कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६२ जिल्लाका विद्यार्थी एउटै विद्यालयमा

गणेश राई

ललितपुर — ललितपुरमा १८६ सामुदायिक विद्यालय छन् । तीमध्ये विद्यार्थी अभावमा आधा दर्जन प्राथमिक तहका विद्यालय अर्कामा गाभिसकिएको छ । सबैभन्दा धेरै विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउने आदर्श सौल युवक माविले भने आइतबार ५० औं वार्षिकोत्सव मनाएको छ । 

६२ जिल्लाका विद्यार्थी एउटै विद्यालयमा

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेन्द्र बरालका अनुसार जिल्लामा विद्यालय संख्या घटेसँगै शिक्षक दरबन्दी मिलान हुँदैछ । ललितपुरको प्राथमिक तहका १९७ जनाको दरबन्दी अन्यत्र पठाउने तयारी गरिएको छ । ‘८२ वटा सामुदायिक माविमध्ये सबैभन्दा धेरै विद्यार्थी र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय आदर्श सौल नै हो,’ प्रमुख बरालले भने, ‘जहाँ विद्यार्थी धेरै छन्, त्यहाँ शैक्षिक गुणस्तर छ भन्ने बुझिन्छ ।’


यो विद्यालय ललितपुर महानगरपालिका–२२ बुङमतीमा छ । यहाँ पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म र वडा नं. २५ छ्यासिकोटमा माध्यमिक तह पठनपाठन हुन्छ । विद्यालयमा कक्षा १२ सम्म ६२ जिल्लाका १ हजार ८३५ विद्यार्थी अध्ययनरत छन् । महाविद्यालयको अवधारणाअनुसार व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायमा स्नातक तहको पठनपाठन भइरहेको छ । यसै वर्षदेखि व्यवस्थापन विषयतर्फ स्नातकोत्तर तहको पढाइ सुरु गरिएको छ । साधारण धारतर्फ समाहित शिक्षाअन्तर्गत ७० जना दृष्टिविहीन, सुस्तश्रवण (बहिरा) र सुस्तमनस्थितिका विद्यार्थी पनि पढ्छन् । १० जना बहिरा विद्यार्थी सरकारी कोटाअन्तर्गत विद्यालयकै छात्रावासमा बसेर पढिरहेका छन् । प्राविधिक तथा व्यावसायिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ पढाइ हुँदै आएको छ । ०२६ मा बुङ्मतीस्थित मच्छिन्द्रनाथ सत्तलबाट यो विद्यालय सुरु गरिएको हो ।


माविका ३८ कोठा क्षमताका पाँचवटा भवन छन् । सबैतिर सीसी क्यामेरा जडान गरिएको छ । अपांगतामैत्री तथा छात्र र छात्रालाई छुट्टाछुट्टै शौचालय छ । शैक्षिक सत्र २०७६ मा १६२ जना एसईई दिने तयारीमा छन् । पढाउने जनशक्ति ५९ जना र १२ जना कर्मचारी कार्यरत छन् । त्यसमा दुई जना सांकेतिक भाषा शिक्षक, पाँच जना कम्प्युटर इन्जिनियर र एक जना स्टाफ नर्ससमेत छन् ।


‘यसरी सफलता मिल्नुमा योजनाबद्ध टिमवर्कको परिणाम हो,’ प्रधानाध्यापक सरोजभक्त आचार्य भन्छन्, ‘मभन्दा अघि प्रधानाध्यापक भीमप्रसाद सापकोटाले सुरुवात गर्नुभयो । कार्यरत रहँदै उहाँको देहान्त भएपछि मैले प्रअको जिम्मेवारी लिएँ । सिस्टमले काम भइरहेको छ ।’ आचार्य ०६९ देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन् । यहाँ ०६२ देखि पूर्ण रूपमा अंग्रेजी माध्यमको पठनपाठन तथा बालबालिका अनुकूल कक्षा छन् ।


विद्यालयमा गरिने व्यवहार र नतिजाले गर्दा अभिभावक र विद्यार्थीको रोजाइमा परेको शिक्षक अभिभावक संघका अध्यक्ष सुजेन्द्र तुलाधरले बताए । ‘हाम्रो स्कुलमा अभिभावक र शिक्षक टिमको समन्वय बलियो छ,’ उनले भने । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगर कार्यपालिकाले ‘शिक्षा कार्यविधि’ पारित गरेको जानकारी गराए । ‘कार्यविधिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ति पर्याप्त व्यवस्था गरेको छ,’ वडा नं ९ का अध्यक्षसमेत रहेका महर्जनले भने, ‘विद्यालय व्यवस्थापन समितिमा जनप्रतिनिधिसमेत रहनेछन् । हरेक वडाका विद्यालय सुधारका निम्ति वडा कार्यालय जिम्मेवार हुनुपर्नेछ ।’ कार्यविधिले तीन सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा सेवा सुविधासहित सहप्रधानाध्यापकको व्यवस्था गरेको छ ।


स्वर्णस्मारक अनावरण

उपराष्ट्रपति नन्दबहादुर पुनले ललितपुर–२२ बुङ्गमतीस्थित आदर्श सौल युवक माविको स्वर्णस्मारक तथा सरस्वती मन्दिरको अनावरण गरेका छन् । विद्यालयको ५० औं वार्षिकोत्सवका अवसरमा आइतबार उनले स्वर्णमहोत्सव स्मारिकासमेत विमोचन गरे ।


विद्यालयले स्वर्णमहोत्सका अवसरमा पूर्व प्रधानाध्यापहरू, शिक्षकहरू, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा पदाधिकारी र सल्लाहकारहरूलाई सम्मान गरेको जानकारी प्रधानाध्यापक आचार्यले दिए । विद्यालयका पूर्वविद्यार्थीमध्ये खेलकुद, प्रहरी, मूर्तिकलालगायत विधामा उत्कृष्टलाई सम्मान गरिएको थियो । साताव्यापी महोत्सवमा अभिभावक दिवस, पूर्व शिक्षक, कर्मचारी तथा विद्यार्थी पुनःमिलन खेलकुद प्रतियोगिता, विज्ञान प्रदर्शनी, सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

प्रकाशित : माघ २७, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?