१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

रिक्सावालाका ती दिन

सीमा तामाङ

काठमाडौँ — ठमेल क्षेत्रमा रिक्सा चलाइरहेका विष्णु अछामीको गुजारा सहजै चलिरहेको थियो । जब भूकम्प आयो, ३२ वर्षदेखिको उनको रिक्सा–नाता खलबलिएको छ । ‘अहिले त खर्च धान्न पनि गाह्रो छ । परिवार भएकालाई झनै समस्या,’ उनले भने, ‘विगतमा पर्यटक पनि प्रशस्तै चढ्थे । आम्दानी राम्रै हुन्थ्यो ।’ 

रिक्सावालाका ती दिन

बाह्य पर्यटक नै रिक्सा चालकका लागि आम्दानीको मुख्य स्रोत थिए, कुनै बेला । तर, पछिल्लो समय रिक्सा व्यवसाय सामान ओसारपसारमा मात्रै सीमित हुँदै गएको उनको अनुभव छ । रिक्सा चलाउन सुरु गरेको दिन सम्झँदै उनी भन्छन्, ‘पहिले बाह्य पर्यटकको भिड हुन्थ्यो, डलर पाइन्थ्यो । डलर बोक्दा पनि प्रहरीले सोधखोज गर्थ्यो । अहिले त आन्तरिक पर्यटक समेत रिक्सा चढ्न चाहँदैनन् ।’ सहरको भित्री भागमा ठूला गाडी छिर्न नपाउने भएपछि सामान ओसार्नमात्रै रिक्साको प्रयोग हुने गरेको छ ।


रामेछापका यादव थापा पनि ६ वर्षदेखि रिक्सा चलाइरहेका छन् । भूकम्पपछि पहिलेजस्तो पर्यटक नभएको उनको भनाइ छ । ‘भूकम्पपछि राम्रा संरचना पनि छैनन् । आएका पर्यटक मोबाइलमै नक्सा हेर्दै जान्छु भन्छन् ।’ पहिले दैनिक पाँच सय रुपैयाँसम्म कमाइ हुने भए पनि अहिले सय रुपैयाँ कमाउन पनि गाह्रो हुने उनले बताए ।


हेटौंडाका नकुल खनाल पनि १२ वर्षदेखि रिक्सा चलाइरहेका छन् । अहिले ग्राहक घटेकाले दुई घन्टामात्र चलाउँछन् । बिहान ४ बजेदेखि ६ बजेसम्म रिक्सा चलाएबापत दैनिक दुई सय रुपैयाँ कमाउने गरेको उनले बताए । ‘दिनभर रिक्सा चलाए पनि पैसा कमाइँदैन,’ उनले भने, ‘त्यसैले दुई घन्टा चलाएर अर्कोलाई भाडामा दिन्छु ।’ सिन्धुपाल्चोकका गोविन्द पाण्डेको पनि समस्या उस्तै छ । उनी पनि २० वर्षदेखि रिक्सा चलाइरहेका छन् । ‘पहिले यस्तो भिड थिएन, पर्यटक रिक्सा चढ्न लालायित हुन्थे,’ उनले विगत सम्झिए, ‘ठमेल क्षेत्रमा रिक्साको बेग्लै सान थियो । ती दिन कहाँ गए कहाँ ।’


चालकले नयाँ रिक्साको दुई सय र पुरानाको एक सय पचास रुपैयाँ भाडा रिक्सा व्यवसायी संघलाई बुझाउनुपर्ने हुन्छ । भित्री सहरमा मात्र गुड्ने रिक्साको धोबीचौरमा दुई वटा ग्यारेज छ । पहिले ५०० रिक्सा गुड्ने भए पनि अहिले मुस्किलले २०० गुड्ने संघका अध्यक्ष राजेश मानन्धरले बताए । भित्री सहरमा मात्र गुड्ने अनुमति भएकाले पनि रिक्सा कम हुँदै गएको उनको भनाइ छ । ‘भित्री सहरमा मात्र गुड्न पाउँछन्,’ उनले भने, ‘मुख्य सडकमा गुड्न नपाउँदै ट्राफिक प्रहरीले समाउँछ ।’ पैसा कमाउने प्रलोभनमा केही चालकले लुकीछिपी मुख्य सडकमा रिक्सा गुडाउने गरेको उनले सुनाए । ‘बाह्य पर्यटक बोकेको खण्डमा दुःख दिँदैन तर सामान तथा आन्तरिक पर्यटक बोकेमा प्रहरीले समेत दुःख दिन्छ,’ उनले भने ।


काठमाडौंको ठमेल, इन्द्रचोक, वसन्तपुर, नयाँसडकलगायत भित्री सहरमा मात्रै रिक्सा गुडाउन पाइन्छ । रिक्साका लागि परमिट नहुँदा मुख्य सडकमा गुड्न नपाइने चालकको गुनासो छ । एउटा रिक्सा चालकले मुस्किलले मासिक तीन हजार कमाउने गरेको अध्यक्ष मानन्धरले बताए । संघीय तथा स्थानीय सरकारले प्रदूषण कम गर्न वातावरणमैत्री सवारीसाधनलाई जोड दिए पनि रिक्सा व्यवसायमा ध्यान नदिएको चालकहरूले गुनासो गरे । ‘अहिले सरकारी निकायले वातावरणमैत्री सवारीसाधनलाई जोड दिइरहेको छ,’ मानन्धरले भने, ‘तर पुरानो वातावरणमैत्री रिक्साप्रति ध्यान पुगेको छैन ।’ रिक्सा व्यवसायको मुख्य समस्या पार्किङ र मुख्य सडकमा गुड्न नपाउनु रहेको उनले बताए ।


ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोलले ठूला सवारीसाधन नचल्ने ठमेल क्षेत्रका लागि रिक्सा अपरिहार्य रहेको बताए । ठमेलको पर्यटक प्रहरीसँग समन्वय गरेर रिक्सा चालकलाई ड्रेसको व्यवस्था गर्ने

संघले योजना बनाएको छ । ‘केही रिक्सा चालक मद्यपान गरी चलाउँछन्,’ उनले भने, ‘दिनभरको भाडा एकैपटक उठाउने गरी महँगो भन्छन् ।’ ठमेलदेखि ठहिटीसम्म पनि दुई सय रुपैयाँ भाडा माग्न थालेपछि मानिस कम चढ्ने गरेको उनले बुझाइ छ ।


प्रकाशित : फाल्गुन ११, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?