मेलम्चीको विकल्पबारे अध्ययन

कान्तिपुर संवाददाता

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणमा कुनै गडबढी आएको अवस्थामा त्यसको विकल्पको रूपमा अन्य खोलाबाट दैनिक थप १७ करोड लिटर पानी ल्याउन अध्ययन सुरु गरेको छ ।

भक्तपुरको मुहान पोखरी, सिस्नेरी खोला र फर्पिङ क्षेत्रबाट प्राकृतिक प्रकोप अथवा मेलम्ची खानेपानीमा कुनै गढबड आएको बेला वैकल्पिक पानी आपूर्ति गरिनेछ । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार महादेव खोलमा जापान सरकार, फर्पिङ क्षेत्रमा चीन र सिस्नेरीमा विभागले पूर्वअध्ययन गरिसकेको छ । ‘अध्ययन सुरु भइसकेको छ, त्यसलाई अन्तिम रूप दिन मात्र बांकी हो,’ उनले भने, ‘दैवीप्रकोपको बेला जे पनि हुन सक्छ, त्यो बेला प्रशस्त पानी चाहिन्छ ।’ उपत्यका खानेपानी व्यवस्थपान बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाले विभिन्न मुहानहरूको अध्ययन सुरु भइसकेको बताए ।


महादेव खोलाबाट दैनिक २ करोड, सिस्नेखोलाबाट दैनिक १३ करोड र फर्पिङबाट दैनिक करिब २ करोड लिटर उत्पादन हुने उनले बताए । फर्पिङमा करिब २१ वटा डिपट्वेल निर्माण गरेर दैनिक पानी उत्पादन गरिने अध्ययन गरिसकेको भन्दै उनले केही दिन आएर अन्तिम अध्ययन गर्ने तयारी रहेको बताए । ‘यसअघि पटक–पटक चिनियाँ टोली आएर अध्ययन गरिसकेको छ, अब उत्पादन तिर लाग्छन्,’ उनले भने, ‘ललितपुर भैंसेपाटी क्षेत्रमा यो पानी वितरण गरिन्छ ।’ उक्त पानी भैंसेपाटीमा पानी प्रशोधन गरेर त्यहाँबाट सैबूक्षेत्रमा वितरण गरिने उनले बताए ।


चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण बेला नेपाल सरकार र चीन सरकारबीच उक्त पानी उत्पादनका लागि झन्डै १ अर्ब २५ करोड रुपैयाँ दिने सहमति भइसकेको उनले बताए । साथै, चन्द्रगिरीदेखि गोदावरीसम्मको क्षेत्रमा जमिनमुनि ठूलो पानीको भण्डार रहेकाले पानी निकाल्न चीनले सहयोग गर्ने सहमति भइसकेको पनि उनले जानकारी दिए । ‘यो क्षेत्रमा चुनढुंगा छ, मेलम्चीको आवश्यकता नै पर्दैन भन्ने पूर्वसम्भाव्यता अध्ययनले देखाएको छ,’ उनले भने, ‘तर, अन्तिम अध्ययन आउन बाँकी नै छ ।’


चिनियाँ राष्ट्रपतिले सम्झौता गर्नुअघि विभिन्न स्थानमा चिनियाँ प्राविधिक टोलीले ड्रिलबाट खनेर जमिनमुनिको पानीको अध्ययन गरिसकेको उनले बताए । ‘अब केही दिनमै पुनः टोली आउँदै छ, त्यसपछि कति पानीको मात्रा छ भन्ने भन्छन्, अहिलेचाहिँ भन्न सकिँदैन,’ उनले भने । त्यसैगरी महादेव खोलामा सानो ड्याम बनाएर त्यहाँको पानी भक्तपुर क्षेत्रमा वितरण गर्ने उनले बताए । ‘दैनिक २ करोड उत्पादन भए पनि भक्तपुरको ठूलो क्षेत्रलाई ओगट्छ,’ उनले भने, ‘यो कामलाई मन्त्रालयले अघि बढाइसकेको छ ।’

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जुगलमा टुकीकै भर

‘विद्युत् छैन, सोलार बल्दै बल्दैन, टुकीको भरमा छाम्दै हिँड्नुपर्छ, त्यही पनि जाडोमा बाल्न हम्मेहम्मे पर्छ’
अनिश तिवारी

(सिन्धुपाल्चोक) — जुगल हिमालको काखमै बगिरहेको कञ्चन ब्रम्हायाणी । किनारछेउसँग जोडिएको अग्ला डाँडामाथिका एउटै रंगले सजिएका चिटिक्क बस्ती । रात परेपछि बिजुलीको अभावमा अन्धकारमा डुब्ने गरेको छ । ‘ साह्रै दिक्क लाग्छ, बिजुली छैन, सोलार बल्दै बल्दैन्, टुकीको भरमा छाम्दै हिँड्नुपर्छ, त्यही पनि जाडोमा बाल्न हम्मे–हम्मे पर्छ,’ टुकी बत्तीको सुत्लो निकाल्दै स्थानीय ओङदी शेर्पा भनिन् । 

