धराप भवनमा अग्‍नि नियन्त्रक

कान्तिपुर संवाददाता

काठमाडौँ — हनुमानढोकास्थित जुद्ध वारुण यन्त्रको भवन भूकम्पले चर्किएपछि आगलागी नियन्त्रणमा खटिने ३० जनाभन्दा बढी कर्मचारी बस्न नयाँ टहरा बनाइएको थियो । एक वर्षसम्म उनीहरूले यही टहरामा दिनरात बिताए । भत्किन लागेको धराप भवन मर्मत हुने छाँटकाट नदेखेपछि केही अग्नि नियन्त्रकले टहरा नै छाडे । पुनः जोखिमपूर्ण भवनमा फर्किए । 

ZenTravel


‘भूकम्पपछि एक वर्षजति फायर फाइटरहरू त्यहीँ बसेका थिए,’ कार्यालय प्रमुख लीलाराज गाछामगरले भने, ‘त्यसपछि चर्केको भवनमा नै बस्न थालेका छन् ।’ यो भवनको गारो मात्रै होइन भुइँसमेत चर्किएको छ ।

Meroghar


दुई रोपनी दुई आना जग्गामा भएको भवनको मुख्य गेटमा दुई वटा दमकल राखिएको छ । राणाकालीन भवनको वसन्तपुरतर्फको पहिलो र दोस्रो सटरमा काठमाडौं फायर एन्ड रेस्क्यु जिप र बाइक पार्क गरिएको छ । बाँकी सटरमा पुराना मोडलको पानी ट्यांकीरहित दुई दमकल राखिएका छन् ।

मुख्य भवनसँगै जोडिएको दुईतले भवन सरकारले स्थानीय तहलाई दमकल भवन हस्तान्तरण गर्नुअगावै रहेको कार्यालयले जनाएको छ । जुद्ध वारुण यन्त्र काठमाडौंको कार्यालयमा फायर फाइटर मात्र ३१ जना छन् । हाल उनीहरू राणाकालीन भवनको दोस्रो तला र टहरामा बस्दै आएका छन् । माथिल्लो तलामा रहेको १० वटा कोठामा कर्मचारीको बसोबाससँगै उपकरण, लत्ताकपडा, विभिन्न सामग्री राखिएको छ । कार्यालयमा अहिले दुई वटा दमकल, छ वटा फायर बाइक, भर्‍याङ, हेभी रेस्क्यु ट्रक र लाइट पोर्टेबल पम्प एकएक वटा छन् । १९९० सालको भूकम्पपछि जुद्धशमशेर राणाले बारुण यन्त्रको स्थापना गरेका थिए । काठमाडौं महानगरपालिकाको मातहतमा सञ्चालन भएकाले भवन पनि महानगरपालिकाले नै निर्माण गर्नुपर्ने हुन्छ । तर महानगरपालिकाले डेढ वर्षअघि नै जुद्ध वारुण यन्त्र भवनको डिजाइन बनाइसकेको जनाएको छ । तर, पुरातत्व विभागले स्वकृति नदिँदा निर्माण कार्य अघि बढ्न नसकेको महानगरपालिकाले जनाएको छ । सम्पदा क्षेत्रमा रहेको राणकालीन दरबारबाट स्थायी तथा नाफारहित सेवा दिने भएकाले समयमै निर्माण गर्न सकिए राम्रो हुने मगरले बताए ।

नयाँ बन्दै
नयाँ भवन भए पनि मौलिक शैलीकै बनाउने तयारी गरेको महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले बताए । ‘अहिलेको भवन २७ देखि २८ फिट अग्लो छ,’ उनले भने, ‘अब बन्ने भवन उक्त क्षेत्रको मापदण्डअनुसार नै ३५ फिट अग्लो हुन्छ तर स्वरूपमा कुनै फेरबदल हुँदैन ।’ अहिलेको भवनको भुइँ तलामा दमकल राख्ने गरिएजस्तै नयाँ भवनमा पनि दमकल अट्ने क्षमता हुने इन्जिनियर श्रेष्ठले बताए । नयाँ बन्ने भवनमा बसन्तपुरतर्फ दुई तला र धर्मपथतर्फ तीन तलाको हुनेछ ।

दुईतले भवनमा तल दमकल राख्ने र माथिल्लो तलामा कर्मचारीको आवास र स्टोर रहनेछ । त्यस्तै तीनतले भवनमा १२० जना अट्ने सभाहल बनाउने योजना महानगरको छ । ‘मापदण्डअनुसार नै डिजाइन तयार पारिएको छ,’ उनले भने, ‘महानगरपालिकाले बुझाउन नसकेको हो कि विभागले बुझ्न नचाहेको हो, डिजाइन बनाएको डेढ वर्ष भइसक्यो तर काम सुरु हुन सकेको छैन ।’

