केन्द्रदेखि ११ कक्षासम्म पढाइ हुन्छ । चारतले भवनको पहिलो तलामा हनुमानढोका दरबार संरक्षण समितिको कार्यालय र शौचालय छ । दोस्रो, तेस्रो र चौथौ तलामा पढाइ हुन्छ । भत्काएर नयाँ बनाउनुभन्दा रेट्रोफिटिङ गर्न लागिएको प्रधानाध्यापक पदम श्रेष्ठले बताए । ‘स्कुल नापजाँच गरेर जान्छन्, जग्गा यता छोड्नुपर्छ, उता छोड्नुपर्छ भन्छन्,’ उनले भने, ‘थोरै जग्गा भएकाले बनाउन पुग्दैन भनेर जान्छन् ।’


बाल सेवा मावि झोछें र न्युरोडको निर्मल विद्यापीठ आधारभूत विद्यालयले पनि भवन बनाउन सकेका छैनन् । विद्यालय गुठी संस्थानको जग्गामा छन् । जोखिमपूर्ण भवनको पहिलो र दोस्रो तलामा कम्प्युटर ल्याब, शिशु कक्षा, शिक्षकका लागि बस्ने कोठा, अकाउन्ट कक्षा छन् भने तेस्रो तला बन्द छ । पुनर्निर्माण गरी जसोतसो चलाइए पनि तेस्रो तला बनाउन नसकिएको शिक्षक दीपक दाहालले बताए ।


निर्मल विद्यापीठको पहिलो तला संस्थानले व्यापारीहरूलाई दिएको छ । दोस्रो तलामा मात्र पढाइ हुन्छ । विद्यालयमा दिउँसो काम गर्नेहरूका र फुटपाथ व्यापारीका छोराछोरी पढ्ने गरेको एक शिक्षकले बताए । कम विद्यार्थी भएका विद्यालय गाभ्ने प्रक्रिया चलिरहेकाले उनले विद्यार्थी संख्या नलेख्न आग्रह गरे ।


यी विद्यालयजस्तै काठमाडौंका १८ वटा विद्यालय जग्गा अभावका कारण पुनर्निर्माण हुन सकेका छैनन् । कुनैको आफ्नै लालपूर्जा छैन, कुनैसँग पर्याप्त जग्गा छैनन् । अन्य संस्थाको नाममा हुँदा अनुमति नदिने जस्ता समस्याले भवन बन्न नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ । काठमाडौंका २ सय ८१ वटा सामुदायिक विद्यालयमध्ये २ सय ३२ वटामा भूकम्पबाट क्षति पुगेको थियो । हालसम्म १ सय ४ वटाको पुनर्निर्माण सकिएको इकाइका इन्जिनियर सागर पौडेलले बताए ।

प्रकाशित : चैत्र २, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?