कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ कक्षा पढेकालाई शिशु कक्षामा !

विद्यालयले मौसमी विद्यार्थीलाई भर्ना नगर्नाले इँटाभट्टाका बालबालिका पढाइबाट वञ्चित छन् 
लीला श्रेष्ठ

भक्तपुर — कपिलवस्तुकी ११ वर्षीया सुरेखा परियार अञ्चलपुर माविमा कक्षा ४ मा अध्ययनरत थिइन् । विद्यालयको पढाइ छोडेर सुरेखा अभिभावकसँगै तीन महिनाअघि भक्तपुरको इँटाभट्टामा आइपुगेकी छन् । उनका अभिभावक सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित एक इँटाभट्टामा काचो इँटा बोक्छन् ।

४ कक्षा पढेकालाई शिशु कक्षामा !

सुरेखा चाहिँ पानी ओसार्ने, भान्साको काम गर्ने र भाइको स्याहार गर्छिन् । सुरेखा दिनभर भाइहरू लक्ष्मण र राजीवसँगै इँटाभट्टा व्यवसायीले सञ्चालन गरेको दिवा शिशु स्याहार केन्द्रमा भुल्छिन् ।


रोल्पाका १२ वर्षीय राम घर्तीमगर प्रत्येक बिहान अभिभावकसँगै उठ्छन् । आमाबुबा इँटा पार्छन् भने, राम इँटा फर्काउने (सुकाउने) काम गर्छन् । राम दिनभर बहिनी वर्षासँगै शिशुस्याहारमा खेल्छन् । बहिनीको रेखदेख गर्छन् । कक्षा ३ मा अध्ययनरत रामलाई अभिभावकले बहिनीको रेखदेख गर्न इँटाभट्टामा ल्याएको उनी बताउँछन् । ‘नजिक स्कुल छैन, शिशुस्याहारमै खेल्छु,’ उनले भने । सुरेखा र रामको अभिभावक एउटै इँटाभट्टामा काम गर्छन् ।


नंखेलको अर्को भट्टामा आइतबार बिहान पुग्दा रोल्पाकी १३ वर्षीया पूजा परियार छाप्रामा भाँडा माझिरेकी थिइन् । गाउँमा छदा उनी चार कक्षामा पढ्थिन् । आमाले अर्कैसँग विवाह गरिन् । बुबाले छोरीसहितकी सानीआमा भित्र्याए । पूजा बिचल्लीमा परिन् । त्यसैले उनलाई छिमेकीले बच्चा हेर्न इँटाभट्टामा ल्याएका हुन् । ‘६ महिनाको ८ हजार रुपैयाँ तलब दिन्छु भनेर ल्याएको हो,’ उनले भनिन्, ‘झ्याउली (छाप्रो) मा भान्साको काम पनि गर्छु ।’ जसरी अघिल्लो भट्टामा राम र सुरेखा नजिकैको शिशु कक्षामा भए पनि जान पाउँथे तर पूजाले गाउँ छाडेपछि पढाइसमेत रोकियो ।


इँटाभट्टामा कार्यरत मजदुरले बच्चालाई हेर्न गाउँदेखि अरूको छोराछोरी ल्याउँछन् । कोहीको आफ्नै सन्तान ल्याउँछन् । ‘भाइबहिनीलाई मात्र पठाऊ, तिमी नआऊ भन्दा विद्यालय उमेरका बालबालिकामाथि अन्याय हुन्छ,’ दिवा शिशु स्याहार केन्द्रकी सहजकर्ता दिना खड्काले भनिन्, ‘भाइबहिनीलाई मात्र शिशुस्याहारमा राख्दा उनीहरू भट्टामा एक्लिन्छिन् । अभिभावकले विद्यालय उमेरका बालबालिकालाई पनि बाल शिशुस्याहारमै पठाउँछन् ।’


इँटाभट्टामा सञ्चालित शिशुस्याहार केन्द्र बालबालिकालाई बन्द गर्ने थलो मात्र भएको पाइएको सूर्यविनायक नगर उपप्रमुख जुना बस्नेतले बताइन् । नगरमा सञ्चालित इँटाभट्टाको अनुगमन गर्न आइतबार बस्नेतको नेतृत्वमा टोली गएको थियो ।


