१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यतिसम्बद्ध शेर्पा लागूऔषध मुद्दामा थुनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नेपाल ट्रस्टको जग्गा भाडा प्रकरणमा मुछिएको यति होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पासहित चार जनालाई लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार र बिहीबारको थुनछेक बहसपछि शेर्पा, राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङलाई थुनामा राख्न आदेश दिएको हो । महाननगरीय प्रहरी वृत्त स्वयम्भूले गत माघ १८ मा उनीहरूलाई भुइँखेलस्थित एक घरमा डेरा गरी बस्ने ओमको कोठाबाट खैरो हेरोइन एक सय मिलिग्राम, लागूऔषधका निम्ति प्रयोग गरिने मनोद्वीपक औषधि नाइट्रोजन १० ट्याब्लेट, डाइजेपाम ६ ट्याब्लेट, फेनारगन ३९ ट्याब्लेट, ब्रुपेनोर्फिन दुई ट्याब्लेट र सिरिन्ज १२ थानसहित पक्राउ गरेको थियो ।


डीएसपी लालध्वज सुवेदीका अनुसार चारै जना लागूऔषध सेवन गरिरहेको अवस्थामा समातिएका थिए । उनले नवाङ यति होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङका छोरा रहेछन् भन्ने कुरा सरकारी वकिलको कार्यालयमा मुद्दाका फाइल बुझाएपछि मिडियामा आएको सूचनाबाट थाहा भएको बताए । ‘हिजोबाट थुनछेक बहस सुरु भएपछि सबैले फोन गरेर सोध्दा पो थाहा भयो, यो मुद्दामा धेरैको चासो रहेछ,’ उनले भने ।


स्वयम्भू वृत्तका अनुसार नवाङसँगै पक्राउ परेका अन्यलाई उनले नाइट क्लब जाँदा भेटेर साथी बनाएको बुझिएको छ । मुद्दाको अनुसन्धानमा संलग्न एक प्रहरीले उनीहरू नियमित सेवनकर्ता भएको र ओमबहादुरको श्रीमती नभएको मौकामा उक्त कोठामा गएको बताए ।


प्रहरीका अन्य इकाईले सामान्यत: लागूऔषध सेवनकर्ता वा कारोबारी पक्राउ गरेमा त्यसबारेको सूचना प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोलाई दिने गर्छन् तर नवाङ पक्राउको सूचना भने आफूहरूले नपाएको ब्युरोका एसएसपी वसन्त लामाले बताए । उनले भने, ‘पक्राउका सबै सूचना दिनैपर्छ भन्ने छैन, कहिलेकाहीं सिधै अपराध अनुसन्धान विभागमा पनि पठाउने गर्छन् । यो केसमा पनि त्यस्तै भएको हुन सक्छ ।’


त्यसो त प्रहरी परिसर काठमाडौंअन्तर्गत रहेका वृत्तले गरेका काम कारबाहीका सूचना दैनिक रूपमा प्रहरी परिसर टेकुमा पनि दिने गर्दछन् । परिसरका डीएसपी होबिन्द्र बोगटीले नवाङ पक्राउबारे आफूलाई जानकारी नभएको भन्दै वृत्तमै सम्पर्क गर्न सुझाए । सत्तासीन दलसँग निकट सम्बन्ध बनाएको व्यापारिक घरानासँग जोडिएका व्यक्ति पक्राउको सूचना प्रहरीले गुपचुप राख्न खोजेको देखिन्छ ।


प्रकाशित : फाल्गुन १६, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?