२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

विकृति रोक्न ‘क्लिन स्विप’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले नयाँ बसपार्क र आसपास हुने विकृति रोक्न ‘क्लिन स्विप’ अभियान सुरु गरेको छ । यस क्षेत्रमा हुने यौनजन्य गतिविधि, लागूऔषध दुर्व्यसनलगायतका गलत काम गर्नेविरुद्ध प्रहरीले अभियान थालेको हो । 

स्थानीय तह, सामुदायिक सेवा केन्द्र, सामाजिक संघसंस्थाको सहकार्यमा यो अभियान चलाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । प्रहरीले आइतबार पनि नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० पुरुष, १६ महिला र एक तेस्रोलिंगी छन् । नयाँ बसपार्कभित्र, आकाशे पुल, गेस्ट हाउसमा यौनजन्य गतिविधि हुने गरेको गुनासो थियो ।


यस्ता क्रियाकलाप गराउन गेस्ट हाउस सञ्चालकसमेत संलग्न हुने गरेको पाइएको लम्सालले बताए । प्रहरीले शिवपुरी गेस्ट हाउस, मुस्ताङ गेस्ट हाउस, बागलुङ भोजनालयका सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । गेस्ट हाउसमा बिचौलियाका रूपमा कार्यरत तीन जनालाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रहरीले यसअघि पनि उर्वशी डान्स बार, दर्शन नमस्ते रेस्टुरेन्ट, गोरखा मनकामना गेस्ट हाउस, खानीडाँडा गेस्ट हाउस, सेवारो पाथीभरा गेस्ट हाउस, भुमेश्वरी गेस्ट हाउस, तनहुँ सिर्जना गेस्ट हाउस, न्यु गन्डकी गेस्ट हाउसका सञ्चालकलाई समेत पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाइसकेको छ ।


‘अनैतिक क्रियाकलाप गराउन गेस्ट हाउसले दलाल (बिचौलिया) राख्ने गरेको पाइयो,’ लम्सालले भने, ‘यस्तालाई समेत नियन्त्रणमा लिएर मुद्दा चलाउने गरेका छौं ।’ प्रहरीले आकाशेपुलमा अनधिकृत व्यापार व्यवसायलाई समेत नियन्त्रणमा लिएर आगामी दिनमा नगर्ने सर्तमा छाडेको छ ।


यो अभियानमा जबर्जस्ती करणी मुद्दामा फरार सनकाजी दर्जी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।


महाराजगन्ज प्रहरीले ५ महिनाको अवधिमा बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्नको आरोपमा ८८५ जनालाई नियन्त्रणमा लिएको थियो । यसमध्ये २५१ पुरुष, ३९ महिला र २२ जना तेस्रोलिंगी गरी ३१२ जनालाई मुद्दा चलाइएको लम्सालले बताए । अन्यलाई आफन्तको जिम्मा लगाएको उनले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?