१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सम्यक महादान पर्व सुरु, ठड्याइयो लिंगो

प्रशान्त माली

ललितपुर — शिरमा सुनको जलप लगाएको बुद्धसहितको चैत्य, अप्सरा, अग्नि ग्वाला र गजुरसहितको ‘आजु’ टोपी । शरीरमा आजु लः (चीनियाँ सम्राटहरूले लगाउने विशेष लुगा) लगाएका आजुहरू (थकाली)को एउटा समूह । अर्को बुद्धमूर्तिसहितको निलो टोपीमा सजिएका थकालीहरू । उनीहरू पाटनस्थित हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) का आजुहरू हुन् । पाटन नागबहालमा बिहीबार बिहान उनीहरूको उपस्थितिमा विधिवत पूजाआजा गरी ३२ हाते अग्लो योसी (लिंगो) ठड्याएसँगै सम्यक महादान पर्व सुरू भएको छ ।

सम्यक महादान पर्व सुरु, ठड्याइयो लिंगो

पर्वका लागि मंगलबार नागबहालमा विराजमान वासुकी र चम्पक नागराजाको पूजाआजा गरिएको थियो ।

पर्वको अवसरमा उपत्यकाका विहार र महाविहारबाट बुधबार र बिहिबार १ सय २६ देवीदेवताका मूर्ति नागबहालमा ल्याइ बौद्ध परम्परा अनुसार पूजाआजा तथा प्रदर्शनी गर्ने चलन छ । त्यसरी गरिने पूजाआजामा ३३ कोटी देवतालाई सहभागीता गराउनुपर्ने मान्यता छ । देवीदेवतालाई निमन्त्रणा दिन लिंगो ठड्याइएको आजुहरूका बेताजु (सचिव) चक्रराज बज्राचार्यले बताए । लिंगोको टुप्पोमा स्वयम्भु, बज्रसत्व, योगाम्बर, पञ्चरक्षा देवी, दशपारमिटा, अष्टबोधीसत्व, चतुरमहाराज, चन्द्रसूर्य विराजमान गराइएको छ । डमरू र घण्टा पनि झुन्ड्याइएको छ ।

‘यसको अर्थ लिंगोमा विराजमान देवीदेवताले डमरू र घण्टा बजाएर ३३ कोटी देवतालाई निमन्त्राण गर्ने विश्वास छ,’ बेताजु बज्रचार्यले भने, ‘अब सोमबार हिरण्यवर्ण महाविहारका आजु र विहार सुधार समितिका पदाधिकारीको उपस्थितिमा पर्वमा देवीदेवतालाई सहभागी गराउन निमन्त्रणा दिन जाने कार्यक्रम छ ।’ लिंगो ठ्याएसँगै पर्व अवधिभर अशुभ नहोस् भनेर पाटनको संकटा मन्दिरमा पनि तान्त्रिक विधिपूर्वक पूजाआजा गरिएको छ ।


छोटिएको पर्व

यो पर्व वि.सं. १८६१ सम्म प्रत्येक वर्ष सञ्चालन हुन्थ्यो । हिरण्यवर्ण महाविहार सुधार समिति अध्यक्ष विकासरत्न धाख्वाका अनुसार तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आयस्ता कम भयो । ‘त्यसयता पाँच वर्षमा एकचोटी पर्व आयोजना गर्न थालिएको हो,’ उनले भने । पर्वमा दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा लगायत देवीदेवता नागबहालमा ल्याइनेछ । हिरयण्वर्ण महाविहारमा विराजमान शाक्यमुनि बुद्धको सम्मुख महादिप प्रज्वलन र महायज्ञ गर्ने चलन छ । पर्व भगवान गौतम बुद्धको उपदेश दान पारमिता र त्यसको महत्वसँग सम्बन्धित छ । पर्वको सुरुआतसँग एउटा किवंदन्ती चलनचल्तीमा छ ।

ठकुरी वंशका राजा भाष्करदेवका एकजना सन्तान समयक्रममा निकै गरिब बन्दै गए । भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले । भरिभारो गरिब भएपनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए । धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भयो । धर्मकै कारणले सम्पत्ति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास छ । पर्व सञ्चालन गर्न ललितपुर महानगर– १६ बाट २ लाख ५० हजार सहयोग गरेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?