२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दुईपोखरी पुनर्निर्माण थालियो

कान्तिपुर संवाददाता

(भक्तपुर) — मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक दुईपोखरी (निगुपुखुः) संरक्षण तथा पुनर्निर्माण थालेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि खेल मैदानको रूपमा परिणत दुईपोखरीमध्ये एकको पुनर्निर्माण सकेर पानी हालिएको छ । नगरपालिकाले उत्तरपट्टिको पोखरीको पनि संरक्षण थालेको छ । 

दुईपोखरी पुनर्निर्माण थालियो

दुईपोखरी संरक्षणको पहिलो चरणमा कालोमाटो बिछ्याउने काम सुरु भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । सुरुमा ६ इन्च कालोमाटो, ३ इन्च पाँगो माटो र पुनः ६ इञ्च कालोमाटो गरी १५ इन्च माटो बिछ्याएपछि इँटा सोलिङ गरेर पानी राख्ने नगरपालिकाले जनाएको छ । उक्त पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड २५ लाख रुपैयाँ र वाग्मती प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पोखरी संरक्षणका गर्न स्थानीय निरन्जन श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी पुनर्निर्माण थालिएको हो ।


आकाशेपानी संकलन गरेर प्रशोधन गरेपछि मध्यपुरथिमि–४ स्थित ऐतिहासिक दुईपोखरीमा पानी भर्ने प्रस्तावअनुरूप पुनर्निर्माण सुरु भएको नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बताइन् । मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने नगरपालिकाको योजना छ । दुईपोखरी संरक्षण पुनर्निर्माणका लागि नगरपालिकाले करिब १५ करोडको लागत इस्टिमेट तयार गरेको छ । तीन वर्षमा पुनर्निर्माण सक्ने गरी पैदलमार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रको रुपमा दुईपोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए । हाल पोखरी वरिपरि ६ वटा फल्चा रहेको छ ।


करिब तीन सय वर्षपहिले गंगा महारानीले दुईपोखरी स्थापना गरी मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिएको कथन छ । कुनै भवितव्यमा वा सिँचाइमा पोखरीकै पानी प्रयोग गर्ने चलन थियो । बढ्दो सहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा ध्यान जान छाडेको संस्कृतिविद्हरू बताउँछन् । दुईपोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीचबाटोमै टुटेपछि पोखरीमा पानी सुकेको हो ।


२०१५ सालमा राजा महेन्द्र भक्तपुर आउँदा दुईपोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेदेखि नै पोखरीको पानी सुक्न थालेको स्थानीय उत्तरकुमार श्रेष्ठ बताउँछन् । बेलाबेलामा पोखरी संरक्षण गर्ने प्रयास गरे पनि पोखरीको संरक्षण हुन सकेको छैन । गाविस हुँदासम्म पोखरीमा पानी भए पनि नगरपालिका बनेपछि पोखरी मैदानमा परिणत भएको स्थानीय बताउँछन् । २०६५ मा नगरपालिकाले १० लाखको लगानीमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेको थिएन ।


मध्यपुर थिमिवासीले दुईपोखरी सुधार समिति नै गठन गरी पटकपटक संरक्षण प्रयास गर्दै आएका छन् । मध्यपुरथिमि बालुवाको थुम्कोका रूपमा पनि चिनिन्छ । बालुवा भएको ठाउँमा पानी जोगाउन मुस्किल हुने स्थानीय बताउँछन् । पोखरीमा पानी बचाउन पहिलेकै मुहान पत्ता लगाउनुपर्ने र नरपालिकाले पोखरीको पूर्ण संरक्षण गर्न एकमुष्ट रकम छुट्याउन आवश्यक रहेको स्थानीयको सुझाव छ । मध्यपुरथिमि–४ याता क्षेत्रमा करिब २० वटा इनार छन् । पहिले इनारको मुख्य स्रोत पनि दुईपोखरी भएको दुईपोखरी अनुगमन समिति संयोजक बालकृष्ण पात्य श्रेष्ठले बताए । पोखरीमा पानी सुक्न थालेपछि इनारमा पनि पानी सुक्दै गएको छ ।


नगरपालिकाले दुईपोखरी क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रूपमा विकास गर्ने र नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल निर्माण गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए । इनायटोलदेखि दिगुभैरव मन्दिरसम्म पैदल मार्ग निर्माण गरी ठूला सवारी निषेध गर्ने नगरपालिकोको योजना छ । ‘खेलमैदानको रूपमा परिणत दुईपोखरीमा बिस्काः (बिस्केट जात्रा) सम्ममा पानी भरिसक्ने लक्ष्य राखेका छौं,’ प्रमुख श्रेष्ठले भने ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?