कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिदा भए साधु

पहिलो श्रेणीकालाई ९५१, दोस्रो ७५१, तेस्रो ५५१, चौथो ३५१, पाँचौं २५१ र छैटौं १५१ रुपैयाँ प्रदान
दामोदर न्यौपाने

काठमाडौँ — भारतको गोरखनाथ अखडाका महन्थ श्रीषनाथ योगी आइतबार बिहान ११ बजे गुठी संस्थानको पशुपतिनाथस्थित गोश्वारा कार्यालय प्रमुख मिरा आचार्यको कार्यकक्ष पुगे । गुठीका कर्मचारीहरू शिवरात्रिमा आएका साधुलाई दक्षिणाको व्यवस्थामा जुटिरहेका थिए ।

बिदा भए साधु

उनी भने आफ्नो अखडाबाट आएका साधुलाई दक्षिणा बढाउनुपर्ने माग लिएर आचार्यको कार्यकक्षमा पुगेका रहेछन् ।

गुठीका कर्मचारीले रातो, पहेंलो र सेतो कार्ड झिकेर दिए । अघिल्लो वर्ष नगद दिने गरेकामा यसपालि कार्ड दिएपछि योगी अलमलिए । गुठीका कर्मचारीले भने, ‘कार्ड लिएर अखडामा जानुस् । म पछि कुरा बुझाइदिन्छु ।’ गत वर्ष नगद हात–हातमा दिएर बिदा गर्ने चलन थियो । यसरी बाँड्दा भद्रगोल भयो भनेर संस्थानले यो वर्ष कार्ड दिने अनि बिदाइ गर्ने बेलामा कार्ड काउन्टरमा बुझाएर नगद लिने व्यवस्था मिलाएको आचार्यले जानकारी दिइन् ।


योगीले रातो, पहेंलो र सेतो गरी तीन किसिमका ८८ वटा कार्ड लिए । ‘पोहोरको भन्दा रकम बढेन,’ कार्यालय प्रमुख आचार्यले भनिन्, ‘यसपालि प्राविधिक कारणले दक्षिणा बढाउन सकिएन । पोहोर जति थियो, यो वर्ष पनि त्यति नै भयो ।’ योगीले पोहोरको भन्दा यसपालि अखडामा बस्नेको संख्या बढेको सुनाए । ‘अलि थप्न पाए हुन्थ्यो,’ योगीले आग्रह गरे, ‘यतिले त बाड्नै कठिन हुन्छ ।’ गुठीका कर्मचारी उनलाई बढी कार्ड दिन तयार भएनन् ।



दक्षिणा लिन भित्र पस्न खोज्दै नागा बाबा  ।


गोरखनाथ अखडाले गत वर्ष ४७ हजार २०० रुपैयाँ पाएको रहेछ । यो वर्ष पनि त्यति नै पाएको छ । ‘यति नै रकम मिलाएर दामासाहीले बाँड्नुस्,’ आचार्यले भनिन्, ‘यो वर्ष बढाउन सकिएन । अब अर्को वर्ष बढाउने प्रयास गर्छौं ।’

शिवरात्रिमा दक्षिणा बाड्ने बेलामा समस्या हुने गरेका संस्थानका अध्यक्ष मिननारायण चौधरीले बताए । चौधरीकै संयोजकत्वमा बनेको समितिले श्रेणी पहिचान र दक्षिणा वितरण गर्ने जिम्मेवारी पाएको थियो । गुठीले यसपाली साधुका ६ वटा श्रेणी छुट्याएर दक्षिणा दिएको छ । पहिलो श्रेणीकालाई ९५१, दोस्रो ७५१, तेस्रो ५५१, चौथो ३५१, पाँचौं २५१ र छैटौं १५१ रुपैयाँ तोकिएको थियो । साधुका अखडाले दिएको लालमोहरको आधारमा श्रेणी विभाजन गरिएको चौधरीले जनाए ।


