१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

व्यापारिक कम्प्लेक्स बनाउन फेरि चलखेल

विद्यालयको पर्खाल एकतर्फी रूपमा भत्काउँदा खेल मैदानको रूपमा रहेको ७ आना खाली जग्गा गुम्नेछ
प्रशान्त माली

(ललितपुर) — ललितपुरको पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालयको खेलमैदानमा व्यापारिक कम्प्लेक्स बनाउन फेरि चलखेल सुरु भएको छ । विद्यालयको जग्गामा बाटो विस्तार गरेर भवन बनाउन लागिएको हो । सडक विस्तार गर्ने बहानामा विद्यालयको जग्गामा एकतर्फी पर्खाल लगाउन थालिएको छ । यसअघि स्थानीयले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएपछि काम रोकिएको थियो ।

व्यापारिक कम्प्लेक्स बनाउन फेरि चलखेल

विद्यालयले ०६४ मा पूर्वपट्टिको तीन रोपनी जग्गामा व्यापारिक भवन बनाउन ललित मण्डप ट्राभल एन्ड टुर्सलाई २५ वर्षका लागि भाडामा दिएको थियो । ०६८ मा विद्यालय, टुर्स र क्लासिक डाइमन्सबीच सहमति हुँदा डाइमन्सलाई दिने निर्णय भयो । ठेकेदारले भवन बनाउन लाग्दा ललितपुर महानगरपालिकाले गाइडेड ल्यान्ड डेभलपमेन्ट (जीएलडी) मापदण्डअनुसार सडक चौडा नभएको भन्दै नक्सापासमा रोक लगाएको थियो । अहिले नक्सापास स्वीकृतिका लागि कम्प्लेक्स बनाउने योजनाअनुरूप सडक चौडा गर्न विद्यालयको पर्खाल भत्काइएको स्थानीय बताउँछन् ।


विद्यालयको पूर्वपट्टिको भाग न:टोल–पाटनढोका सडकअर्न्तगत पर्छ । जीएलडी मापदण्डअनुसार सडक ११ मिटरको छ । सडकको क्षेत्राधिकारअनुसार बीच भागबाट दायाँबायाँ ५.५ मिटर छोड्नुपर्छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश डंगोलले आफूहरूको निर्णयविपरीत जनप्रतिनिधिको संरक्षणमा उपभोक्ता समितिले जबरजस्ती काम थालेको बताए । ‘सडक विस्तारको आवश्यकता हो भने सबैसँगको सहकार्यमा गर्नुपर्थ्यो,’ उनले भने, ‘यो त मनोमानी ढंगबाट भयो ।’ विद्यालयको पर्खाल एकतर्फी रूपमा भत्काउँदा खेल मैदानको रूपमा रहेको ७ आना जग्गा क्षति पुग्ने उनले बताए । ‘यो बिल्कुल विद्यालयलाई मान्य छैन,’ उनले भने ।


सडकको अर्कोतर्फ मिश्रित बस्ती भएकाले मापदण्ड लागू नहुने महानगरको तर्क छ । ललितपुर महानगरपालिका–३ का अध्यक्ष श्रीगोपाल महर्जनले पाटनढोका–पुल्चोक सडकको पूर्वपट्टिका बस्तीमा घर बनाउँदा सेडब्याक छोड्न नपर्ने दाबी गरे । ‘सेडब्याक छोड्न नपर्ने भएकाले सडक विस्तार गर्दा घर पनि भत्काउन पर्दैन,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समितिसँग छलफल गरेर मात्र पर्खाल लगाएको हो ।’ विद्यालयका प्रिन्सिपल गोविन्दप्रसाद पौडेलले जनप्रतिनिधिसँग छलफल भए पनि विद्यालय व्यवस्थापन समितिबाट निर्णय नभएको बताए । ‘महानगरमा भएको बैठकमा विद्यालयले सहजीकरण गर्ने भन्ने कुरा भएको हो,’ उनले भने । यस विषयमा स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दर्ता गरेका छन् । अख्तियारमा परेको उजुरीमा विद्यालयको जग्गामा विभिन्न संरचना निर्माण गरी व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले पर्खाल लगाउन थालेको, प्रशासनले गर्नुपर्ने निगरानीमा कमी आउनासाथ विद्यालयको जाडो बिदाको दिन पारेर पुन: काम सुरु गरेको र आर्थिक चलखेल हुन सक्ने सम्भावना रहेको उल्लेख छ ।


स्थानीय पृथविन्दु महर्जनले केही पहुँचका व्यक्तिको मिलेमतोमा सडक विस्तारको नाममा विद्यालय जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन लागेको बताइन् । ‘अख्तियारले यससम्बन्धी चाँडै छानबिन थालेर दोषीमाथि कारबाही गरोस्,’ उनले भनिन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले महानगर र विद्यालयबीच सहमतिमा काम हुन लागेकाले प्रशासनको खासै भूमिका नभएको प्रतिक्रिया दिए । ‘विद्यालयलाई क्षतिपूर्ति दिने र आवश्यक परेमा संरचना बनाउने निर्णय भएको छ,’ उनले भने ।


सचिवले दिए राजीनामा

विवाद बढेपछि उपभोक्ता समितिका सचिव राजेन्द्रप्रसाद विडारीले पदबाट राजीनामा दिएका छन् । उनी विद्यालयका शिक्षकसमेत हुन् । विद्यालय ललितपुर महानगरपालिका–३ मा पर्छ । तर, सडक चौडाको काम भने २० नम्बर वडाबाट स्थानीय उपभोक्ता समिति गठन गरेर भएको छ । उपभोक्ता समितिका अध्यक्ष दिनेश महर्जनले विडारी विद्यालयका शिक्षक भएकाले समितिमा बस्न नहुने भएर राजीनामा दिएको तर्क गरे । ‘३ नम्बर वडाले चासो नदिएकाले २० बाट काम थालेका हौं,’ उनले भने, ‘२० नम्बरका वडाध्यक्षको सहमतिमै काम थालिएको हो ।’


ललितपुर महानगर–२० का वडाध्यक्ष चन्द्र महर्जनले ट्राफिक जामका कारण सडक विस्तार गर्नुपरेको दाबी गरे । यही सडक चौडा गर्न ललितपुर महानगरले यस आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।


प्रकाशित : माघ ११, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?