३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘हरियाली हेर्न कहाँ जानु ?’

दोस्रो चक्रपथ विस्तार गर्न २२ सय रुख काटिए, पहिलो चक्रपथमा करिब ३ हजार बिरुवा रोपिए तर कति हुर्किरहेका छन् भन्ने तथ्यांक महानगरसँग छैन
सीमा तामाङ

काठमाडौँ — मानभवनका ७० वर्षीय सुरेन्द्र जोशीको काठमाडौं स्मृति सुन्ने हो भने मुखबाट फुत्किन सक्छ– ‘ए, त्यस्तो पो थियो काठमाडौं ?’

‘हरियाली हेर्न कहाँ जानु ?’

धेरैअगाडि पुग्नै पर्दैन, २५ वर्ष पहिलेसम्म उपत्यकामा खेतका उर्वर पाटा थिए । खुल्ला ठाउँ र रुखहरू प्रशस्त देखिन्थे । सवारी चाप थिएन । स्वच्छ हावा बहन्थ्यो । अहिले उपत्यकामा खुल्ला र हरियाली ठाउँ विरलै भेटिन्छन् । रुख होइन यहाँ ‘कंक्रिटका जंगल’ देखिन्छन् । ‘पहिले घरनजिकै खेत हुन्थ्यो । असार–साउनमा हरियाली देख्दा मनै रमाउँथ्यो,’ उनी विगततिर फर्किए, ‘खुल्ला स्थान प्रशस्त थिए । अहिले त घर–भवनको भद्रगोल अवस्था छ । सडकपेटीमा मात्र केही बिरुवा देखिन्छन् ।’ त्यसबेला उनको घर छिमेकीको भन्दा अग्लो थियो । छतबाट उनी हिमाल नियाल्थे र आनन्दित बन्थे । अहिले अरूले अग्ला महल बनाए, उनको घर सानो बन्यो । ‘अब त अरूका घरले हिमाल नै छेकियो,’ उनी गुनासो गर्छन्, ‘हरियाली हेर्न कहाँ जानु ?’


ठूलाठूला रुख नदेखिए पनि उपत्यकाका सडकपेटीमा पछिल्लो समय रुखबिरुवा हुर्किइरहेका छन् । तिनले केही हदलसम्म हरियालीको महसुस गराएको छ । हराउँदै गएको सहरको सुन्दरता फर्काउन सरकारी तथा गैरसरकारी संस्थाले ‘हरियाली काठमाडौं’ अभियान चलाउँदै आएका छन् । तर रोपिएका बिरुवा हुर्काउन ठूलै चुनौती छ ।

000

ललितपुरको बालकुमारीमा पहिले खरीको बोट थियो । कोटेश्वर–कलंकी सडक विस्तार गर्दा खरी काटियो । त्यहाँको चोकको नाम अहिले पनि खरीबोट नै कायम छ । ‘पहिला त यहाँ निकै हरियाली देख्न पाइन्थ्यो,’ स्थानीय श्यामकृष्ण महर्जनले भने, ‘अहिले उजाड सहरमा फराकिलो सडक मात्र देख्न पाइन्छ । रुख छैनन् ।’ रुखबाट हेर्न बालकुमारी मन्दिरभन्दा माथिको चौरमा जानुपर्ने उनले बताए । ‘त्यहाँचाहिँ रुखले घेरिएको बीच भागमा बस्न मिल्ने ठाउँ छ,’ उनले भने, ‘स्वच्छ हावा खान, धुलोधुवाँदेखि एकछिन भए पनि मुक्त हुन त्यहाँ जाने गरेको छु ।’ उक्त सडकखण्डमा वन तथा भूसंरक्षण विभागले बिरुवा रोपिसकेको छ ।


बालकुमारीको खरीबोट चोकभन्दा केही पर हरित कोलोनी टोल छ । टोलको नाम हरित भए पनि रुखबिरुवा देखिन्नन् । उक्त सडकखण्डको महालक्ष्मीस्थानमा मात्र केही रुख देखिन्छन् । पहिलो चक्रपथ (कलंकी–कोटेश्वर सडकखण्ड) विस्तारका क्रममा थुप्रै रुख काटिए । चिनियाँ कम्पनीले उक्त सडकखण्ड निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । आठ लेनको उक्त सडकको बीचमा चार लेन र दायाँबायाँ दुई–दुई लेन छन् । सडकको सर्भिस लेनको दायाँबायाँ बिरुवा रोप्न मिल्ने ठाउँ छैन ।


