साँझ परेपछि फार्मेसी बन्द

सरकारी अस्पतालको फार्मेसीमा बजार मूल्य भन्दा १५० प्रतिशतसम्म सस्तोमा औषधि पाइन्छ तर न्यून आय भएका बिरामी पुग्ने वीर, टिचिङलगायत अन्य अस्पतालका फार्मेसी २४ सै घण्टा नखुल्दा महँगोमा औषधि किन्नुपर्ने बाध्यता छ
फातिमा बानु

काठमाडौँ — महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहानै ६ वर्षीया रिना तामाङको हातको शल्यक्रिया गर्ने तयारी थियो । शल्यक्रिया गर्न चिकित्सकले पाँचथरी औषधि लेखिदिए । आमा रञ्जिता तामाङ हतारिँदै अस्पतालको फार्मेसीतर्फ लागिन् ।

‘दिउँसो औषधि किन्ने गरेको अस्पतालभित्रको फार्मेसी बिहान बन्द रैछ,’ उनले भनिन्, ‘छोरीलाई एक्लै छोडेर गेटबाहिरको फार्मेसीबाट औषधि किनेँ ।’ आइतबार बिहान मात्रै उनले ५ हजार रुपैयाँको औषधि किनिन् । उनले जुन औषधि किनिन्, त्यही औषधि अस्पतालको फार्मेसीमा किनेको भए आधा मूल्यमा पाइन्थ्यो ।


तर, अस्पतालको फार्मेसी कार्यालय समय सकिनेबित्तिकै बन्द हुन्छ । अनि बिरामीका आफन्त चिकित्सकले लेखेको प्रेस्किप्सनको चिर्कटो लिएर निजी फार्मेसीतिर धाउँछन् । ‘छोरीलाई एक महिनाअघिदेखि भर्ना गरेको छ,’ उनले भनिन्, ‘अस्पतालको फार्मेसीमा औषधि पाइहाले पनि डाक्टरले लेखेको जति सबै नपाउने रैछ । धेरैजसो औषधि बाहिर नै किन्छौं ।’


साँझ परेपछि औषधि नपाएका अर्का बिरामी हुन कैलालीका मानसिंह कठायत । एक साताअघि शरीरको आधा भाग नचल्ने भएपछि उनलाई वीर अस्पतालको आकस्मिक कक्ष ल्याइयो । चिकित्सकले आकस्मिक शल्यक्रिया गर्नुपर्ने भन्दै शल्यक्रिया गर्ने सामान र औषिध लेखे । श्रीमती टेक्सरा कठायत साँझ सात बजे वीरको फार्मेसी पुग्दा बन्द भइसकेको थियो । कठायतको स्वास्थ्य बिमा थियो । बिमाको सर्त र नियमअनुसार उनले फार्मेसीबाट एक लाखसम्मको औषधि निःशुल्क पाउनुपर्ने हो । अस्पतालको फार्मेसी नखुल्दा उनले निःशुल्क पाउनुपर्ने औषधि किन्नुपरेको गुनासो गरे । १० हजार रुपैयाँको औषधि उनले वीर अस्पतालबाहिरको निजी फार्मेसीबाट किनेको बताए । ‘साँझ परेपछि हामी बाहिर नै औषधि किन्छौं,’ उनले भनिन्, ‘बाहिर निजी फार्मेसीबाट किनेको औषधिको खर्च बिमाबाट समेत पाइँदैन ।’


बिरामीले गुणस्तरीय र सस्तो औषधि पाऊन् भन्ने उद्देश्यले २४ घण्टा खुल्नेगरी अस्पतालमा फार्मेसी सञ्चालन गर्नुपर्ने नियम छ । फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार सरकारी, निजी र शिक्षण अस्पतालको आफ्नै फार्मेसी हुनुपर्छ । नियमअनुसार सरकारी अस्पतालले आफ्नै फार्मेसी खोल्नुपर्ने भन्दै पाँच वर्षअघि ३० लाखसम्मको बजेट (बिउ पुँजी) समेत दिएको थियो । सरकारले लगानी गरेर फार्मेसी खुले पनि २४ सै घण्टा भने खुल्दैन । नियमअनुसार फार्मेसी नचल्दा बिरामीका आफन्तले सरकारी अस्पतालको फार्मेसीको मूल्यभन्दा दोब्बरभन्दा बढी तिरेर निजी फार्मेसीबाट औषधि किन्ने गरेका छन् ।


