१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जसले इमान गुमाएनन्

सुटकेस भएका यात्रुको नम्बर थिएन, तुरुन्तै ट्राफिक प्रहरीको १०३ मा फोन गरेर उनले सामान छुटेको बारे जानकारी गराए 
मकर श्रेष्ठ

काठमाडौँ — ट्राफिक प्रहरीले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० जना ट्याक्सी चालकलाई गत सोमबार कारबाही गर्‍यो । मिटरमा जान नमान्ने, बढी भाडा लिने, मिटर बिगार्ने चालक कारबाहीमा परेका हुन् । मादक पदार्थ सेवन गर्ने, लेन मिच्ने, जेब्रा क्रसमा सवारी रोक्ने, फुटपाथमा पार्किङ गर्ने, जथाभावी हर्न बजाउनेसहित कुल २ हजार ५२ चालक सोही दिन कारबाहीमा परे ।

जसले इमान गुमाएनन्

कारबाहीमा पर्ने चालकको भीडमा बा २ ज ४०७१ नम्बरको ट्याक्सी चालक नवीन सिग्देल भने अपवादमा परे । त्यस दिनमात्रै होइन उनी पछिल्लो वर्षकै इमानदार चालकको सूचीमा दरिए । त्यही दिन बा ५ ख २१६ नम्बरको बसमा छुटेको सुटकेस फिर्ता नगरेपछि ट्राफिक प्रहरीले चालकलाई बोलाएर फिर्ता गराउन लगाए । चालकलाई साथमा राखेर सामान फिर्ता गरेको फोटोसमेत सार्वजनिक भयो ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साउनयता मात्रै चार हजार २९८ ट्याक्सी चालक कारबाहीको दायरामा आइसकेका छन् । अघिल्लो वर्ष १२ हजार ७४९ चालक कारबाहीमा परेका थिए । नवीनले ‘इमानदार चालक’को उपमा पाउनुको कारण भने आफ्नो ट्याक्सीमा भेटेको सुनसहितको सुटकेस फिर्ता गर्नु हो । ‘अरू चालकले गाडीमा सामान छुटे पनि फिर्ता नगरेपछि सीसी क्यामेरा हेरेर पत्ता लगाउनुपर्ने हुन्छ । नवीनले गाडीमा सामान देख्नेबित्तिकै १०३ मा फोन गरेर जानकारी गराए,’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले भने, ‘उनी अब इमानदार चालकको सूचीमा परे ।’ ट्राफिक प्रहरीले इमानदार चालकलाई सम्मानसमेत गर्ने गरेको छ ।


नवीनले १३ तोला सुन, मेडिकल रिपोर्ट र अन्य महत्त्वपूर्ण सामान भएको यात्रुको सुटकेस फिर्ता गरेर इमानदारी देखिएका हुन् । अमेरिकाबाट फर्केकी लक्की रिजालसहित पाँचजनाको समूहलाई उनले सोमबार लाजिम्पाटबाट थापाथलीसम्म ल्याएका थिए । थापाथलीसम्म आएको ट्याक्सीको भाडा मिटरमा २२४ उठेको थियो । रिजालले ३०० दिइन् । उनीहरू झर्नेबित्तिकै नवीनले बानेश्वर जाने यात्रु पाए । बानेश्वरबाट अर्को टिप चक्रपथ लिएर गए ।


त्यहाँबाट बालाजुको माछापोखरीमा यात्रु झारेर उनी आफ्नो स्टेसन बसुन्धारा फर्किए । चोकमा अरू ट्याक्सी क्यूमा रहेकाले उनी ट्याक्सी सफा गर्न लागे । ‘त्यसबेला पो डिकीमा सुटकेस देखेँ,’ उनले भने, ‘तर त्यसबेलासम्म रिजालले ट्याक्सीमा सामान छुटेको निवेदन ट्राफिक प्रहरीलाई दिइसकेकी थिइन् । निवेदनका आधारमा ट्राफिक प्रहरीको खोजतलास शाखाले सीसी क्यामेरामा ट्याक्सी नम्बर पत्ता लगाउन पहल थालेको थियो । जब चालकले नै सुटकेस छुटेको जानकारी गराए, तर थप अनुसन्धान गर्नै परेन । ट्राफिकले चालक नवीनलाई सामान लिएर बग्गीखाना बोलाए । सुनसमेत रहेको सुटकेस फिर्ता गरेपछि यात्रु रिजालले चालक नवीनलाई धन्यवाद मात्रै दिइनन्, झोलामा भएको एउटा सुनको सिक्री नै उपहार दिइन् । नवीनले सुरुमा लिन अस्वीकार गरे पनि उपस्थित सबैको आग्रहपछि सुन उपहार स्वीकार गरे । ‘मलाई कसैको छुटेको सामान राखेर वा बढी भाडा उठाएर कमाउनु छैन,’ उनले भने, ‘आफ्नो मेहनतको कमाइ नै मिठो हुन्छ ।’