हिउँ थपिएसँगै चिसोले आत्तिएकी उनलाई बिजुली नहुँदा कुनै अन्धकार जेलमा बसेजस्तो अनुभव हुने गरेको छ । ‘कतिन्जले यसरी जीवन बिताउनु, कहिले आउँछ हाम्रो गाउँमा बिजुली ?,’ उनले प्रश्न गरिन् । जुगलको बजारक्षेत्र ढाडे, कात्तिके बजारबाट किनेर ल्याएको सोलार र ब्याट्रीको भरमा गाउँमा रातमा आवश्यक उज्यालो हुने गरेको छ । महँगा सोलार र ब्याट्री पनि अत्यधिक चिसोको कारण प्रायः बिग्रिएपछि अन्तिम विकल्प टुकी हुने गरेको तेम्बाथान गाउँका पासाङनुर्ब शेर्पाले दुःखेसो गरे ।

‘हिउँद र बर्खामा घाम नलागेपछि सोलार चार्ज हुँदैन, टुकीको भरमा जे परे पनि दौड्नुपर्छ, रातमा त्यस्तै बिरामीलाई गाह्रो भयो भने के गर्ने के नगर्ने भनेर अन्योलमा पर्छौं,’

उनले भने । दिपु र तेगाको जंगली बाटो कटाउन लगभग एक दिन लाग्छ । त्यसपछिको तेम्बाथान, लाक्याप, निमाडोमा भीर र निमाडोमाको घनघोर लेकाली जंगल छिचोल्नमै दुई दिन बित्ने गर्छ । अझैसम्म सडक नजोडिएको जुगलको दिपु, तेगादेखि तेम्बाथानका गाउँबासी साँझ या रातमा कोही बिरामी परेमा बिजुली नभएकाले उज्यालोको पर्खाइमा कुर्ने गरेको अगुवा साइला शेर्पाले उदाहरण दिए । ‘गर्भवती, सुत्केरीदेखि बिरामी वृद्धवृद्धा त्यस्तै गम्भीर बिरामी अवस्थामा पुग्छन्, अब बिजुली नभएपछि टुकी र मसालको भर पर्नुपर्छ गर्नु पनि के ?’ उनले भने ।

जुगलको दिपु, तेगा र तेम्बाथानका गरी झन्डै २२० परिवार अन्धकारमै बस्न बाध्य छन् । ‘यहाँ न स्वास्थ्यचौकी छ, न सडक नै जोडिएको छ, नेटवर्कसमेत लाग्दैन,’ उनले भने । दुई दिनको यात्रापछि मात्रै गुम्बाथानको सामुदायिक स्वास्थ्य एकाई पुग्न सकिने उनको भनाइ छ । जुगलको वडा ३ को अन्तिम दिपु र तेगा तेम्बाथान हुँदै गुम्बाथान, अम्बाखर्कसम्म झन्डै हजार परिवार बिजुली नभएकाले सास्ती भोगिरहेका छन् ।

बिजुली नपुगेको केही हिमाली गाउँमा बिजुली पुर्‍याउन जुटेको नेपाल विद्युत् प्राधिकरण शाखा सिन्धुपाल्चोक वितरण केन्द्रका प्रमुख सानुबाबु थापाले जानकारी दिए । ‘दिपु, तेगा, तेम्बाथानदेखि गुम्बाथान, अम्बाखर्कबारे यर्थाथ विवरण संकलन गरेर माथिल्लो निकायमा बुझाइसकेका छौं, त्यसबारे बजेटिङ भएपछि काममा लाग्छौं,’ उनले भने । जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले यसबारे आवश्यक पहलमा जुटिरहेको र समन्वय भूमिका गर्ने बताइन् । वाग्मती प्रदेशले बिजुलीका लागि मात्रै ५ करोड बजेट विनियोजन गरेको र यहाँ बजेट ल्याएर बिजुली पुर्‍याउन कस्सिरहेको जनप्रतिनिधिले बताएका छन् ।

तार–खम्बा छन्, बिजुली छैन
लत्रेको तारसँगै बस्तीपिच्छै खम्बा गाडिएको छ । जताततै लगिएको तार घरको बत्तीसँग नजोडिएको पनि होइन । तर, त्यहाँ कहिल्यै बिजुली आएन । ‘३ वर्ष पुग्यो, खम्बा र तार टाँगेको टाँग्यै छ, तर बिजुली बल्दै बलेन, के खान यो पोल र तार टाँगिएको हो भनेर अचम्म लाग्छ,’ जुगल ३ का तेन्जिङ लामाले आक्रोश पोखे । चुनावमा मत माग्न आएका सबै नेताले बत्ती ल्याइदिने प्रतिबद्धता गरे पनि बिजुली नबालिदिएको उनले आरोप लगाए ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×