अस्पतालको आफ्नै फार्मेसी भए बिरामीले बजार मूल्यभन्दा १५० प्रतिशतसम्म सस्तोमा औषधि पाउँछन् । वीर अस्पतालको फार्मेसी इन्चार्ज श्याम मण्डलले भने, ‘सरकारी अस्पतालको फार्मेसीभित्र तोकिएको मूल्यभन्दा १५० प्रतिशतसम्म सस्तोमा औषधि किन्न पाइन्छ ।’ तर राजधानीका वीर, प्रसूति गृह, सरुवारोग अस्पताल, टिचिङलगायत सबै सरकारी अस्पतालका आफ्नै फार्मेसी भए पनि फार्मेसी २४ घण्टा खुल्दैनन् ।


फार्मेसी नखुलेकै कारण सास्ती खेप्ने अर्की पात्र हुन्– अर्घाखाँचीकी ३८ वर्षीया गीता पोखरेल । उनी खुट्टाको नसा च्यापिएर शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना छिन् । शनिबार ८ बजे चिकित्सकले ‘इन्जेक्सन’ किनेर ल्याउन भने । कुर्न बसेका उनका श्रीमान् भुइँतलाको फार्मेसीमा पुगे । ‘फार्मेसी बन्द थियो,’ उनले भने, ‘औषधि किन्न गेटबाहिरको पसलमा पुगेँ ।’ चिकित्सकले बिहान बेलुकाको राउन्ड आउँदा मात्रै औषधि लेख्ने तर त्यही समयमा अस्पतालको फार्मेसी खुला नहुने उनले बताए । एक साताको अस्पताल बसाइमा विरलै मात्र अस्पताल फार्मेसीबाट सस्तो मूल्यमा औषधि किन्न पाएको उनले गुनासो गरे । ‘अस्पतालको बेड खर्च सस्तो लाग्यो,’ उनले भने, ‘खर्च औषधिमै बढी हुँदो रहेछ, यहीको

फार्मेसीमा औषधि पाउने हो भने कम खर्चमा उपचार गर्न सकिन्थ्यो ।’


शिक्षण अस्पतालको आफ्नै २ वटा आफ्नै फार्मेसी छन् । एउटा फार्मेसी २४ घण्टा खुल्छ तर, हाडजोर्नी विभागको भुइँतलामा रहेको फार्मेसी बिहान ८ देखि बेलुका चार बजेसम्म मात्रै खुल्छ । कान, घाँटी, छाला, हाडजोर्नी र बालरोग विभागका लागि लक्षित यो फार्मेसी चार बजेपछि बन्द हुँदा बिरामीले महँगो शुल्क तिरेर बाहिरबाट औषधि किन्ने गरेका छन् । वीर अस्पतालमा एउटा मात्रै फार्मेसी छ । २४ घण्टा खुल्दैन, १२ घण्टा मात्रै खुल्छ । जनशक्ति अभावका कारण २४ घण्टा खोल्न नसकिएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए ।


पाटन मानसिक अस्पताल र त्रिपुरेश्वरस्थित आँखा अस्पतालका फार्मेसी पनि २४ घण्टा खुल्दैनन् । २४ घण्टा फार्मेसी खोल्नुपर्ने आवश्यकता नभएको मानसिक अस्पतालका सूचना अधिकारी डा. वासुदेव कार्कीले बताए । ‘आकस्मिक सेवाको लागि मात्र २४ घण्टा फार्मेसी खोल्नुपर्ने हो,’ उनले भने, ‘राति बिरामीलाई चाहिने औषधि हामी वार्डमै पुर्‍याउँछौं, कुरुवाले फार्मेसीसम्म आएर औषधि किन्नै पर्दैन ।’ आँखा अस्पतालका राति पुग्ने बिरामीले निजी फार्मेसीबाटै औषधि किन्छन् । भर्ना भएका बिरामीलाई अस्पतालले वार्डमै औषधि दिने भएकाले २४ घण्टा फार्मेसी नखोलिएको अधिकृत केदार कार्कीले बताए ।


