३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ब्युँताइयो पूर्णचण्डी पोखरी

वरिपरिको पर्खालमा चुना–सुर्कीजस्ता सामग्रीसमेत प्रयोग गरेपछि पाखेरी पुरानै स्वरूपमा आएको स्थानीय बताउँछन्

(ललितपुर) — वरिपरि बस्ती । उत्तरतर्फ अग्लो रुख । पोखरीको चारैतिर फलामको बार । पोखरीको आधाभन्दा बढी भागमा पानीको सतह । वैशाखसम्म सुक्खा चौरलाई ललितपुर महानगरपालिकाले पुरानै पोखरीको रूपमा पूर्णचण्डीलाई ब्युँताएको हो । २ रोपनी ३ आनाको जग्गामा पोखरी बनाइएको छ । प्राचीन स्वरूपअनुसार नै पोखरी पुनर्निर्माण गरिएपछि स्थानीय बासिन्दा खुसी छन् । 

ब्युँताइयो पूर्णचण्डी पोखरी

पोखरी वरिपरिको पर्खालमा चुना सुर्कीजस्ता प्राचीन निर्माण सामग्री प्रयोग गरिएका छन् । पोखरीको पिँधमा कालोमाटो राखिएको छ । बल्खुदेखि कालो माटो ल्याएर पानी अड्याइएको छ । पोखरी वरिपरिबाट वर्षायामको पानी भित्र जान्छ भने बाहिर फिल्टर गरेर पाइपबाट पानी जाने व्यवस्था मिलाइएको छ । पोखरीमा सधैं पानी रहन डिप बोरिङ गर्ने तयारी भइरहेको उपभोक्ता समितिका सदस्य उद्धव मुल्मीले जानकारी दिए । पोखरी ब्युँतिएपछि वरिपरिका इनारसमेत रसाउन थालेको स्थानीय अशोक श्रेष्ठले बताए । ‘मेरो घरको इनार यतिबेला सुकिसक्थ्यो । यो वर्ष प्रशस्त पानी आइरहेको छ,’ उनले भने, ‘मंगलबजारको ढुंगेधारा पनि यही पोखरीको पानीले रिचार्ज हुन्छ भन्ने सुनेका छौं, हेर्दै जाऊँ यसको प्रभाव कहाँसम्म पर्ने हो ।’


पोखरी वरिपरि ३८ वटा इनार छन् । ललितपुर महानगरपालिका कार्यालयबाट मंगलबजार जाने बाटोमै पर्ने यो पोखरी ३० वर्षअघि सुकेको थियो । सुक्खा केही भागमा पार्क बनाइएको थियो । सुक्खा पोखरीको पुनर्निर्माण गत वैशाखबाट सुरु भएको हो । भदौबाट पोखरीमा पानी जमाउन थालियो । वरिपरिको निर्माण अधुरै रहे पनि पोखरीमा भने पानी जमाइएको छ । पोखरी बनाउन महानगरले १ करोड रूपैयाँ खर्च गरेको छ । पोखरीमा पर्यटक आकर्षित गर्न वाटर फाउन्टेनसमेत राख्ने तयारी भएको छ । यसका लागि नगरपालिकाले ३ लाख रूपैयाँ विनियोजन गरिसकेको छ । पूर्णचण्डी मन्दिरबाट दुईवटा पर्यटक मार्गसमेत खोलिएका छन् ।


‘मंगलबजार आउने पर्यटकलाई यतातिर पनि आकर्षित गर्छौं,’ श्रेष्ठले भने, ‘पर्यटकलाई थप एक दिन अलमल्याउने गन्तव्य हुन्छ अब यहाँ ।’ पोखरीसँगै पूर्णचण्डी मन्दिर छ । पूर्णचण्डी बुङमतीका प्रसिद्ध रातो मत्स्येन्द्रनाथको कुलदेवता मानिन्छ । विगतमा पोखरी सुक्नुको मुख्य कारण राजकुलो सुक्नु र पोखरीको वरिपरि फूल रोप्नु रहेको श्रेष्ठले बताए । ‘एकजनाले पोखरीको छेउमा फूल रोप्छु भन्यो,’ उनले भने, ‘पछि त्यो फूल बढ्दै गयो । बढ्दै गएपछि त्यसको जराले माटो अठ्याउँदै गयो । अनि पोखरी सुक्यो ।’


यीमध्ये अहिले पूर्णचण्डी र पिम्बाहल पोखरीमात्र अस्तित्वमा छन् । न्हु पोखरी सुक्खा छ । महानगरले यो पोखरीलाई पनि बनाइरहेको छ । त: पुखु रहेको जग्गामा निजी भवन बनाइएका छन् । निजी भवनको एक छेउमा पिण्ड चढाउने प्रयोजनको लागि सानो पोखरी बनाइएको छ । ‘यो ठूलो तीर्थ थियो,’ पूर्णचण्डी टोल सुधार समितिका सचिव जोनकृष्ण जोशीले भने, ‘अहिले पनि पिण्ड सेलाउन आउनेको भीड लाग्छ । त्यही भएर त्यहाँ सानो पोखरी बनाइदिएका छन् ।’

प्रकाशित : माघ ९, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?