कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चारवटै स्मार्ट सिटीको डीपीआर तयार

दीपेन्द्र विष्ट

सरकारले उपत्यकामा निर्माण गरिने ‘स्मार्ट सिटी’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । मनोहराका लागि फिनल्यान्डको हेलन एन्ड कम्पनी र नेपालकै जेके एसोसिएट जेभीले डीपीआर तयार पारेको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

चारवटै स्मार्ट सिटीको डीपीआर तयार

यस्तै, गुन्डुको नेपाली परामर्शदाता कम्पनी एमआरसी, टोखाको नेपाली कम्पनी टेक र भैंसेपाटीको एमआरसीले डीपीआर तयार पारेका हुन् ।


केही दिनभित्र प्राधिकरणले सबै विश्लेषण गरेर पठाएपछि चाँडै मन्त्रिपरिषद् बैठकमा लगेर निर्णय गर्ने तयारी भएको आयुक्त तिवारीले बताए । उपत्यकाका अन्य स्थानलाई पनि व्यवस्थित बस्ती विकास गर्न सहरी विकास मन्त्रालयले सक्रियता देखाएको छ । ‘केही नगरपालिकाका मेयरले अध्ययन गर्न अनुरोध गरेका छन्, त्यसैअनुसार समन्वय भइरहेको छ,’ उनले भने ।


गुन्डु, मनोहरा, टोखा र भैंसेपाटीलगायतका क्षेत्रमा स्मार्ट सिटी निर्माणका लागि सरकारले तीन वर्ष कित्ताकाट बन्द गरेको छ । करिब तीन वर्षअघि सहरी विकास मन्त्रालयले भक्तपुरको गुन्डु, काठमाडौंको टोखा, ललितपुरको खोकना, काठमाडौं–भक्तपुरको चाँगुनारायणदेखि साँखु क्षेत्रमा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार चारवटा सिटी बनाउँदा १ लाख ३० हजार रोपनी जग्गा समेटिनेछ । चारवटै सहरमा १० लाखभन्दा बढी जनसंख्या अट्नेछन् । साँखु–मनोहरामा १ लाख तथा टोखा, गुन्डु र खोकनामा १०/१० हजार रोपनीमा कित्ताकाटदेखि सम्पूर्ण किनबेचमा समेत प्राधिकरणले रोक लगाएको छ । यसरी १ लाख ६० हजारवटा घडेरी बिक्री गर्ने प्राधिकरणको योजना छ ।


सीमांकनबारे सरकारले सामान्य खाका सार्वजनिक गरे पनि विस्तृत रूपमा नआएको भन्दै स्थानीयले सरकारको आलोचना गर्न थालेका छन् । थलीका सहदेव केसीले तीन वर्षदेखि जग्गा रोक्दा अंशबन्डालगायत काम निकै कठिनाइ भएको गुनासो गरे । ‘काम छिटो भए राम्रो हुन्थ्यो, ढिलाइ हुँदा समस्या भएको छ,’ उनले भने, ‘८ आनाभन्दा कम कित्ताकाट नहुँदा झनै कठिनाइ भयो ।’ आयुक्त तिवारीले चीन सरकारले सहर निर्माणबारे चासो दिएकाले छलफल गरेर अघि बढ्ने बताए ।


स्मार्ट सिटीले समेट्ने क्षेत्र

पहिलो स्मार्ट सिटी एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूल सडक तथा शाली नदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म हुनेछ । खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापखो आयोजना, बोडे, मनोहरा हुँदै पुनः मूलपानी क्रिकेट मैदानलाई समेटिनेछ ।


दोस्रो स्मार्ट सिटी सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुनः सूर्यविनायकसम्म जोडिनेछ ।


तेस्रो स्मार्ट सिटीमा खोकना, बुङमती, सैंबु, वाग्मती झोलुंगे पुल, चोभारसम्मको क्षेत्रलाई समेटिएको छ । चौथो स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूल बाटो सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको क्षेत्र समेटिएको छ । प्रत्येक स्मार्ट सिटीमा बैंक तथा वित्तीय संस्था, खुला चौर, खेलमैदान, ढलपानीको व्यवस्था, ठूला बसको व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : माघ २४, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?