२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नदीको बहावभित्रै सुकुम्बासी बस्ती

दामोदर न्यौपाने

काठमाडौँ — वाग्मती नदी किनाराको सिनामंगल र थापाथलीको सुकुम्बासी बस्ती व्यवस्थापन नगर्दा नदीको बहाव क्षेत्रमा काम गर्न समस्या भएको छ । खोला किनारामै बस्ती बसेपछि बहाव क्षेत्र कायम गरी पर्खाल लगाउन सकिएको छैन । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले सुकुम्बासी बस्ती नै यो वहाव क्षेत्रभित्र रहेको बताए । उनले भने, ‘कति त घाटै बस्तीभित्र परेका छन् ।

त्यसलाई क्लियर गरेर बहाव क्षेत्र कायम गराउनुपर्नेछ ।’ ०६४ मा मन्त्रिपरिषद्को निर्णयअनुसार सुन्दरीजलदेखि गोकर्णसम्म वाग्मतीको बहाव २० मिटर, गोकर्णबाट जोरपाटीसम्म ३५ मिटर, जोरपाटीबाट गुहेश्वरीसम्म ४० मिटर, तिलगंगाबाट शंखमूल ३० मिटर, शंखमूलदेखि टेकु दोभानसम्म ६० मिटर र त्यहाँदेखि तल ८० मिटर बहाव क्षेत्र तोकेको थियो । ‘बस्तीले गर्दा काम अघि बढाउनै सकिएको छैन,’ अर्यालले भने ।


समितिले सुन्दरीजलदेखि चोभारको कटुवाल दहसम्म ढलमुक्त बनाउने, बहाव क्षेत्र कायम राख्ने, यस क्षेत्रको पुरातात्त्विक क्षेत्रको संरक्षण गर्ने गरी काम गरिरहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा ‘वाग्मती ब्युटिफिकेसन’ को काम भइरहेको छ । वाग्मतीको दाँया–बायाँ करिडोर बनाउने, बीचमा बगैँचा बनाएर सौन्दर्यकरणको कामसमेत भइरहेको छ । गुहेश्वरीदेखि गोकर्णसम्म वाग्मती नदीको दुवै किनारमा तटबन्ध निर्माण गरी हरियाली क्षेत्र र सडक निर्माण गर्ने काम भइरहेको छ । गोकर्णदेखि गुहेश्वरीसम्म सौन्दर्यकरणको काम भइरहेको छ । मुआब्जाको विवादले ६ महिनादेखि रोकिएको सौन्दर्यकरणको काम अघि बढेको हो । ‘सरकारले मुआब्जा दिने भनेको छ,’ स्थानीय छत्रानन्द वैद्यले भने, ‘संसदीय समितिले पीडितकै पक्षमा प्रतिवेदन दिएको छ । अब मुआब्जा पाइन्छ कि ?’


एसियाली विकास बैंकले अनुदान र ऋणबाट वाग्मती सौन्दर्यकरण काम भइरहेको समितिले जनाएको छ । सम्पूर्ण काम सकाउन ३६ मिलियन अमेरिकन डलर लाग्ने अनुमान छ ।


समितिले पछिल्लो समय वाग्मती ब्युटिफिकेसनको काममा सुकुम्बासी बस्तीलाई अवरोधको रूपमा लिँदै आएको छ । थापाथलीको बस्तीकै कारण काम गर्न नसकेपछि त्यसभन्दा अघिल्लो भागमा काम सुरु गरेको समितिका सूचना अधिकारी अर्यालले बताए । बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला नागार्जुन नगरपालिकको इचंगुनारायणमा सुकुम्बासी आवास बनाइए पनि कसैलाई व्यवस्थापन गर्न सकिएको छैन । सुकुम्बासी बस्ती अहिले प्रयोगविहीन छ ।


‘आवासमा किन सुकुम्बासी सार्न सकिएन भन्नेबारे अध्ययन गरिरहेका छौं,’ अर्यालले भने । महिनाभित्र अध्ययन सकिने उनले बताए । ०६८ देखि नदी किनारबाट सुकुम्बासी हटाउने खोजिए पनि सकिएको छैन । काठमाडौं उपत्यका विकास प्राधिकरणले १४ करोड रुपैयाँ खर्च गरेर तीनवटा अपार्टमेन्टमा २ सय २३ वटा फ्लाट निर्माण गरिएका छन् । आवास क्षेत्र चक्रपथबाट २ किलोमिटर दूरीमा छ । आठ रोपनी क्षेत्रफलमा उक्त आवास क्षेत्र बनेको छ । एक परिवारका लागि एउटा भान्साकोठासहित दुईवटा कोठा हुने गरी बनाइएको छ ।


वाग्मतीमा दायाँ–बायाँ सडक निर्माण, ढल बिछ्याउने, बगैँचा बनाउने, ट्रिटमेन्ट प्लान्ट राख्नेलगायत ८ वटा प्याकेज बनाएर काम भइरहेको छ । ३१ किमि ढल ओछ्याउने काम भएको अर्यालले जनाए । गुहेश्वरीमा ढल प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ समेत बनिसकेको छ । यस्ता प्लान्ट तीन ठाउँमा बनाउने योजना छ । थापाथलीको टुकुचा दोभान, धोबीघाट, हनुमन्तेको ढल प्रशोधन, सल्लाघारी र चोभारमा गरी चार ठाउँमा प्लान्ट बनाउने योजना रहेको उनले बताए ।

प्रकाशित : फाल्गुन २१, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?