रात्रिकालीन बस चलाउने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले रात्रिकालीन सार्वजनिक बस सञ्चालन गर्ने भएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी आगामी वैशाखदेखि सञ्चालनको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ । सरोकारवाला निकायसँग छलफल गरी यस्तो निर्णय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए । पहिलो चरणमा बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बस चलाउने उनको भनाइ छ ।

ZenTravel

दीर्घकालीन सेवा दिने गरी योजना ल्याउन महानगरले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई निर्देशनसमेत दिएको छ । ‘पहिलाजस्तो केही समय चलाएर बन्द गर्ने होइन,’ उनले भने, ‘दीर्घकालीन सेवा दिने योजना बनाउन भनेका छौं, महानगर सहयोग गर्न तयार छ ।’ महासंघ वाग्मती प्रदेशका संयोजक धर्मराज रिमालले यसपटक सेवा सुरु गरेपछि बन्द नहुने गरी योजना बनाइएको बताए । ‘पहिले महानगरपालिकासँग ६ महिने सम्झौता भएको थियो, सम्झौता नथपिए पनि १८ महिना सञ्चालन गर्‍यौं,’ उनले भने, ‘पछि नसक्ने भएर बन्द गर्नुपर्‍यो ।’ अबको रात्रिकालीन सेवामा ५० प्रतिशत बढी भाडा बढी उठाउने गरी अनुमति पाएको उनले बताए । रत्नपार्कलाई केन्द्रित गरेर ललितपुर, भक्तपुरमा समेत सेवा पुर्‍याउने गरी १५ रुट बनाएर सेवा दिने उनको भनाइ छ । सुरुमा ६० वटा बस दैनिक सञ्चालन गर्न सकिने उनले दाबी गरे ।

Meroghar


यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको बताए । ‘सेवा दीर्घकालीन बनाउने ग्यारेन्टी महासंघले लिनुपर्छ । प्रस्ताव सकारात्मक छ,’ उनले भने । महानगरीय ट्राफिक महाशाखा रामशाहपथका एसपी राजकुमार बैदवारले पनि रात्रिकालीन व्यवसायलाई प्रवर्द्धन गर्न र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको बताए । महानगरपालिका सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरका अनुसार यसका लागि प्रदेश सरकार, ट्राफिक, महासंघलगायतका प्रतिनिधि रहने गरी कम्तीमा पाँच सदस्यीय कार्यदल बनाइनेछ ।

२०६९ भदौ १ गतेदेखि काठमाडौं महानगरपालिकाको अनुदानमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करिब १८ महिनापछि महासंघले सेवा बन्द गरेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७६ ०८:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

५०% पनि सकिएन सम्पदा पुनर्निर्माण

दामोदर न्यौपाने

काठमाडौँ — भूकम्पले क्षति पुर्‍याएका ८८१ सम्पदामध्ये ४०० वटाको मात्रै निर्माण सम्पन्न भएको छ । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले भूकम्पको साढे चार वर्ष अवधिमा विश्व सम्पदा क्षेत्रमा १०१ र अन्य क्षेत्रमा २९९ सम्पदाको पुनर्निर्माण सकिएको बताए । उनका अनुसार भूकम्पको धक्काले काठमाडौं, भक्तपुर, ललितपुरसहित १७ जिल्लामा ८९१ सम्पदामा क्षति पुगेको थियो ।

विश्व सम्पदा, राष्ट्रिय सम्पदा र स्थानीय गरी सम्पदालाई तीन वर्गमा विभाजन गरेर निर्माण भइरहेको गौतमले जानकारी दिए । ‘करिब ६० प्रतिशत प्रगति भएको छ,’ उनले भने, ‘दुई वर्षभित्रमा सबै सम्पदा निर्माण गरिसक्ने लक्ष्य राखेका छौं ।’ ठेक्का लगाएका कतिपय सम्पदाको पुनर्निर्माण अलपत्र छ ।