उक्त सभाहलमा कर्मचारीलाई तालिम, सेमिनारजस्ता क्रियाकलापमा सहभागी गराइनेछ । महानगरपालिकाले भवन निर्माण गर्न १० करोड रुपैयाँ छुट्याएको छ । पुरातत्व विभागका प्रवक्ता रामकुमार कुँवरले महानगरपालिकाले डिजाइन पठाइसकेपछि रायसहितको स्वकृति पठाइसकेको दाबी गरे । ‘विभागले रायसहितको स्वीकृति पठाइसकेको छ,’ उनले भने, ‘विभागले काम रोकेको छैन ।’

प्रकाशित : माघ २९, २०७६ ०७:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पशुपतिका व्यापारीलाई सारिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — पशुपतिको खुला क्षेत्रमा फूललगायत पूजा सामग्री व्यापार गर्दै आएकालाई चार चरणमा व्यवस्थापन गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले पहिलो चरणमा २६ जनालाई नयाँ भवनमा व्यवस्थापन गर्ने प्रक्रिया थालेको जनाएको छ । प्रक्रियाअनुसार आएकालाई पहिलो चरणमा फागुन २ गतेभित्र व्यवस्थापन गर्ने कोषको सेवा सुविधा महाशाखा प्रमुख राजु रेग्मीले बताए । 

कोषले फूल व्यापारीलाई व्यवस्थित गर्न ६४ वटा कोठा भएको भवन बनाएको छ । त्यो भवनमा सबै नअट्ने भन्दै व्यवसायीले विरोध गरेका थिए । पशुपति मन्दिरअगाडि १६४ जना व्यापारी छन् । अर्को भवन बनाएर ती सबैलाई व्यवस्थित गरिने कोषले जनाएको छ । फागुन २ गते २६ जनालाई व्यवस्थित गर्ने र बाँकीलाई छ महिनाभित्र अर्को नयाँ भवन बनाएर राखिने कोषको सञ्चालक परिषद् सदस्य राजु खत्रीले जानकारी दिए ।

२०५८ सालमा कोषले पशुपति अधिग्रहण गरेर यहाँका ११९ घर हटाएपछि ती घरमा पसल सञ्चालन गर्नेलाई टहरामा राखेको थियो । घरधनी र भाडामा पसल सञ्चालन गर्नेको संख्या १४६ थियो । पछि थप २० जना थपेर १६४ जनालाई कोषले टहराको व्यवस्था गरेको थियो । घर पर्ने पहिलो प्राथमिकता र भाडामा बस्नेलाई दोस्रो प्राथमिकतामा परेका थिए ।

कोषले टहरा व्यवस्थित गर्न खत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले टहराको छानबिन गरेर व्यवस्थित गर्नुपर्ने संख्या तोक्नेछ । कोषले घर भत्काएकालाई टहरा उपलब्ध गराए पनि त्यहीँभित्र किनबेच गरेर अरूलाई पसल दिइएको जनाएको छ । त्यसबारे पनि समितिले छानबिन गर्नेछ । यसका लागि तीनवटा मापदण्ड बनाएको महाशाखा प्रमुख रेग्मीले जानकारी दिए । एउटै परिवारका धेरै जनाले पसल चलाएका छन् भने तिनलाई एकै ठाउँमा व्यवस्थापन गर्ने, कानुनका दृष्टिले कोही छुटेका छन् भने त्यसलाई मान्यता दिने र पशुपति क्षेत्रभित्रै वडा नम्बर ८ का छन् भने तिनलाई प्राथमिकता दिएर बाहिरकालाई हटाउने गरी तीन वटा मापदण्ड कोषले बनाएको छ । ‘पशुपति क्षेत्रकाले हामीले केही सुविधा पाएनौं भन्ने गुनासो कोषसँग गर्ने गरेका छन्,’ खत्रीले भने, ‘खाइपाइ आएका कसैलाई पनि नछुटाउने गरी व्यवस्थापन गर्छौं ।’

पशुपति क्षेत्रका मुलसडक, सहायक सडकका पेटी, डबली, खुला चौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भुकुण्डोललगायत क्षेत्रमा अव्यवस्थित टहरामा व्यापार हुँदै आएको छ । यसबाट पशुपतिको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, पर्यटक र पैदलयात्रीलाई अप्ठेरो परेको छ ।

प्रकाशित : माघ २९, २०७६ ०७:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×