कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

खोकनाको बेग्लै रंग 

प्रशान्त माली

ललितपुर — निधारमा तिलक, शरीरमा दौरा र जामामा ठाँटिएका खोकनाका ७४ वर्षीय पूर्णबहादुर महर्जन तमाखु तान्दै थिए । उनीसँगै थिए समवयी भगवानदास महर्जनलगायत चार गुठियार । खासमा उनीहरू रूद्रायणी जात्राका देवगणलाई विधिवत भोजन गराउने भूमिकामा थिए । खोकना पर्यटन महोत्सवको अन्तिम दिन आइतबार आदिकालीन इतिहास देखाउन खटिएका महर्जनले मुस्कुराउँदै भने, ‘हामीलाई चित्याः भनिन्छ । अहिलेको भाषामा कुक म्यान ।’ 

खोकनाको बेग्लै रंग 

महोत्सवमा देवगणको भेषमा सजिएका ५३ वर्षीय हेराबहादुर डंगोल, पद्मचन्द्र डंगोलले भने जात्रामा ‘भली’ (वेयटर) को भूमिका देखाएका थिए । उनीहरूले खोकनामा मल्लकालदेखि नै कुक र वेटरको व्यवस्था रहेको देखाउन खोजेका हुन् । यो देखेर महोत्सव अवलोकनमा आएका पर्यटक पनि चकित परे । महोत्सवलाई लक्षित गरेर कतै नर्कटको तीनखुट्टे लिंग आकृतिको गथाःमुगः (घण्टाकर्ण) ठड्याइएको थियो भने कतै पराल, छ्वालीबाट घण्टा झुन्ड्याई भयानक मुखाकृतको घण्टाकर्णको मुकुन्डो बनाइएको थियो । कतै एकापट्टि लिंग र अर्कोतर्फ योनिको चित्र राखी बनाइएको मुखाकृति । पर्यटकहरूलाई के चाहियो र ? धमाधम फोटो खिच्न व्यस्त देखिन्थे । घाम अस्ताएपछि भने घण्टाकर्णलाई स्थानीय पूर्ण डंगोलले चौबाटो पुर्‍याएर जलाए । त्यसरी कतै भूत पन्छाउने भनी चारैतर्फ परिवारका सबै सदस्य बसेर लसुन, छ्यापीका साथ समयबजी (चिउरा, पोलेको मासु, भुटेको भटमास, अदुवा र जाँडरक्सी) सहित प्रसाद ग्रहण गरेको दृश्य निकै आकर्षक देखिएको थियो ।


खोकनालाई बाहिर संसारमा चिनाउने ध्येयले गरिएको महोत्सवमा पर्यटकले बस्तीको रहनसहन, परम्परा र रीतिरिवाजलाई ‘जीवित संग्रहालय’ कै रूपमा लिए । खोकना दाफा खलः ले पोंगा बाजासहित भजन गाएर पर्यटकलाई मनोरञ्जन गराए । भूकम्पपछि बनेको नयाँ संरचनाले पुरानोपनको याद नदिलाए पनि बस्तीको गल्ली, चोक, मठमन्दिर, पाटीपौवा, ढुंगेधारा, इनार र बस्तीबीच रहेको तीनतले रूद्रायणी मन्दिरले पर्यटकलाई बढी लोभ्याएको थियो । अझ तोरीको तेल पेल्ने खोकनाको पुरानो काठे प्रविधिले धेरैजसो क्यामेराको लेन्स तान्यो ।


मुलुकमै पहिलोपटक बिजुली बत्ती बलेको घर पनि खोकनामै छ । फर्पिङ जलविद्युत् आयोजनाबाट ल्याइएको बिजुली बालिएको घर अहिले संग्रहालय बनेको छ । संग्राहलयका हरिभजन डंगोल पाहुनालाई खोकनाको कला देखाउन ढाका टोपी, दाउरा सुरुवालमा ठाँटिएका थिए । उता रूद्रायणी मन्दिर प्राङगणमा चित्रकारले पौवा चित्रमार्फत भैरवको महत्व दर्शाइरहेका थिए । तल्लो लाछीबाट उत्तर पूर्वपट्टिको गल्लीमा प्रवेश गरेपछि पाटी भेटिन्छ । त्यहाँ परम्परागत भेषभुषामा सजिएका ज्येष्ठ नागरिकले बजाएको धाःबाजाको तालमा स्युवती नाचिरहेका थिए ।


कल्पवृक्षमा विराजमान आकर्षक बुद्ध मूर्ति, विभिन्न मुद्रामा बसेर ध्यान गरिरहेका बुद्ध, परालबाट बनाइएका जुत्ता, हात्ती, माना, बज्र, चैत्य आकर्षक थिए । भूकम्पले ध्वस्त बनेका घर पुनर्निर्माण सम्पन्न भइसकेको छैन । कतिपय पाटीपौवा तथा मठमन्दिरका देवता मूर्ति टहरामा राखिएका छन् । ती मठमन्दिरका पुजारीले विधिवत पूजा गरेको दृश्य पर्यटकले रोचक मानेर हेरे । महोत्सवमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले खोकनालाई सम्पदा बस्तीका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । सांसद पम्फा भुसालले पनि खोकनाको सांस्कृतिक सम्पदा संरक्षणमा निरन्तर साथ दिने बताइन् । वडाध्यक्ष रवीन्द्र महर्जनले महोत्सव सोचजस्तै सफल बनेको दाबी गरे ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?