ठगिनुहोला अनलाइन सपिङबाट 

लीला श्रेष्ठ

काठमाडौँ — महानगरीय अपराध महाशाखाले अनलाइनमार्फत ठगी गरेको आरोपमा एक भारतीय नागरिकसहित पाँच जनालाई केही दिनअघि पक्राउ गर्‍यो । उपत्यकाको विभिन्न स्थानमा व्यवसाय गरी बस्ने उनीहरूले अनलाइनमार्फत चिट्ठाको प्रलोभनमा पार्दै ठगी गरेका थिए ।

ZenTravel

पीडितको सूचनाका आधारमा भारत घर भई काठमाडौं–१७ क्षेत्रपाटी बस्ने ४९ वर्षीय नवीन अग्रवाल, बौद्ध बस्ने ५२ वर्षीय आनन्द अग्रवाल, रौतहट घर भई सतुंगल बस्ने २८ वर्षीया शर्मिलाकुमारी श्रेष्ठ, मोरङ घर भई हाँडीगाउँ बस्ने २९ वर्षीय अलंकार जैन र बालाजुका ४० वर्षीय सुशील गुरुङ पक्राउ परे । उनीहरूलाई ठगी मुद्दामा कारबाही थालिएको महाशाखाका प्रवक्ता एसपी मुकेशकुमार सिंहले बताए ।

Meroghar

पछिल्लो समय सामाजिक सञ्जालबाट साथी बनाई विदेशबाट ब्रान्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी, शृंगारलगायतका सामान सस्तो मूल्यमा पठाइदिने विज्ञापन गरी ठगी गर्ने क्रम बढेको प्रहरीले जनाएको छ । ‘ठगीका नयाँ तरिका देखिन थालेका छन्, प्राविधिक हिसाबले हामी अनुसन्धान गर्नेका लागि पनि निकै नौला छन्,’ केन्द्रीय साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले भने, ‘हाम्रो जनशक्ति थोरै छ । त्यसमा पनि पछिल्लो प्रविधिसँग अपडेट हुन सकेका छैनौं ।’

अनलाइन सपिङ व्यवस्थापनसम्बन्धी कानुनी आधार छैन । आफूखुसी वेबसाइट खोलेर अनलाइनमार्फत सपिङ सेवा दिनेलाई निगरानी गर्ने आधार नहुँदा ठगीको धन्दा बढेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजधानीमा सामाजिक सञ्जाल, अनलाइन सपिङलगायत विभिन्न नयाँनयाँ जुक्ति अपनाउँदै ठगी गरेको १५४ उजुरी दर्ता भएका छन् । गत आवमा ३०१ उजुरी दर्ता भएका थिए ।

फेसबुक, ह्वाट्स एप, ट्वीटर, इमो, भाइबरलगायत सामाजिक सञ्जालबाट विदेशी नागरिकका नाममा आईडी खोलेर ठगी गर्ने क्रमसमेत बढेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार विदेशी नागरिकको नाममा प्रोफाइल तयार गरी नेपालीलाई साथी बनाएर बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलरसमेत भएको पार्सल पठाइदिन्छु भन्दै ठगी गर्नेको संख्या बढेको हो । त्यस्ता ठगीमा संलग्नहरूले बहुमूल्य सामानको फोटोसमेत पठाई ‘पार्सल लिएर मेरो मान्छे नेपालमा आउँदै छ, सामान लिनु’ भन्दै सयौं व्यक्तिलाई ठगेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए । पार्सलको नाममा ८० लाख रुपैयाँसम्म ठगी गर्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामाजिक सञ्जालबाट विदेशी नागरिकका नाममा आईडी खोलेर ठगीधन्दा चलाउने दुई विदेशीसहित पाँच जनालाई हालै पक्राउ गरेको हो । पक्राउ पर्नेमा राहदानी नम्बर ए ०९०३९०७२ बाहक नाजेरियाका ४० वर्षीय साइरिल चिनोन्सो आइबेस, राहदानी नम्बर १७ एपी ४१८७१ बाहक आइबेरिकोष्टका २३ वर्षीय आसापे एडजी पिइरजिन, चितवन घर भई काठमाडौं बस्ने ४० वर्षीय रामचन्द्र गैरे, ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन घर भई बनस्थली बस्ने ३१ वर्षीय हरि ओझा छन् । नेपालमै रहेको ९८०३८०४८५८ नम्बरबाट विदेशी नागरिकले फोन गरी ‘विमानस्थलमा आएको सामान छुटाउन नेपाली पैसा चाहिने भयो’ भनेर विभिन्न व्यक्तिको खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सबैलाई ठगी मुद्दामा कारबाही थालेको ब्युरोले जनाएको छ ।

विदेशीको क्रेडिट कार्ड डिटेल चोरी अनलाइन सपिङ गर्ने बाग्लुङ गलकोट–९ घर भई काठमाडौंको बालाजुमा बस्दै आएका ३२ वर्षीय तेजिन्द्र केसीलाई पनि सीआईबीले पक्राउ गरेको छ । उनलाई जापानमा बस्ने नेपाली साथीले जापानी नागरिकको क्रेडिट कार्डको नम्बरलगायतका विवरण भाइबरमार्फत पठाएका थिए । केसीले जापान पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेकाले उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अदालतमा मुद्दा पेस गरेको ब्युरोले जनाएको छ । सस्तो मूल्यमा सामान पठाइदिने भन्दै उनले करिब ८० लाख रुपैयाँ रकमसमेत ठगी गरेको पाइएको छ ।