‘कोहीको श्री ३, कोहीको श्री २ भनेर लालमोहर लगाइएको हुन्छ,’ उनले भने, ‘त्यहीअनुसार कोही गुरु हुन्छन्, कोही चेला । यस्ता अनेक आधारमा श्रेणी विभाजन गरिन्छ । विगतमा गुठीले दिएको दक्षिणाले बाटो खर्च पुगे पनि अहिले कम हुने भएपछि गुनासो आउने गरेको आचार्यले बताइन् । ‘बिदाइको बेला सधैं दक्षिणा कम भयो भन्ने गर्छन्,’ उनले भनिन् ।


पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले संस्थानले छुट्याएको श्रेणीकै आधारमा कोषले रकम व्यवस्था गरेको हो । गुठी संस्थानबाट १५१ पाएकालाई त्यसको आधा ७७ रुपैयाँ ५० पैसा कोषले दिने गरेको छ । ‘यति थपेर केही हुँदैन,’ महन्थ योगीले भने, ‘गत वर्षको भन्दा साधुको संख्या बढेका छन् । पैसाचाहिं त्यति नै छ । कोषले थपिदिएको रकमले पनि अखडामा बसेका साधुनको गुनासा मेटिँदैनन् ।’


रकम अभावले शिवरात्रि व्यवस्थापन सधैं कमजोर हुने गरेको चौधरीले बताए । यो वर्षको शिवरात्रिका लागि २४ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । यसमध्ये १६ लाख रुपैयाँ दक्षिणामा छुट्याएको चौधरीले जानकारी दिए । गत वर्ष पनि यति नै रकम विनियोजन भएको थियो ।


यो वर्ष संस्थानका प्रशासक नभएकाले रकम बढाउन नसकिएको चौधरीले बताए । संस्थानका प्रशासक नारायण चौधरी घूस काण्डमा परेर निलम्बन भएका छन् । प्रशासकले प्रस्ताव लगेपछि रकम बढाउने गरिन्छ । बजेट गतवर्षको जति नै भए पनि साधु बढेको चौधरीले जानकारी दिए ।


पशुपति गौस्वारा प्रमुख आचार्यले गत वर्ष १५ सय साधु आएका थिए । यस वर्ष करिब एक हजार नौ सय साधु आएको उनले बताए । ‘दक्षिणा बढाइदेओस् भन्ने साधुको इच्छा हुन्छ तर सम्भव छैन । छुट्याएको रकमबाट पुर्‍याउन सकिए पनि भाग्य हुन्थ्यो, चौधरीले भने, ‘हामीसँग बजेट हुँदैन । सरकारले संस्थानलाई अनुदान दिँदैन । त्यही भएर पर्व सञ्चालन गर्नै मुस्किल छ ।’


दक्षिणा मात्र होइन, खाने बस्ने व्यवस्था पनि राम्रो नभएको योगीको गुनासो छ । गोरखनाथ अखडामा ७ वटा कोठा छ । यति कोठा भएको अखडाले ९३ जना साधुको व्यवस्थापन गर्नुपरेको थियो । साधुका ४ वटा सम्प्रदायका अलग–अलग अखडा छन्, पशुपतिमा ।


गोरखनाथ, उदासी, बैरागी र संन्यासी गरी चार वटै अखडामा साधु बस्ने व्यवस्था गरिएको थियो । तिनीहरूलाई गुठी संस्थानले खाना, धुनीको व्यवस्था गरे पनि पर्याप्त नभएको उनीहरूको गुनासो छ । कोही बाटामै धुनी जगाएर बसेका थिए । अखडामा पानीको समेत व्यवस्था गर्न नसकिएको योगीले बताए । ‘शौचालयसमेत गतिला छैनन् । भएका शौचालयमा पनि कोहीमा चुकुल थिएन,’ योगीले भने, ‘गुनासै गुनासा लिएर फर्कन्छन् साधुहरू ।’

प्रकाशित : फाल्गुन १२, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?