कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रातो बत्तीमै बाटो काट्छन् पैदलयात्रु

सीमा तामाङ

काठमाडौँ — बानेश्वरको मुख्य चोकमा पैदलयात्रुले बाटो काट्न ३ मिनेट २० सेकेन्डसम्म पर्खनुपर्छ । यसबीच बाटो काट्नेको संख्या बाक्लै भइसक्छ । पारिपट्टिको ट्राफिक चिह्नमा हरियो बत्ती बलेपछि मात्रै ट्राफिक प्रहरीले बाटो काट्ने अनुमति दिन्छन् । नबलुन्जेल छेउमा उभिएर बस्न आग्रह गरिरहन्छन् । 

रातो बत्तीमै बाटो काट्छन् पैदलयात्रु

यही दृश्य मंगलबार पनि वारि र पारि दुवैतिर देखियो । रातो बत्ती बलेपछि यात्रुहरू रोकिए । एक युवक भने ट्राफिक प्रहरीको निर्देशन नटेरी बाटो काट्न थाले । उनी रहेछन्, कोटेश्वर बस्ने महेश न्यौपाने । उनलाई प्रहरीले रोकिन आग्रह गरे । ‘ट्राफिक लाइट हेरेर मात्र बाटो काटौं, नियमको पालना गरौं,’ प्रहरी भनिरहेका थिए, ‘हतार गर्दा क्षति हुन सक्छ ।’ तर, न्यौपाने भनिरहेका थिए, ‘पुरानो बानेश्वरमा साथी पर्खिरहेका छन् । रातो बत्ती बले पनि खाली सडक देखेर बाटो काट्ने प्रयास गरेको हुँ ।’


न्यौपाने अघि सरेपछि अरू केही पैदलयात्रु पनि बाटो काट्ने तयारीमा थिए तर प्रहरीले छेउमै गएर सम्झाएपछि रोकिए । एक जना भन्दै थिए, ‘ट्राफिकको नियम मान्नु कि बत्तीको ? कहिले बत्तीले हिँड्न संकेत दिँदा पनि ट्राफिकले दिँदैन ।’


बानेश्वरका तीन ठाउँमा ट्राफिक लाइट छन् । मुख्य चोक, शंखमुल जाने सडक र तीनकुने जाने सडकमा । सडकको बीचमा बसेर एक ट्राफिक प्रहरीले दुवैतर्फका पैदलयात्रुलाई लाइट देखाइरहेका हुन्छन् । ‘ट्राफिक लाइट हेरेर बाटो काट्नुपर्छ’ भन्दै उनीहरू सम्झाइरहेका पनि हुन्छन्, तर बाटो पार गर्न कोसिस गर्ने पैदलयात्रु कोही न कोही देखा परिहाल्छन् । मुख्य चोकमै बाटो पार गर्न खोज्ने पैदलयात्रुले अन्य ठाउँमा बत्तीअनुसार चल्दैनन् । शंखमुल सडकखण्डमा गौशालाका निशान्त जोशीले हत्तारिँदै बाटो पार गरे । उनले त्यहाँ राखिएका बत्तीको वास्ता गरेनन् । अन्य समयमा चोकमा मात्र केन्द्रित हुने ट्राफिक प्रहरी मंगलबार शंखमुलमा पनि थिए । देखेसम्म उनीहरूले जोशीजस्ता यात्रुलाई बत्तीअनुसार हिँड्न सम्झाइरहेका थिए ।


सिहंदरबारअगाडिको जेब्राक्रसमा पनि उस्तै दृश्य देखियो । त्यहाँ कोही ट्राफिक प्रहरी थिएनन् । त्यसैले पार गर्न सक्नेहरू जसरी भए पनि बत्तीको संकेतको बेवास्ता गर्दै बाटो पार गरिरहेका थिए ।


पैदलयात्रु पनि सचेत छैनन्

जेब्राक्रसमा सवारीसाधनले पैदलयात्रुलाई महत्त्व नदिएको गुनासो सुनिने गरे पनि बाटो काट्दा पैदलयात्रु पनि सचेत देखिएनन् । अधिकांश पैदलयात्रु सवारीसाधनलाई हात नदेखाई बाटो काटिरहेका हुन्छन् । मैतिदेवीकी संगीता राईले ट्राफिक बत्तीको वास्ता नगरी बाटो काटिन् । सिंहदरबारअगाडिको जेब्राक्रसमा सवारीसाधन गुड्दागुड्दै आफ्नै सुरमा उनी पार भइन् । ‘हतार हुन्छ, जसरी भए पनि सडक पार त गर्नैपर्‍यो नि,’ उनले भनिन्, ‘ट्राफिक लाइट एक महिना बल्छ अर्को महिना हराउँछ, याद नै हुँदैन ।’


महानगरीय ट्राफिक प्रहरी महाशाखाले यतिबेला ‘ट्राफिक उज्यालो कार्यक्रम’ अन्तर्गत पैदलयात्रुलाई पनि सचेतना कक्षा लिइरहेको जनाएको छ । जेब्राक्रस र आकाशेपुलको प्रयोग नगर्ने र सवारी दुर्घटनामा पैदलयात्रुले ज्यान गुमाउने घटना बढेपछि सचेतना कक्षा सुरु गरेको महाशाखाका प्रवक्ता जीवन श्रेष्ठले बताए । ‘जेब्राक्रसमा पनि ध्यान नदिई बाटो काट्नेको कमी छैन,’ उनले भने, ‘त्यसैले अहिले सचेतना कक्षा लिइरहेका छौं ।’


उनका अनुसार पैदलयात्रु तीन किसिमका छन्, जेब्राक्रसिङ र अकाशेपुलबाट मात्र बाटो काट्ने, थाहा भएर पनि त्यसको प्रयोग नगर्ने र जथाभावी बाटो काट्ने । महाशाखाले भोटाहिटी र वीर अस्पतालअगाडि मात्र सचेतना कक्षा लिइरहेको छ । ‘ट्राफिक लाइटसँगै प्रहरी पनि खटाएर बत्तीको पालना गर्ने/गराउने गरेका छौं,’ श्रेष्ठले भने, ‘तर जनशक्तिको अभावले गर्दा सबै ठाउँमा गर्न सकिँदैन ।’

प्रकाशित : माघ ९, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?