कलिलैमा गर्भनिरोधक औषधि

फातिमा बानु

काठमाडौँ — बालाजुको होटलबाट एक महिनाअघि १७ किशोरीलाई प्रहरीले उद्धार गर्‍यो । ग्राहकसँग बसिरहेको अवस्थामा उद्धार गरिएका उनीहरूको जाँच गर्दा पाखुरामा इम्प्लान्ट (परिवार नियोजनको साधन) राखिएको भेटियो । एक किशोरीले दुई वर्षदेखि इम्प्लान्ट प्रयोग गरिरहेको प्रहरीलाई बताइन् । वेटरको काम दिन्छु भनेर राखेका होटल साहुले ग्राहकसँग यौनसम्बन्ध राख्न लगाएको उनको भनाइ थियो ।

‘हेला सहन नसकेर तीन वर्षअघि घरबाट भागेँ,’ उनले भनिन्, ‘भाँडा माझेर भए पनि एक्लो ज्यान पाल्छु भनेर काठमाडौं आएँ ।’ केही समय उनले वेटरको काम गरिन्, जसबापत् मासिक चार हजार पारिश्रमिक पाउँथिन् । बाध्यताले होटलमा काम गर्दा दुई वर्षयता शारीरिक शोषणमा परेको उनले दुखेसो पोखिन् । जबरजस्ती यौन र गर्भ रोक्न प्रयोग गरिएका औषधिले संक्रमण भएर उनको पाठेघरमा घाउ भएको छ । अहिले उनी शक्ति समूहको पुनर्स्थापना केन्द्रमा आश्रय लिएर बसेकी छिन् ।


स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार कलिलो उमेरमै गर्भनिरोधकका साधन प्रयोग गर्दा महिलाको स्वास्थ्यमा दीर्घकालसम्म असर गर्छ । ‘साधन प्रयोग गर्नु भनेको यौनक्रियामा सक्रिय हुनु हो । सानै उमेरमा यौनमा सक्रिय हुनु र गर्भनिरोधका साधन प्रयोग गर्दा शरीरमा हार्मोनको सन्तुलन बिगारिदिन्छ,’ उनले भने, ‘पाठेघरको संक्रमण हुँदै क्यान्सरसम्म भएर ज्यान जान सक्छ ।’ गर्भनिरोधक साधन प्रयोग गरेकै कारण नुवाकोटकी १४ वर्षीया अर्की किशोरी पनि पाठेघरको संक्रमण खेप्दै छिन् । सानै छँदा बाबुआमाको काख छुटेपछि उनलाई छिमेकीले पालेका थिए । बजारमा काम लगाइदिने भन्दै गाउँकै एक व्यक्तिले एक होटलमा छोडिदिए । त्यहाँ भाँडा माझ्नुको साटो ग्राहक रिझाउने काम लगाएको उनले बताइन् । उनले भनिन्, ‘हरेक दिन साहुले औषधिको चक्की खान दिन्थे तर मलाई के दिएको भनेर थाहा थिएन ।’ कलिलै उमेरमा यौनकार्यमा संलग्न भएको र गर्भनिरोधक औषधि प्रयोगका कारण उनमा महिनावारी अनियमित हुने, सेतो पानी बग्ने र पाठेघरको संक्रमण जस्ता समस्याबाट पीडित छिन् । डा. सुवेदीका अनुसार सानै उमेरमा परिवार नियोजनका साधन प्रयोगले कालान्तरमा बाँझोपन पनि निम्तिन सक्छ ।


राष्ट्रिय मानवअधिकार आयोगले २०७६ मा गरेको अध्यननअनुसार मनोरञ्जन तथा सत्कार सेवा व्यवसायअन्तर्गत पर्ने डान्सबार, दोहोरी साँझ, रोधी, मसाज पार्लर, क्याबिन, गेस्ट हाउस, डिस्को आदि व्यवसायमा महिला र बालबालिकामाथि जबरजस्ती यौन शोषण हुने गरेको उल्लेख छ । अध्ययनले ५६ श्रमिकमध्ये १० जनाले इच्छाविपरीत शारीरिक सम्पर्क गर्न बाध्य रहेको देखाएको छ । जागिर जाने डरले महिला र बालिकाले ग्राहकसँग यौन सम्बन्ध राख्नुपर्ने बाध्यता हुने प्रतिवेदनमा उल्लेख छ । आयोगकी मानवअधिकार अधिकृत यशोदा बञ्जाडेका अनुसार देशका प्रमुख पर्यटकीय एवं सहरी क्षेत्र इटहरी, धरान, काठमाडौं पोखरा, बुटवललगायतका क्षेत्रमा मनोरञ्जन तथा सत्कार व्यवसायको बढ्दो संख्यासँगै त्यहाँ बालबालिकामाथि जबर्जस्ती श्रम र यौन शोषण हुने गरेको छ ।


अन्तर्राष्ट्रिय संस्था द फ्रिडम फन्डले सन् २०१९ मा काठमाडौं उपत्यकाका मनोरञ्जन व्यवसायमा गरेको अध्ययनअनुसार मनोरञ्जन क्षेत्रमा काम गर्ने ५० हजारमध्ये ८० प्रतिशत महिला छन् । १७ प्रतिशत १८ वर्षभन्दा कम उमेरका बालबालिका श्रम गर्छन् । ६ प्रतिशतले यौन शोषण भोगेको र ६० प्रतिशत यौन शोषण हुने वातावरणमा काम गरिरहेको अध्ययनले देखाएको छ ।

प्रकाशित : माघ १०, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?