हराउँदै नेवार संस्कृति

पूरै राग गाउन छाडिएको छ । पाटन दरबारमा फूलपाती भित्र्याउँदा देखाइने नाच लोप भइसक्यो । मत्स्येन्द्रबहाल डबलीमा देखाइने कामसिंह राजाको नृत्य पनि देख्न पाइँदैन । 
प्रशान्त माली

(ललितपुर) — सम्यक् महादान पर्व परम्पराअनुसार प्रत्येक वर्ष आयोजना गर्नुपर्ने हो । तर, हिरण्य वर्ण महाविहारले गुठीको आम्दानी कम भएको भन्दै हरेक पाँच वर्षमा मात्र पर्वको आयोजना गर्दै आएको छ । ललितपुरको पाटनस्थित नागबहालमा हालै यो पर्व सकियो ।

हराउँदै नेवार संस्कृति

खोकना तोरीको तेलका लागि प्रसिद्ध ठाउँ हो । यहाँ तेल राख्ने छालाको भाडा, हुक्का तान्ने बाँसको साधन, धागो बेर्ने यन्त्र फेलु, काठको ठेकी (सिध:प) लोप भइसकेका छन् । नगरा र पछिमा बजाउने चलन पनि बन्द भइसकेको छ । भर्खरै सम्पन्न महोत्सवमा लोप भइसकेका यस्तै सामग्री र संस्कृतिलाई देखाउने प्रयास गरिएको थियो ।

एक महिना नचाउनुपर्ने लोकप्रसिद्ध कात्तिक नाच १२ दिन मात्रै नचाइन्छ । सिद्धिनरसिंह मल्लले राष्ट्र र जनताको कल्याणार्थ नेपाल सम्वत् ७६१ मा सुरु गरेको नाच आर्थिक अभावले जेनतेन सञ्चालनमा छ ।

लोपोन्मुख बन्दै गएका ऐतिहासिक महत्वका जात्रापर्व खोज्दै जाने हो भने लामो सूची बन्न सक्छ । कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्य अनुसार पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा नाच देखाइसकेपछि बुङमतीस्थित मत्स्येन्द्रबहाल डबलीमा कामसिंह राजाको नृत्य प्रस्तुत गरिथ्यो । अहिले यो पनि बन्द छ । ठेचोका दाफा खलकहरू ऋतुअनुसार बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर पुगेर भजन आउने चलन पनि रोकियो । माधवनारायण पर्व र दाफा भजन गाएर स्वयम्भूमा जाने चलन भने जेनतेन चलिरहेको छ ।


स्थानीय तहको चुनावअघि उम्मेदवारहरूले जात्रापर्वहरूको संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका थिए । चुनावी नारा र घोषणापत्र पनि यी विषय समेटिए । ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी पम्फा भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने चुनावी नारा अघि सारेकी थिइन् । चुनावी घोषणापत्रमै ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने उल्लेख थियो । सुनाकाठीमा आयोजित चुनावी घरदैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भुसाललाई जिताएमा सांस्कृतिक राजधानी बनाएरै छाड्ने घोषणासमेत गरेका थिए । भुसालले चुनाव जितिन् पनि । स्थानीय तह, प्रदेश र संघीयस्तरका जनप्रतिनिधिले अहिले यस्ता मुद्दा बिर्सिइसकेका छन् । ‘सांस्कृतिक राजधानी बनाउने अवधारणा छ,’ भुसाल भन्छिन्, ‘प्रस्तुत गर्न सकिएको छैन ।’ युरोप अमेरिकामा जस्तै ललितपुरलाई सांस्कृतिक राजधानी बनाउन सकिने आफ्नो इच्छा रहेको उनको भनाइ छ ।


कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यका अनुसार ज्येष्ठ पूर्णिमामा दरबारमा गाइने ३२ राग पनि पूरा गाउन छाडिएको छ । दसैंमा गोरखा दरबारबाट फूलपाती पाटन दरबारमा भित्र्याउँदा देखाइने नाच पनि अहिले देखाइन्न । ‘ललितपुर महानगरपालिकाले नाचका लागि दुई लाख दिने गरेको छ तर एक महिना नाच चलाउन १० लाखभन्दा बढी चाहिन्छ,’ उनले भने । मेयर चिरीबाबु महर्जनले नाच जर्गेना गर्न १० करोड रूपैयाँको कोष स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा नभएको उनले गुनासो गरे ।


