कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लेन बन्यो, ऐन कहिले ?

सीमा तामाङ

काठमाडौँ — साइकल सिटी बनाउने योजनाअन्तर्गत ललितपुर महानगरपालिकाले मंसिरदेखि लेन निर्माणको काम सुरु गर्‍यो । उक्त लेन अन्य सवारीसाधनसँग मिलेर चलाउनुपर्ने थियो । साइकल आएको खण्डमा अन्य सवारीले बाटो छोड्नुपर्ने र साइकल नभएको खण्डमा चलाउन पाइने बताइएको थियो तर लेनमा ठूला सवारीसाधनले साइकलयात्रुलाई प्राथमिकता दिएनन् ।

लेन बन्यो, ऐन कहिले ?

साइकल प्रयोगकर्ता सुरक्षित नहुने भएपछि साइकल ऐन ल्याउने तयारी महानगरपालिकाले गरेको थियो । ऐनबाट उक्त लेनमा साइकल यात्रुलाई प्राथमिकतासँगै सुरक्षाको प्रत्याभूति हुने मेयर चिरीबाबु महर्जनले बताएका थिए । साइकलसम्बन्धी एक कार्यक्रममा उनले पुसको अधिवेशनबाट साइकल ऐन पारित गर्ने दाबी गरेका थिए तर माघको दुई साता भईसक्दा पनि साइकल ऐन ल्याउन सकेको छैन ।


महानगरपालिकाले साइकलसम्बन्धी काम गर्न परामर्शदाता नियुक्त गरेको नेपाल साइकल सोसाइटी पनि साइकल ऐन आउने/नआउने भन्ने अन्योलमा छ । साइकल ऐनका प्रारम्भिक ढाँचा २५ दिनअगाडि नै महानगरपालिकालाई दिइसकेको सोसाइटीको साइकल ऐन निर्माण संयोजक तथा वातावरणीय इन्जिनियर निभेष दुगडले बताए । ‘महानगरले माघमा पारित गर्ने योजना सुनाएको छ,’ उनले भने ।


साइकल ऐनको ड्राफ्ट साइकलयात्री, पैदलयात्री र अन्य सवारीसाधनलाई मध्यनजर गर्दै बनाइएको उनले बताए । उक्त लेनमा साइकल र ह्वीलचियर प्रयोगकर्तालाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरे । उक्त ऐनको ड्राफ्टमा साइकलमा दुईभन्दा बढी सवार हुन नपाइने तर सिट भएको खण्डमा सिटअनुसार यात्रा गर्न पाइने उल्लेख छ । साइकल लेनमा साइकलयात्रुको अग्राधिकार हुने तर लेन नभएको खण्डमा अन्य सवारी चालकसरह अधिकार हुने उल्लेख छ । त्यस्तै, साइकल प्रयोगकर्ताले साइकल चलाउँदा टाढाबाट देखिने चम्किला साधन अर्थात् साइकलको अगाडि हेडलाइट र पछाडि रातो परिवर्तनशील बत्ती राख्नुपर्नेछ ।


साकइल प्रयोगकर्ताको बिमा सम्बन्धमा महानगरपालिकाले कोष खडा गर्ने साइकल ऐनको ड्राफ्टमा उल्लेख छ । साइकल चालकलाई प्राथमिकता नदिई उक्त लेनमा अन्य सवारीसाधन चलाएको खण्डमा एक हजार रुपैयाँ र लेनमा पार्क गरेमा पाँच सय रुपैयाँ जरिवाना हुने उल्लेख छ । ऐन कार्यान्वयन गर्न महानगरले साइकलसम्बन्धी निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सकिने उल्लेख छ । साइकल ऐनबारे छलफल भइरहेको महानगरको कानुन महाशाखाका प्रमुख तथा विधेयक समितिका सदस्य खगेन्द्रप्रसाद वस्तीले बताए । ‘सडक विभाग, यातायात विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखासँग ऐनबारे छलफल जारी छ,’ उनले भने, ‘तीनवटै निकायबाट समन्वय भइसकेपछि महानगरपालिकाको बोर्ड बैठकमा पेस गर्ने र त्यसपछि नगरसभाबाट पास गर्नुपर्ने नियम छ ।’


महानगरपालिकाले कुपन्डोल हुँदै लगनखेलदेखि मंगलबजार–पुल्चोकसम्म साइकल लेन निर्माण गरिरहेको छ । करिब पाँच किलोमिटर सडकखण्डमा साइकल लेन निर्माण भइरहेको हो । मंसिरदेखि सुरु गरे पनि कुपन्डोलदेखि पुल्चोकसम्म एकतर्फी मात्र काम भएको छ । रमित कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर विनोद सिलवालले कुपन्डोलदेखि पुल्चोकको आकासेपुलसम्म एकातर्फ काम गरिसकेको बताए । ‘मध्यरातमा काम गर्न्पुर्छ, थर्मोप्लास्टिक पेन्टरको पनि अभाव छ,’ उनले भने, ‘निर्धारित समयमै काम सकाउन लागिपरेका छौं ।’ एक साताभित्र अर्को सडकखण्डमा पनि लेन निर्माण गरिसक्ने उनले दाबी गरे । ‘लबिम मलको विपरीततर्फको सडकखण्डमा लेन छुट्याई साइकल र ट्राफिकको चिह्न बनाइसकेको छ,’ उनले भने ।

प्रकाशित : माघ १३, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?