१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खोकनामा मल्लकालीन झल्को

तीनदिने खोकना पर्यटन महोत्सवको पहिलो दिन निकै भिडभाड देखियो, प्राचीन कला सामग्री अवलोकनमा पर्यटक झुम्मिए 
प्रशान्त माली

काठमाडौँ — ललितपुरको खोकना पिनी टोलमा छ्वालीले छाना सजाई बाँस र सुकुलबाट ढोका बनाइएको छ । खोर्सानी/सागको माला र झुन्ड्याएको मकैले ढोका थप आकर्षक देखिन्छ । ढोकाको एकापट्टि चोलो र हाकुपटासीमा सजिएका दुई महिला पर्यटकलाई टीका र पसुका (शुभसाइतमा गलामा लगाउने कपडाको रातो डोरो) लगाएर स्वागत गर्नमै व्यस्त छन् । अर्कोपट्टि ढाकाटोपी र दौरा सुरुवालमा ठाँटिएका दुई पुरुष पानी खुवाउन लागिरहेका छन् । 

खोकनामा मल्लकालीन झल्को

ढोकाबाट प्रवेश गर्नेबितिकै बायाँपट्टि तासको चोलो, जिउभरि सुनका गरगहना लगाएर नयाँ दुलहीझै सिँगारिएका तीन बालिका देखिन्छन् । शुक्रबार उनीहरूलाई नेवार संस्कारअनुसार बेल विवाह गराइँदै थियो । सँगै खोकनाकी ७८ वर्षीय फ्रेसमाया महर्जन थकाली नंकी (ज्येष्ठ महिला) को भूमिका थिइन् । बेल विवाहमा थकाली नंकी अनिवार्य उपस्थित हुनुपर्ने परम्परा छ । बायाँपट्टि खोकनाको स्थानीय उत्पादन सुर्केथैली, हाकुपटासी, गुन्यु चोलो, पटुका, पछ्यैरी, पराल र खोयाबाट बनाइएका लेडिज ब्याग, जुत्तालगायत प्रदर्शनीमा राखिएको थियो ।


नजिकै एउटा समूह धाः बाजाको तालमा बाँसुरी बजाइरहेको थियो । शुक्रबारदेखि सुरु भएको तीनदिने खोकना पर्यटन महोत्सवको पहिलो दिन नै निकै भिडभाड देखियो । पहिलो दिन ६० जना वाद्यवादकले नेवारी बाजाको अर्केस्ट्रा प्रस्तुत गरेका छन् । अर्केस्ट्रामा नगरा, धिमे, खिं, पछिमा, मादल, ढोलक, बासुरी, शंख, पोंगालगायत बाजा थिए । महोत्सवको अवसरमा थलाछी टोलमा प्रस्तरबाट बनाइएका बौद्ध स्तुपा, चैत्य, बाँसका हुक्का र भैरव, गणेश, महालक्ष्मीलगायत देवीदेवताका मुकुट राखेर बनाइएका पुतली प्रदर्शनीमा राखिएको छ ।


सेल्फी खिच्ने पर्यटकहरूको भीडभाड लागेको थियो । नजिकै दुई जना महिला ‘वा’ (रातो चिउरा बनाउने धान) हाडीमा भुटिरहेका थिए । केही महिला धान निकालेर परम्परागत ढंगबाट कुटेर चिउरा बनाइरहेका थिए ।

स्थानीय ५६ वर्षीय रामेश्वरी डंगोलले खोकना आमा समूहका २२ जना मिलेर मिल नहुँदा चिउरा तयार गर्ने विधि देखाउन खोजेको बताइन् । रातो चिउरा बजारमा हत्तपत्त पाइँदैन । नानीचा टोलमा भने आरती दिँदा प्रयोग गरिने पाल्चा, सिन्दुर राख्ने भाँडो सिनपु, धागो बेर्ने यन्त्र फेलु, काठको गाग्री सिधःप प्रदर्शनीमा राखिएको छ ।


मा ताः (मल्लकालीन साँचो), गोछ (कालोपाटी), पोरसी (योमरी पकाउने माटोको भाँडो), अमूचा (तराजु) जस्ता सामान हेर्नेको पनि भीड लागेको थियो । सँगै ६१ वर्षीय चमेली महर्जनले परालबाट सुकुल, थ्याका (रक्सी राख्ने भाँडो), गणेश, भैरव, मल्लकालीन राजा बनाइरहेकी थिइन् । नजिकैको झ्यापु छेँ टोलमा श्रीखण्ड भजन मण्डलले दायाँबायाँ मू स्याः (चिलाग) बालेर भजनकृतन गरिरहेका थिए । गुठीयारहरू मल्लकालिन गीतमा मग्न थिए ।


