स्वघोषित कुष्ठरोगीलाई पुरस्कार

फातिमा बानु

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिकाले कुष्ठरोगी स्वघोषणा गर्नेलाई १० हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ । कुष्ठरोग निवारणसम्बन्धी कार्यक्रममा शुक्रबार नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले पुरस्कार घोषणा गरेका हुन् । 

समाजले अपहेलना गर्ने डरले घरमै लुकेर बसेका कुष्ठरोगीलाई उपचारमा प्रेरित गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको उनले बताए । ‘उपचार नि:शुल्क छ भन्ने थाहा हुँदाहुँदै पनि बिरामी जाँदैनन् । यो रोग सामान्य हो र उपचार सम्भव छ भन्ने जनचेतना फैलाउन हामीले यस्तो नीति अपनाएका हौं,’ उनले भने, ‘हाम्रो नगरपालिकामा कोही कुष्ठरोगी लुकेर नबसून् ।’


नगरपालिकाले कुष्ठरोगका बिरामीको खोजपड्तालसमेत गर्ने भएको छ । रोगबारे थाहा नभएर घरभित्रै लुकेका बिरामीलाई उपचारमा ल्याउन नगरपालिकाले यस्तो पहल गर्न लागेको हो । स्थानीय संघसंस्था, स्वास्थ्य चौकी र स्वास्थ्य स्वयंसेविकाको सहकार्यमा बिरामी खोजिने नगरपालिकाका जनस्वास्थ्य अधिकृत कुमारप्रसाद दाहालले बताए । ‘स्वास्थ्यकर्मीसहितको टोली लिएर घरदैलोमा जान्छौं,’ दाहालले भने, ‘बिरामी भेटिए उपचार गर्ने र औषधि खुवाउने गर्छौं ।’ पहिलो चरणमा सुकुम्बासी र गरिब समुदायमा बिरामीको खोजी हुनेछ । नगरपालिकामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मीसमेत अभियानमा खटिनेछन् । ‘बिरामीलाई उपचारका साथै जीवन निर्वाहका लागि आवश्यक रकमसमेत दिनेछौं,’ दाहालले भने ।


रोग लागेकै कारण परिवार र समाजले बहिष्कार गरेका करिब ५० बिरामी संघसस्थाले चलाएको गृहमा आश्रित छन् । ती गृहलाई नगरपालिकाले सघाउने भएको छ । ‘त्यहाँ बिरामी अत्यन्तै अभावमा बसेका छन् रे,’ दाहालले भने, ‘अब त्यहाँ आवश्यक औषधिको व्यवस्था गर्छौं, अन्य शाखासँग समन्वय गरेर बस्नेखानेको पनि पहल हुनेछ ।’ पहिलो चरणमा ती बस्तीमा घाउ सफा गर्ने दुई सेट स्वास्थ्यसामग्री दिने उनले बताए ।


नगरभित्रका प्रत्येक विद्यालयमा नर्सबाट कुष्ठरोगबारे सूचना दिन तयारी भइरहेको छ । यसका लागि एक विद्यालय एक नर्स कार्यक्रम पूर्ण रूपमा लागू हुने उनले बताए । ‘जनचेतनाले नै बिरामीमाथि हुने लाञ्छना हट्छ,’ उनले भने, ‘अब कुष्ठरोगका लागि बजेट नै छुट्याएर काम गर्नेछौं ।’



प्रकाशित : माघ ९, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?