मूर्त तथा अमूर्त सम्पदा संरक्षणका लागि गोदावरी नगरपालिको १० लाख बजेट छुट्याएको छ । मेयर गजेन्द्र महर्जनले ठेचो, चापागाउँ, ठैबलाई सम्पदा बस्ती घोषणा गर्ने योजनामा रहेको बताए । ‘नगरको सांस्कृतिक सम्पदाकाबारे पाठ्यक्रममा समावेश गर्दै छौं,’ उनले भने, ‘प्रत्येक जात्रापर्व सञ्चालन गर्न बजेटको व्यवस्था गरेका छौं ।’ युनेस्कोले जात्रा, नाच, पाटी, अन्य सम्पदालाई मापदण्ड हेरेर विश्व सम्पदामा सूचीकृत गर्छ । संविधानको अनुसूची–८ मा स्थानीय तहको अधिकारको सूचीमा भाषा, संस्कृति, ललितकलाको संरक्षण र विकास शीर्षकमा नीतिनियम बनाउन सक्ने प्रावधान छ । तर, कुनै पनि निकायले बनाएका छैनन् ।


महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले नीति तर्जुमा गर्न लुभू र सानोगाउँका संस्कृतिसँग सम्बन्धित गुठीयारसँग छलफलको तयारीका रहेको बताए । ‘सबैलाई समेटेर एउटा मूल समिति बनाउने तयारीमा जुटेका छौं,’ उनले भने । जिल्लामा सबभन्दा पुरानाको लिच्छवीकालिन संस्कृति पाटन दरबार क्षेत्रसँग सम्बन्धित छ । लिच्छवीकालीन मनमानेश्वरी देवी पूजाविधि पर्व, ल्याकु पायो (दरबारबाट निस्कने खड्ग जात्रा), पाटन नकबहिलको अष्टमात्रिका नाच, ठेचोको नवदुर्गा नाच र हवन पर्व मुख्य हुन् । हवन पर्व र ल्याकु पायो बन्द भएको दुई दशकभन्दा बढी भइसक्यो । हवन पर्वमा दरबारको दसैंघरमा राखिएको जमरा जता ढल्कियो त्यतै अष्टमात्रिका, नवदुर्गा र ल्याकु पायोलाई एकैपटक नगर परिक्रमा गरिन्छ । यस्तो चलन उपत्यकाका अन्य ठाउँमा हुने जात्रापर्वमा छैन ।


हनुमान ढोका दरवार क्षेत्रसँग सम्बन्धित जात्रापर्व पनि क्रमश: बन्द हुदै गएका छन् । इन्द्रजात्राको बेला बसन्तपुर दरबार क्षेत्रमा मत्स्य, कश्यप, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की दस अवतारको नृत्य गर्ने चलन थियो । यसवर्ष प्रदर्शन भएन ।


इतिहासविद् प्राध्यापक त्रिरत्न मानन्धरले जात्रापर्व संरक्षण गर्न अक्षयकोष खडा गर्नुपर्ने बताए । ‘यसप्रति सरकारको ध्यान जान सकेको छैन,’ उनले भने ।


काठमाडौं महानगर संस्कृति सम्पदा पर्यटन विभाग प्रमुख रामबहादुर थापाले महानगरले संस्कृति संरक्षण प्रवर्द्धन गर्न छुट्टै निनी बनाइसकेको बताए । ‘जात्रापर्व गुठी संस्थानअर्न्तगत सञ्चालन हुन्छ,’ उनले भने, ‘गुठीको अधिकार क्षेत्र हस्तान्तरण भइनसकेकाले कार्यान्वयमा कठिनाइ भइरहेको छ ।’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले जात्रापर्व संरक्षण गर्न एजेन्डामा छलफल गरेर अगाडि बढ्न तयार रहेको बताए ।

प्रकाशित : फाल्गुन २५, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?