पाटनकी संगीता शाक्यले महोत्सवले खोकनाको मल्लकालीन झल्को दिएको बताइन् । ‘यहाँको मूर्त तथा अमूर्त सम्पदाबारेमा अध्ययन गरिरहेकालाई संस्कृतिबारे बुझ्ने अवसर मिलेको छ,’ उनले भनिन् । नाय्झो टोलमा भने भूः तसी (थाल राख्ने परम्परागत माटोको भाँडो), होखा चिल (हुक्का), खड्ग, प्वाकः पाः (मसला राख्ने भाडो), काँटा (पराल काट्ने हाते औजार), अमूः या (परम्परागत तराजु), छेगु पिला (लत्ताकपडा राख्ने बेतको बाकस), धो सोमा (भैरवको आकृति भएको जाँड राख्ने भाँडो) प्रदर्शनीमा राखिएको छ । नायला टोलमा भने तिसाथल (गरगहना राख्ने बक्सा), राजाहरूले लगाउने लुगा ‘जुजु वस’, श्रीपेच र छालाको तेल राख्ने भाडो राखिएको छ । यी सामान अहिले चलनचल्तीमा छैनन् ।


नाङ्ला टोलमा भने पाहुनालाई नेवारी परम्पराअनुसार बारा, अन्डा, सुकेको माछा र लोकल रक्सीसहित सत्कार गरिएको थियो । पर्यटकलाई आर्कषित गर्न केहीले सिघिनी, बघिनी र गरूडको मूर्तिसहित कृत्रिम ढुंगेधारा बनाएका छन् भने केहीले परम्परागत रक्सी बनाउने तरिका त केहीले ऐतिहासिक तस्बिर राखेका छन् । रूद्रायणी देवी नाचका गुठीयारहरू भने देवगणले लगाउने धुजी लः लगाएर सहभागी थिए ।


महोत्सवमा मौलिक भेषभूषमा सजिएका बालबालिकाले ‘सुन्दर समृद्ध खोकनाको सभ्याता जोगाऔं, पुरात्तात्विक सामग्री र स्थानको पहिचान र संरक्षण गरौं’जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर नगर परिक्रममा गरेका थिए ।महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले खोकनाको कलासंस्कृति सम्पदाको प्रचारप्रसार स्थानीय तहमा मात्र सीमित भएको भन्दै यसलाई राष्ट्रिय/अन्तराष्ट्रिय स्तरमा लैजानुपर्नेमा जोड दिए ।


‘खोकनाको कलासंस्कृति जर्गेनाले समृद्ध नेपाल सुखी नेपाली बन्न मद्दत गर्छ,’ उनले भने । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले महोत्सवले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) बढाउन सहयोग गर्ने बताए । ‘खोकनाको प्रचारप्रसार गर्न साथ दिनेछु,’ उनले भने ।


सांसद पम्फा भुसालले फास्टट्रयाक, ३२ केभी राष्ट्रिय प्रसारण लाइन, बाहिरी चक्रपथजस्ता आयोजनाले खोकनाको सांस्कृतिक सम्पदा संकटमा परेको बताइन् । ‘यसप्रति सरकार गम्भीर हुन जरुरी छ,’ उनले भनिन् । ललितपुर महानगरका उपमेयर गीता सत्यालले पाटन दरवार क्षेत्रमा आउने पर्यटकलाई खोकनाजस्ता अन्य मौलिक बस्तीमा लैजान महोत्सवले भूमिका खेल्ने बताइन् । सांसद जीवन खड्काले महोत्सव पर्यटनको क्षेत्रमा कोसेढुंगा सावित भएको बताए ।


खोकना पर्यटन महोत्सव ०७६ मूल आयोजक समितिका संयोजक रवीन्द्र महर्जनले पुरातात्विक सामग्रीलाई संग्रहालय बनाएर संरक्षण गर्ने योजना रहेको बताए । ‘संग्रहालय र होमस्टे बनाउनेबारे छलफल चलिरहेको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?