स्वास्थ्य मन्त्रालयका औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीले अस्पतालले २४ सै घण्टा फार्मेसी खोलेर सेवा दिनुपर्ने बताए । ‘जनशक्तिको अभावको कारण दिन नसकेको हुन सक्छ । करारमा जनशक्ति थपेर भएपनि फार्मेसी सेवा दिनुपर्छ,’ उनले भने, ‘जनशक्ति व्यवस्थापन गर्न बजेट छैन भने भर्ना भएका बिरामीलाई वार्डमै औषधि पुर्‍याउने व्यवस्था गर्नुपर्छ ।’


फार्मेसी राख्न निजीको अटेरी

अस्पतालले ठेक्काको फार्मेसी हटाएर आफ्नै फार्मेसी राख्नुपर्ने नियम भए पनि यो व्यवहारमा लागू छैन । फार्मेसी सेवा निर्देशिका २०७२ ले सरकारी, निजी र शिक्षण अस्पताल अनिवार्य रूपमा आफ्नै फार्मेसी खोल्नुपर्ने भने तापनि निजीले अटेरी गरिरहेका छन् । अधिकांश सरकारी र शिक्षण अस्पतालले भने आफ्नै फार्मेसी खोलिसकेका छन् । राजधानीमा नाम चलेका ओम, अल्का, ब्लुक्रसलगायत धेरै अस्पतालले आफ्नै फार्मेसी नखोली ठेक्काको फार्मेसीबाट औषधि बेचिरहेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालले भने आधा आफ्नो र आधा सञ्चालकको लगानीमा फार्मेसी चलाइरहेको छ ।


निर्देशिका बनेको पाँच वर्ष बितिसक्दा पनि हालसम्म कुनै सरकारी या निजी अस्पतालले मन्त्रालयमा प्रतिवेदन बुझाएको रेकर्ड छैन । अस्पतालमा फार्मेसी किन खोलिएन ? अनुगमन गरि कसैलाई कडाइ या कारबाही पनि गरेको रेकर्ड छैन । निर्देशिकाअनुसार आफ्नै फार्मेसी खोलेर अस्पतालमा आउने कुल बिरामी संख्याको १० प्रतिशत गरिब बिरामीलाई निःशुल्क औषधि दिनुपर्ने भनिए तापनि यो लागू छैन । आफ्नै फार्मेसी हुनुपर्ने नियमलाई नमानिएको अल्का अस्पताल सञ्चालक कुमार थापाले स्विकारे ।


जनशक्ति व्यवस्थापनमा कठिनाइ भएकाले आफ्नै फार्मेसी चलाउन सम्भव नभएको उनको तर्क छ । जनशक्ति र व्यवस्थापन गर्न अप्ठेरो भएकै कारण फार्मेसी नराखिएको चाबहिलस्थित ओम अस्पताल प्रशासनको जवाफ छ । बिरामीलाई सस्तो गुणस्तरीय औषधि उपलब्ध गराउन निजी र सरकारी अस्पतालले आफ्नै फार्मेसी राख्नैपर्ने मन्त्रालयको गुणस्तर नियन्त्रण महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले बताए । उनले भने, ‘निजीको आफ्नै फार्मेस भए/नभएकोबारे हामीलाई जानकारी छैन । फार्मेसी नराख्नेको नवीकरण गर्दैनौं ।’ प्रकाशित : फाल्गुन १३, २०७६ ०८:३६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

यात्रुवाहक र मालवाहकलाई बायाँ लेन

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरिय ट्राफिक प्रहरी महाशाखाले सूर्यविनायक–जडिबुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारीले बायाँ लेनबाट मात्रै गुडाउनुपर्ने नियम बनाएको छ । निजी तथा साना सवारीसाधनलाई भने दायाँ लेनबाट मात्र चल्न पाउने नियम ल्याएको हो । यो नियम बुधबारदेखि लागू गरिने महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताए । 

पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज र प्रभावकारी बनाउन महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले उक्त सडकखण्ड अनुगमन गरी ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन दायाँ र बायाँ लेनको व्यवस्था गर्दा दुर्घटना न्यूनीकरणमा सुधार हुन सक्ने सुझाव दिएका थिए । यात्रुबाहक बायाँ लेनबाट र द्रुत गतिमा हिँड्ने दायाँ लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यासलाई कार्यान्वयन गर्न लागिएको उनले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०८:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×