प्रकाशित : माघ २९, २०७६ ०७:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोना नियन्त्रणमा खटिएका अधिकारी बर्खास्त

एजेन्सी

बेइजिङ — चीनले कोरोना भाइरस नियन्त्रणमा खटिएका केही वरिष्ठ अधिकारीलाई बर्खास्त गरेको छ । भाइरसको उद्‍गस्थल हुबेई प्रान्तको स्वास्थ्य आयोग प्रमुख झाङ जिन र आयोगका लागि चिनियाँ कम्युनिस्ट पार्टी सचिव लियु इङ्गीलाई कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै बर्खास्त गरिएको हो । उनीहरूको ठाउँमा राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक एवं कम्युनिस्ट पार्टीका प्रान्तीय कमिटी सदस्य वाङ हेसेङलाई ल्याइएको छ ।

वरिष्ठ अधिकारी झाङ र लियुलाई हटाउनुको ठोस कारणबारे भने दिइएको छैन । ती अधिकारीलाई सत्तारुढ कम्युनिस्ट पार्टीले पनि कारबाही गर्न सक्ने चीनको भ्रष्टाचारविरोधी निकायले जनाएको छ । भाइरसको प्रकोप नियन्त्रणका लागि प्राप्त चन्दा हिनामिना गरेको आशंकामा रेडक्रसका स्थानीय उपनिर्देशक झाङ चीन पनि हटाइएका छन् । वुहानपछि सबैभन्दा धेरै प्रभावित हुआनगाङ सहरस्थित स्वास्थ्य आयोगका प्रमुख पनि पदमुक्त भएका छन् । कोरोना संक्रमण रोकथाममा खटिँदा उचित कार्य नगरेको भन्दै कारबाहीमा पर्नेमध्ये यी वरिष्ठ अधिकारी हुन् । कारोना संक्रमण नियन्त्रणमा प्रशासनले चालेका कदमलाई लिएर चौतर्फी आलोचना बढिरहेकै बेला उच्च अधिकारी कारबाहीमा परेका छन् ।

बेइजिङस्थित केन्द्रीय सरकारले स्थानीय निकायमा रहेर सार्वजनिक सेवाका काम गरिरहेका जो कोहीले आफ्ना कर्तव्य राम्रोसँग पालना नगरेको उदाहरण भए पेस गर्न भनेको छ । उसले आफ्नो कर्तव्य राम्रोसँग पूरा नगर्नेलाई पदमुक्त गर्ने चेतावनीसमेत दिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

प्रकोप नियन्त्रणका लागि उचित कार्य गर्न नसकेको भन्दै देशैभर तल्लो तहका दर्जनौं स्वास्थ्य अधिकारी पनि कारबाहीमा परेका छन् । कसैलाई चेतावनी दिइएको छ भने कोहीविरुद्ध अनुसन्धान भइरहेको छ । डिसेम्बरमा भाइरस देखिएसँगै नियन्त्रणमा स्थानीय प्रशासनले चासो नदिएको वा सरकारका उच्च तहमा यसबारे जानकारी नगराएकाले अहिले महामारीको रूप लिएको भन्दै हुबेईका अधिकारीविरुद्ध सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । त्यसरी आलोचित हुनेमा हुबेईका गभर्नर वाङ सियाओडोङ र वुहानका मेयर झोउ सियानवाङ पनि छन् ।

कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु

फ्लुजस्तै भाइरसबारे गत वर्षको अन्त्यतिर चेतावनी दिएका आठ जनामाथि वुहान सरकारले गरेको व्यवहारप्रति पनि जनआक्रोश छ । कोरोना संक्रमणकै कारण गत शुक्रबार मृत्यु हुने चिकित्सक ली वेनलियाङ पनि सरकारी निसानामा परेका मध्ये एक हुन् । उनले सन् २००३–२००३ मा देखिएको सार्स संक्रमणको जस्तै लक्षण भएका बिरामी भेटिएको भन्दै सचेत रहन सामाजिक सञ्जालको ग्रुप च्याटमा अन्य सात जना साथीलाई भनेका थिए । पछि उनीसहित सातै जनालाई प्रहरीले अफवाह नफैलाउन चेतावनी दिएको थियो ।

सोही विषयलाई लिएर सामाजिक सञ्जालमा स्थानीय सरकारको व्यापक आलोचना भइरहेकै बेला कैयौं अधिकारीलाई पदमुक्त गरिएको छ । साथै, चिकित्सक लीको मृत्यु र उनले उठान गरेका विषयबारे अनुसन्धान गर्न बेइजिङस्थित भ्रष्टाचारविरुद्धको निकायले एउटा टोली वुहान पठाएको छ ।

प्रकाशित : माघ २९, २०७६ ०७:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×