कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन सुस्तायो पशुपतिको विकास ?

सरकारले कोषका लागि विनियोजन गरेको ३५ करोड बजेट माघसम्म पनि खर्च हुन सकेन
दामोदर न्यौपाने

काठमाडौं — ‘पशुपतिलाई हिन्दुहरूको अन्तर्राष्ट्रिय तीर्थस्थलको रूपमा विकास गर्न’ पाँच वर्षअघि घोषणा भएको पशुपति राष्ट्रिय गौरवको आयोजनाले गति लिन सकेको छैन । तीन वर्षअघि पूरा गर्ने गरी वर्ष २०७१ बाट यो आयोजना सुरु भएको थियो । आयोजनाका लागि छुट्याएको रकमसमेत खर्च गर्न नसकेको अर्थ मन्त्रालयले जनाएको छ । 

किन सुस्तायो पशुपतिको विकास ?

‘यो आयोजना वर्ष ०५७/५८ मा सुरु भई ०७३/७४ मा सम्पन्न गर्ने लक्ष्य थियो,’ अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘यस वर्ष कोषका लागि ३५ करोड बजेट विनियोजन गरिएकोमा समीक्षा अवधिमा बजेट खर्च हुन सकेको छैन ।’ आयोजनाको सुरुको अनुमानित लागत ३ अर्ब ८९ करोड रुपैयाँ थियो । आयोजना लागू भएयता सरकारले १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको कोषले जनाएको छ । विनियोजित रकममध्ये ५७ प्रतिशत मात्र खर्च भएको छ । कोषले भने पशुपतिको राष्ट्रिय गौरवको आयोजनाको समयावधि नै हचुवाको भरमा तोकेको भन्दै आपत्ति जनाएको छ । ‘पशुपतिको काममा अन्य निर्माण क्षेत्रको जस्तो परिणाम देखिँदैन,’ कोषका आर्थिक प्रशासन महाशाखा प्रमुख प्रेमहरि ढुंगानाले भने, ‘एयरपोर्ट र सडक बनाएजस्तो भौतिक प्रगति देखिँदैन । विविध समस्याले राष्ट्रिय गौरवका आयोजनाका काम सुस्त देखिएका हुन् ।’ ०७१ मा तत्कालीन अर्थमन्त्री शंकर कोइरालाले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेका थिए ।


पुरातात्त्विक सम्पदा संरक्षण संवर्द्धन, दर्शनार्थी तीर्थयात्रीका लागि भौतिक पूर्वाधार विकास, विद्युतीय शवदाह गृह सञ्चालन तथा वातावरण सुधार, बृहत् गुरुयोजना तयार गर्नेजस्ता चार वटा कार्यक्षेत्र तोकेर आयोजना सुरु भएको थियो । कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार प्राविधिक जनशक्तिको अभाव, निर्माण व्यवसायीले प्रतिस्पर्धा गर्ने क्रममा न्यून दररेट हाल्ने, गुणस्तरीय एवं समयमै कार्य सम्पन्न गर्न इच्छाशक्ति नराख्ने, एउटा काम सम्पन्न नहुँदै अर्को कामका लागि बोलपत्रमा सहभागी हुन पाउने कानुनी व्यवस्था भएकाले काम अधुरो रहेको हो । सम्पदा क्षेत्रमा भौतिकभन्दा पनि अमूर्त सांस्कृतिक पक्षलाई जोड दिएर बजेट छुट्याउनुपर्ने उनको भनाइ छ । ‘प्रगति नाप्ने स्पष्ट मापदण्ड छैन,’ ढुंगानाले भने, ‘पशुपति क्षेत्रमा लाखबत्ती बाल्न कति आए ? भक्तजनले कति सुविधा पाए ? शिवरात्रि मेला कसरी व्यवस्थित भए, कति भक्तजन आए र त्यसले पर्यटनमा कति योगदान गर्‍यो भन्ने मापदण्ड बनाउनुपर्छ ।’


राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत वनकाली बगैंचामा फुटपाथसहित फेन्सिङ निर्माण, पशुपति परिपथ, गौशाला, वनकाली चार शिवालय ढल बाटो निर्माण, मृगवाटिका मर्मत, गुह्येश्वरी मन्दिर प्रांगणको धर्मशाला जीर्णोद्धार, वेदविद्या श्रमकको छात्रावास भवन मर्मतसम्भार जस्ता काम भएका छन् ।


कोषले गत आर्थिक वर्षमा कपाली समाज समाधिस्थल संरक्षण कार्य, देउउद्यान प्रांगण संरक्षण कार्य, पञ्चदेवल–भष्मेश्वर खण्डमा आकाशेपानीको निकास, इटापाखामा प्रस्तर छाप्ने कार्य, जितजंग प्रकाशेश्वर मन्दिर प्रांगण संरक्षण लगायतको काम गरेको छ । सीमांकन पर्खाल निर्माण, गोठाटारको जग्गामा पुनर्स्थापनाका लागि पूर्वाधार विकास, गुरुदक्षिणामूर्ति मार्ग, तिलगंगा–ताम्रगंगा सडक बन्द गर्ने कार्य, पञ्चदेवल उत्तर प्रांगण र धाःबाजा भजन घर संरक्षण, सार्वजनिक शौचालय निर्माण, पशुपतिको जलहरी स्वर्णमय बनाउने कार्य, सूर्यघाट क्षेत्र संरक्षण कार्यलगायत काम सम्पन्न गरेको कोषले जनाएको छ । २०७५/७६ का लागि सरकारले ३४ करोड ६८ लाख रुपैयाँ सरकारले विनियोजन गरेको थियो । विद्युतीय शवदाह गृहको क्षमता बढाउने, पशुपति भान्साघर निर्माण, जितजंग प्रकाशेश्वर मन्दिर प्रांगण संरक्षण कार्य, गौशला भुवनेश्वरी दर्शन मार्ग स्तरोन्नतिजस्ता काम गर्ने योजना रहेको कोषका योजना महाशाखा प्रमुख भरत मरासिनीले जनाए ।


सरकारले स्वीकृत गरेको ३५ करोडबाट वनकाली धर्मशालाका लागि २ करोड ५० लाख रुपैयाँ, गोठाटार जग्गाामा पूर्वाधार विकास तथा सीमांकनका लागि २ करोड, गोश्ला भुवनेश्वरी दर्शन मार्ग स्तरोन्नतिका लागि ५ करोड, आर्यघाट–गुह्येश्वरी–गुह्येश्वरी–गौरीघाट दर्शनमार्ग स्तरोन्नतिलाई १ करोड ७५ लाख, सूर्यघाट क्षेत्र संरक्षण कार्यलाई २ करोड, जयबागेश्वरी सुन्धारा संरक्षण तथा वातावरण सुधारलाई २ लाख ५० हजार, सार्वजनिक शौचालय निर्माण तथा स्तरीकरणलाई ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।


मर्मत, रंगरोगनका लागि ७५ लाख, वनकाली प्रहरी कार्यालयबीचमा सीमांकनका लागि १ करोड, कैलाश उमाकुण्ड घेरापर्खाल तथा हरियाली प्रवर्द्धनका लागि १ करोड ५० लाख रुपैयाँ, विद्युतीय शवदाह गृह क्षमता विस्तारका लागि ३ करोड रुपैयाँ, मृगस्थलीमा भूक्षय नियन्त्रणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको कोषले जनाएको छ । बृहद् गुरुयोजना तयार गर्न २ करोड ५० लाख, पशुपति भान्साघर पुनर्निर्माणका लागि ३ करोड ५० लाख, जितजंग प्रकाशेश्वर मन्दिर प्रांगण संरक्षणका लागि २ करोड, दाफा भजन घर संरक्षणलाई १ करोड ५० लाख, विभिन्न मन्दिरमा गजुर राख्न २५ लाख, ब्रह्माको मन्दिर जीर्णोद्धार गर्न ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?