बर्दियाको गेरुवा गाउँपालिका–४ रामबगरका नवीनले ट्याक्सीमा छुटेको सामान फिर्ता गरेको खबर केहीबेरमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छायो । आफन्त र साथीहरूले उनको इमानदारीको प्रशंसा गर्दै बधाई दिए । ‘गाउँ र जिल्लाको इज्जत राखेको भन्दै साथी र आफन्तले फोनबाट बधाई दिँदा थप हौसला मिल्यो,’ उनले भने, ‘सडकमै भेटिने ट्याक्सी चलाउने साथीहरूले पनि भेटेर बधाई दिए ।’


२५ वर्षीय नवीन मासिक पाँच हजार तिर्ने गरी एउटा कोठा भाडामा लिएर बसेका छन् । एमबीबीएसको तयारी गरिरहेका भाइ र नायव सुब्बाको तयारी गरिरहेकी बहिनी पनि उनीसँगै बस्छन् । दुवैको पढाइखर्च उनकै काँधमा छ । गाउँमा रहेका आमाबुबालाई घरखर्च पठाउने दायित्व पनि उनकै हो । आठ वर्षअघि काठमाडौं छिरेका उनले केही वर्ष चाउमिन फ्याक्ट्रीमा काम गरे । सोलार कम्पनीमा मार्केटिङ म्यानेजर पनि भए । त्यसपछि उनी ट्याक्सी लाइनमा आए । ‘ट्याक्सी धनीलाई दैनिक १५ सय बुझाउनुपर्छ,’ दुई वर्षदेखि ट्याक्सी चलाइरहेका उनले भने, ‘महिनाको त्यस्तै ३५ हजार बस्छ ।’


ट्याक्सी वा अन्य सवारीसाधानमा छुटेको सामान फिर्ता नगरेपछि यात्रुले दिएको निवेदकको आधारमा ट्राफिक प्रहरीले सीसीटीभी र यातायात व्यवस्था कार्यालयबाट गाडीको पहिचान गर्ने गरेको छ । यदि उनले ट्याक्सीमा भेटेको सामान फिर्ता नगरेको भए ट्राफिक प्रहरीले सीसी क्यामेरा हेरेर पत्ता लगाउँथ्यो । गाडी नम्बर पहिचान गरेर फिर्ता गर्न बोलाउँथ्यो । यसरी बोलाइएका चालकलाई प्रहरीले जरिवाना तिराउँदैन । सबै चालकले देख्ने गरी बिहान ९ देखि ११ बजेसम्म सडकमा स्वयंसेवकको रूपमा खटाउने गरेको छ । साउनयता ४५ जनालाई स्वयंसेवकको रूपमा खटाइसकिएको छ । ट्याक्सीमा सामान हराएको भन्दै साउनयता ३०८ वटा निवेदन परेका छन् । यसमध्ये २०४ जनाको सामान फेला पारेको छ ।


बिहीबारमात्रै बा २ ज ३३११ नम्बरको ट्याक्सी चालक आफैले १७ हजारसहितको झोला ट्राफिक प्रहरीलाई फिर्ता गरेका छन् । ‘सबै चालकले आफ्नो गाडीमा छुटेको सामान मानवताको नाताले फिर्ता गर्नुपर्छ,’ नवीन भन्छन्, ‘तपाईं यात्रु भएर सोच्नुस् त, आफ्नो महत्त्वपूर्ण सामान छुट्दा कति चिन्ता हुन्छ ?’

प्रकाशित : फाल्गुन ४, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?