काठमाडौंको माइतीघरबाट बानेश्वरतिर प्रवेश गर्ने हो भने केही राहत महसुस हुन्छ । सडकको सर्भिस लेनको दायाँबायाँ तथा बीचमा रोपिएका बिरुवा हुर्किएका छन् । सार्क सम्मेलनमा काठमाडौं महानगरपालिकाले माइतीघरबाट तीनकुनेसम्म विभिन्न प्रजातिका बिरुवा रोपको थियो । त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा तीनकुनेको खुल्ला स्थानको वरिपरि दुबो बिछ्याई बिरुवा रोपिएको थियो । त्यसलाई संरक्षण गर्न महानरपालिकाले सुरक्षा गार्ड नै राख्यो । उजाड बनेको तीनकुनेको पार्कमा थोरै भए पनि हरियाली छाएको छ । पहिलो चक्रपथ विस्तार गर्दा नै रुख काट्न नहुने अभियान चलाइएको वातावरण इन्जिनियर निवेस दुगडले बताए । ‘रुख नकाट्न पहिले पनि विरोध गरेका थियौं,’ उनले भने, ‘अहिले पनि गर्‍यौं तर, ईआईए सार्वजनिक नगरी धमाधम काटिँदै छ ।’ पहिले विरोध गर्दा सडक विस्तार गर्नासाथ बिरुवा रोप्ने आश्वासन दिइए पनि निकै ढिलाइ भएको उनले बताए । ‘बल्ल बिरुवा रोपिएको छ, संरक्षण कस्तो हुने हो, कहिले हुर्किने हुन्,’ उनले चिन्ता गरे, ‘रुख काट्न हतार गरे पनि बिरुवा रोप्न समय लाग्छ ।’


दोस्रो चक्रपथ (कंलकीदेखि चाबहिलसम्म) विस्तार गर्न क्याम्पभित्रका समेत २२ सय रुख काटिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ । पहिलेकै सडकलाई चौडा बनाउन ईआईए (वातावरणीय प्रभाव मूल्यांकन), आईईई दुवै नचाहिने आयोजना प्रमुख अमृतमणि रिमाल बताउँछन् । ‘नयाँ बाटो बनाउँदा वा जंगलमा गएर बाटो बनाएको भए यी प्रक्रियामा जानुपर्थ्यो,’ उनले भने, ‘अकुपाई गरेको ठाउँमा सडक विस्तार गर्न लागेको हो ।’ पहिलो चक्रपथ खण्डमा विभिन्न प्रजातिका ३५ सय वटा बिरुवा रोपिसकेको उनले बताए । ‘पहिलो सडकखण्डमा रुख रोप्न ढिला भयो,’ उनले भने, ‘दोस्रो चक्रपथमा यस्तो हुँदैन ।’


पहिलो चक्रपथमा रोपिएका बिरुवा संरक्षण गर्न ललितपुर महानगरपालिका र सडक विभागले ६/६ जना कामदार राख्न लागेको जनाएको छ । महानगरले दुई वटा ट्यांकर किनेको र त्यसबाटै बोटबिरुवामा पानी हाल्ने गरिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । हरियाली तथा खुल्ला स्थान संरक्षण गर्न महानगरपालिकाले पार्क र खुला स्थानबारिहर रहेका पर्खालसमेत भत्काइरहेको छ ।


काठमाडौं महानगरपालिकाले भने ग्रिन सिटी बनाउने अभियानलाई निरन्तरता दिँदै हरेक वर्ष वातावरण दिवसका दिन वृक्षारोपण गरिरहेको जनाएको छ । महानगरपालिकाभित्रका मुख्य सडकमा अर्नामेन्टल प्लान्ट लगाई सहरको हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । खुला क्षेत्र, सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय, विश्वविद्यालयको कार्यालय परिसर, नदी किनार, सडक किनार, सार्वजनिक जग्गा, पर्ति तथा नदी उकासका स्थलमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिने महानगरपालिकाले जनाएको छ । यस वर्ष पनि करिब १५ सय वटा बिरुवा रोपेको महानगरका वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । तर रोपिएकामध्ये कति हुर्किरहेका छन् भन्ने तथ्यांक महानगरसँग नै छैन । ‘रोपिए पनि बाटो बटुवाले चुडाउँदै हिँड्छन् कसरी बाँकी बसोस्,’ उनले भने, ‘पैदलयात्रु पनि सचेत छैनन् ।’


२०७० सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले कोटेश्वर–लोकन्थली बाटोबीचको खाली ठाउँमा जामुनको बिरुवा रोपी हरियाली काठमाडौं अभियान प्रारम्भ गरेका थिए । पाँच वर्षअगाडि हरियाली अभियानको सुरुवात भएसँगै यो कामले निरन्तरता पाएको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?