विभागका अनुसार विश्व सम्पदा क्षेत्रका पशुपतिमा वनकाली, भस्मेश्वर, पन्ध्र शिवालय सत्तल, चौतरीया शिवालय, गुह्येश्वरी, किरातेश्वर सत्तल, मृगस्थलीका शिवालयलगायतको पुनर्निर्माण भइसकेको छ । डटुटोलको द्योंछें, जितजंगप्रकाश मन्दिर र सत्तल, गुह्येश्वरी सत्तल पूर्व, सप्तमी सत्तल निर्माण भइरहेका छन् । विश्वरूप मन्दिर, सत्तल, बज्रघर र पञ्चदेवलको भने निर्माण सुरु भएकै छैन । हनुमानढोका दरबार क्षेत्रमा देगुतलेजु मन्दिर, पञ्चमुखी हनुमान, लक्ष्मीनारायण, तलेजु मन्दिर, प्रताप मल्लको ढुंगाको स्तम्भ, वंशगोपाल मन्दिरलगायतको पनि निर्माण सुरु भएको छैन । नौतले दरबार, दसअवतार मन्दिर, काष्ठमण्डप, माजुदेगको पुनर्निर्माण भने जारी छ ।

भक्तपुर विश्व सम्पदा क्षेत्रमा यन्त्रा भत्साला, शिलु महादेव मन्दिरको पूर्वतिरको नारायण मन्दिर, गोलमाडी गणेश मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, तलेजुको तबला घरलगायतको पुनर्निर्माण सकिएको छ । वत्साला मन्दिर, शिलु महादेव मन्दिर र तब सत्तल निर्माण भइरहेका छन् । यक्षेश्वर मन्दिरको निर्माण थालिएको छैन । चाँगुनारायणको चौघेरा सत्तलको भने पुनर्निर्माण भइरहेको छ । पाटनको विश्व सम्पदा क्षेत्रमा चारनारायण मन्दिर, हरिशंकर मन्दिर, केशवनारायण चोक, राधाकृष्ण मन्दिर र भीमसेन मन्दिर निर्माणाधीन अवस्थामा छन् । देगुतलेजु मन्दिरको निर्माण सुरु भएको छैन ।

विश्व सम्पदा क्षेत्रमा अहिलेसम्म पुनर्निर्माण सम्पन्न भएको बौद्धनाथ मात्र हो । दुई वर्षअघि नै त्यहाँको पुनर्निर्माण सकिएको हो । सरकार, भारतीय एक्जिम बैंक र जापान सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको गौतमले जानकारी दिए । विभागले निर्माण गर्ने ७३७ सम्पदाका लागि मात्र ९ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ लाग्ने अनुमान छ । त्यसमध्ये अहिलेसम्म २ अर्ब ३९ करोड ७९ लाख खर्च भएको गौतमले जानकारी दिए । चालु आर्थिक वर्षका लागि ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये ९६ करोड ७९ लाख निकासा भइसकेको छ । विभागबाहेक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पालिकाहरूले पनि पुनर्निर्माणको जिम्मा लिएका छन् ।

उपत्यकाबाहिर क्षति पुगेका ३९२ सम्पदामध्ये १३९ वटाको पुनर्निर्माण सकिएको छ । १५२ सम्पदा पुनर्निर्माण भइरहेका छन् भने १०१ वटाको काम थालिएको छैन । सिन्धुपाल्चोकमा ४३, काभ्रेपलाञ्चोकमा ९१, रामेछापमा ३२, दोलखामा ३८, सिन्धुलीमा ७, नुवाकोटमा ३०, मकवानपुरमा ५, रसुवामा ७ वटा सम्पदामा क्षति पुगेका छन् । त्यसैगरी धादिङमा २१, गोरखामा ४७, ओखलढुंगामा ९, तनहुँमा ३, कास्कीमा ४, लमजुङमा ९, स्याङ्जामा ९, बाग्लुङमा २, पर्वतमा १, म्याग्दीमा १, गुल्मीमा ६, पाल्पामा ६, अर्घाखाँचीमा ६ वटा सम्पदामा क्षति पुगेका छन् । भोजपुरमा ६, धनकुटामा २, खोटाङमा १, सोलुखुम्बुमा १ र संखुवासभामा १ सम्पदामा क्षति पुगेका छन् ।

संरक्षण तथा पुनर्निर्माणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले सहयोग गरिरहेको गौतमले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्रका ६२ वटा, भारतीय अनुदानमा २८ वटा, एसियाली विकास बैंकको सहयोगमा २०, चीन सरकारको सहयोगमा २, जापान सरकारको सहयोगमा २, श्रीलंकाको सहयोगमा २, युनेस्कोको सहयोगमा २ वटा सम्पदा निर्माण गरिरहेको छ । ‘काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट’ ले १५ वटा सम्पदाको जिम्मा लिएको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×