कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तयारी खोकना महोत्सवको

प्रशान्त माली

(ललितपुर) — खोकनाकी ५० वर्षीया नीलकुमारी डंगोल गृहिणी हुन् । दिनभर फुर्सदमा हुने उनी केही दिनयता भने पराल र खोयाका सामान बनाउन व्यस्त छिन् । ६ दिनपछि हुने खोकना पर्यटन महोत्सवको तयारीमा उनको व्यस्तता बढेको हो । नेपाल भ्रमण वर्षलक्षित महोत्सवमा आफूले उत्पादन गरेको सामान प्रदर्शनी गर्नुका साथै बिक्री गर्ने उनको योजना छ ।

तयारी खोकना महोत्सवको

उनीजस्तै अरू वृद्धाले पनि पराल र खोयाबाट चकटी, की रिङ, राजा र रानी, भैरव, काली, बाराही, गणेश, बुद्ध, घोडा, हात्तीको मूर्ति, सुकुन्दा, थ्याका (रक्सी राख्ने भाँडो) बनाइसकेका छन् ।


खोकना तखाः छेँ टोलकी ५१ वर्षीया राधिका महर्जन भने परम्परागत तानबाट पटुका र हाकुपटासी बुन्नमा व्यस्त छिन् । परम्परागत लत्ताकपडाको अर्डर कम भएर घरमा बसिरहेकी उनलाई अहिले खाना खानसमेत फुर्सद छैन । ‘यस्तो महोत्सव प्रत्येक ६/६ महिनामा आयोजना गर्नुपर्छ,’ उनले भनिन्, ‘यसले स्थानीय कला, संस्कृति, सम्पदा संरक्षणसँगै आम्दानी पनि बढाएको छ ।’


स्थानीय युवा जः डंगोल र गोविन्द महर्जनले महोत्सवका लागि खोकनाको ऐतिहासिक दुई सय वटा तस्बिर संकलन गरिसकेका छन् । ४५ वर्षअघि अस्ट्रेलियन आर्किटेक्ट कार्ल पुरुस्चाले खिचेको नेवारी वास्तुकला शैलीका परम्परागत घर, घरबाहिर परालमा उनेर सुकाइएका खुर्सानीका माला, गल्ली, टोल चोकमा दौरासुरुवाल र हाकुपाटासी लगाएका मानिसको फोटो पनि संकलन भइसकेको छ ।


फागुन ९ देखि ११ गतेसम्म चल्ने महोत्सवमा पर्यटकलाई खोकनाको स्थानीय कलासंस्कृति देखाउन ११ टोलका ५० समूह लागिपरेका छन् । जसको नेतृत्व खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले गरेका छन् । उनी भन्छन्, ‘खोकनाको मुख्य आर्थिक स्रोतको रूपमा पर्यटनलाई विकास गर्न महोत्सव गर्न लागिएको हो ।’ महोत्सवमा सहभागी हुनेहरूलाई स्वागत गर्न बालबालिकालाई शनिबार प्रशिक्षण दिइएको छ । डोजर लगाएर खोकना बसपार्कदेखि भित्री बस्तीसम्मको बाटो मर्मत भइरहेको छ । रुद्रायणी सत्तलमा विभिन्न बाजाका धुन गुन्जिरहेका छन् । स्थानीय लक्ष्मीप्रसाद डंगोलको नेतृत्वमा महोत्सवमा नेवारी बाजाहरूको अर्केस्ट्रा प्रस्तुत गर्न रिहर्सल भइरहेको छ । अर्केस्ट्रामा नगरा, धिमे, खिं, पछिमा, मादल, ढोलक, बाँसुरी, शंख, पोंगा छन् ।


खोकना तोरीको तेलका लागि प्रख्यात मानिन्छ । महोत्सवलाई लक्षित गरेर दूध र प्लास्टिकका झोलाबाट बनाइने सामान प्रदर्शनी गर्न छुट्टाछुट्टै महिला समूह पनि खटिएका छन् । दाफा भजन प्रस्तुत गर्न १० वटा टोलमा खलकहरू जुटेका छन् । महोत्सवमा लोप भइसकेका नेवारी याकु बोः बाजा र तिनानाः बाजा, काखमा एउटा तार च्यापेर हातले बजाउने परम्परागत गितार राखिने आयोजनाले जनाएको छ ।


खोकना जावलाखेलबाट ८ किमि दक्षिण–पश्चिमतर्फ पर्ने पुरानो मौलिक बस्ती हो । मुलुकमै सर्वप्रथम बिजुली बलेको इतिहास खोकनासँग छ । खोकना पर्यटन महोत्सव ०७६ मूल आयोजक कमिटीका सचिव रत्नकाजी डंगोलले भूकम्पले क्षतविक्षत बनेको खोकना बल्ल उठेको बताए । ‘यो महोत्सवले हामीलाई थप ऊर्जा दिनेछ,’ उनले भने ।


महोत्सवका लागि ललितपुर महानगरबाट १२ लाख ५० हजार, प्रदेश सरकारबाट २ लाख ५० हजार, ललितपुर महानगर–२१ वडाबाट ५ लाख गरी २० लाख बजेट विनियोजना गरिएको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?