कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो बन्‍नेछ राष्ट्रिय पुस्तकालय

भूकम्पपछि बोरामा सीमित हरिहरभवनको राष्ट्रिय पुस्तकालय भवन जमलमा निर्माण हुनेछ
गणेश राई

काठमाडौँ — भवनको सतहमुनि दुई तला । व्यवस्थित पार्किङ । सतहमाथि पाँच तला र हरेक तलामा फरक–फरक विषयका अध्ययनकक्ष । अपांगता, बालबालिका, र ज्येष्ठ नागरिकअनुकूल । अब बन्ने राष्ट्रिय पुस्तकालयको डिजाइन हो यो । भूकम्पपछि बोरामा सीमित हरिहरभवनको राष्ट्रिय पुस्तकालय भवन जमलमा बन्ने भएको छ ।

यस्तो बन्‍नेछ राष्ट्रिय पुस्तकालय

अब बन्ने भवन सुविधासम्पन्न, प्रविधिमैत्री, अन्तर्राष्ट्रियस्तरको हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले पुस्तकालय रहने भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारिसकेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तकालयलाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाइएको बताए ।


सरकारले काठमाडौं महानगरपालिका–१ जमलमा करिब ८ रोपनी जग्गा राष्ट्रिय पुस्तकालयलाई उपलब्ध गराएको छ । पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको भवनमा पुस्तकालय बनाउन लागिएको हो । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको यो ठाउँ अहिले शंकरदेव क्याम्पसले उपभोग गर्दै आएको छ । आउँदो फागुन १५ गतेबाट निर्माण स्थलका पुराना संरचना हटाउन सुरु गरिने मन्त्रालयले जनाएको छ । ‘अब यसलाई नेपालको राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइनेछ,’ मन्त्री पोखरेलले कान्तिपुरसित भने, ‘यो पुस्तकालय भवन अत्याधुनिक मात्र नभई नेपाली कला, संस्कृति परम्परा झल्किने प्रविधिमैत्री, पाठकलाई अधिकतम सजिलो बनाउने, पढूँपढूँ लाग्ने थलोका रूपमा निर्माण हुनेछ ।’ भवन निर्माण लागत ९८ करोड रुपैयाँ लाग्ने डीपीआरमा उल्लेख छ । चालु आर्थिक वर्षमा भवनका लागि ४ करोड ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ । भवन तयार हुन तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।


ललितपुरको हरिहरभवनमा रहेको पुस्तकालय भवन ०७२ वैशाखको भूकम्पले जीर्ण बनेपछि डेढ लाख पुस्तकलाई बोरामा पोको पारेर राखिएका छन् । पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा ८० हजार थान पुस्तक सारिएको बताए । २१ हजार थान पुस्तक सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाममा पुर्‍याइएका छन् । बाँकी पुस्तक हरिहरभवनकै बालशाखामा गोदामभित्र बोरामा राखिएका छन् । तीन सय वर्ष पुराना पुस्तक बोरामै थन्किएका हुन् । हस्तलिखित ग्रन्थहरूमध्ये केहीलाई कपडाले बेरेर राखिएको छ । रेकर्डअनुसार राष्ट्रिय पुस्तकालयमा दर्ता गरिएका १ लाख ८ हजार किताब र पत्रपत्रिकासहित १ लाख ५० हजारभन्दा बढी छन् ।


राष्ट्रिय पुस्तकालयमा २३ कर्मचारी दरबन्दी रहेमा कटौती भई हाल १५ जना कार्यरत छन् । सरकारले ०१३ पुसमा राष्ट्रिय पुस्तकालय स्थापना गरेको हो । सुरुमा राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरिद गरेर पुस्तक संकलन सुरु गरिएको थियो । उतिखेर सिंहदरबार परिसरको सिक्री ढोका भवनमा रहेको उक्त पुस्तकालय ०१७ सालमा ललितपुरको हरिहरभवनमा सारिएको थियो ।

प्रकाशित : माघ १८, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?