विद्यालयमा पढाउन मासिक शुल्क तिर्नुपर्ने, पोसाकसहित ५/६ हजार रुपैयाँ खर्च हुने र विद्यालयले पनि मौसमी विद्यार्थीलाई भर्ना नगर्ने समस्याका कारण इँटाभट्टाका बालबालिका पढाइबाट वञ्चित छन् । एक इँटाभट्टामा ३ सय जनासम्म मजदुरहरू हुन्छन् । मंसिरदेखि जेठसम्म काम गर्न रोल्पा, रुकुम, सल्यान, दाङ, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीलगायतका मजदुर भक्तपुरको ६२ वटा इँटाभट्टामा आउँछन् । १० इँटा उद्योग बालश्रममुक्त घोषणा भएका छन् । अधिकांश मजदुरका छोराछोरीलाई गाउँमा पढाइ छोडेर भट्टा ल्याएका हुन्छन् ।


जिल्लाको चारवटै स्थानीय तहले बालश्रममुक्त घोषणा गर्ने योजना बनाएको छ तर इँटाभट्टालगायत उद्योगमा बालबालिकाको अवस्था अध्ययन, अनुगमन नै नगरी हचुवाको भरमा अभियान थालेका छन् । संघीयता लागू भएसँगै नगरभित्र सञ्चालित उद्योगको नियमनकारी निकाय स्थानीय तह भएको छ तर नियमन, अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तहको बेवास्ताका कारण बालबालिका असुरक्षित हुनुका साथै बालश्रमिकको रूपमा कार्यरत छन् ।


इँटा उद्योगमा हुनुपर्ने आधारभूत मापदण्डअनुसार पाँच वर्षभन्दा मुनिका बालबालिकालाई दिवा शिशुस्याहार कक्षाको स्थापना गर्नुपर्ने, मजदुरका बालबालिकामध्ये विद्यालय जाने उमेर भएकालाई अनिवार्य रूपमा विद्यालय पठाउन अभिभावक, गैरसरकारी संस्था तथा शिक्षा कार्यालयसँग समन्वय हुनुपर्ने हुन्छ ।


त्यसैगरी, बालबालिका तथा कामदारलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गरिएको तथा आवश्यकताअनुसार स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने, १६ वर्ष उमेर पूरा नभएका बालबालिकालाई काममा नलाउने तथा बालबालिकालाई शिक्षा दिन व्यवसायीले अभिभावकलाई प्रेरित गर्नुपर्ने उल्लेख छ तर दिवा शिशु स्याहार कक्षाका नाममा बालबालिकालाई झ्याउली (टहरा) मा थुन्ने काम गरेको पाइएको छ ।


सूर्यविनायक नगर उपप्रमुख जुना बस्नेतको टोलीले ६ वटा इँटाभट्टाको अनुगमन गरेको छ । अनुगमनका क्रममा विशेष गरी इँटाभट्टामा बालश्रमिकको प्रयोगको अवस्था र जोखिमबारे स्थलगत अवलोकन गरिएको उनले बताइन् । अधिकांश इँटाभट्टामा विद्यालय जाने उमेर समूहका बालबालिकालाई जबरजस्ती शिशुस्याहारमा राखेको पाइएको उनले बताइन् । ‘बालबालिका असुरक्षित र जोखिमपूर्ण अवस्थामा पाइयो,’ उनले भनिन् । बालबालिकालाई अध्ययनका लागि व्यवस्थित शिशुस्याहार कक्षाको व्यवस्था गर्न नगरपालिकाले भट्टा सञ्चालकलाई सचेत गराएको छ । त्यस्तै भट्टा वरिपरिको अस्थायी कृत्रिम पोखरीलाई तारबार गरी व्यवस्थित गर्नसमेत निर्देशन दिएको छ । यस्ता पोखरीमा डुबेर बालबालिकाको ज्यान जाने गरेको छ ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?