भक्तपुरमा छुरा प्रहारबाट किशोरको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर नगरपालिका–६ भोलाछेंमा छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ भक्तपुर–१० चोखा कमलविनायकका १५ वर्षीय रोहन सुवालको छुरा प्रहारबाट मृत्यु भएको हो । 

ZenTravel

प्रहरीले छुरा प्रहारमा संलग्न १५ र १६ वर्षीय दुई किशोरलाई सिद्वपोखरीस्थित कान्तिपुर गेष्ट हाउसबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताए।

प्रहरीका अनुसार ४/५ जना सँगै बसेर मदिरा सेवन गरेको र सामान्य विवादका कारण सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

छुरा प्रहारबाट सख्त घाइते सुवाललाई भक्तपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरिक्षक प्रधानले बताए। प्रहार गरेको छुरा कालोपाटीबाट बरामद भएको समेत उनले बताए।

प्रकाशित : माघ ८, २०७६ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्

सापकोटाको पक्षमा राष्ट्रिय सहमति भइसक्यो, माइतीघरमा दु‌ः ख नगर्नुस् : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख पदका एकल उम्मेदवार अग्निप्रसाद सापकोटाको विषयलाई लिएर आन्दोलन नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् ।

सापकोटाले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि द्वन्द्वकालीन समयमा व्यक्ति हत्याको आरोपी भन्दै विरोध भइरहँदा बुधबार दाहालको उक्त भनाइ आएको हो। दाहालले सभामुखका एकल उम्मेदवार सापकोटाको विषयमा आन्दोलन गरेर दुःख नगर्न आग्रह गरेका हुन्।

खुमलटारस्थित निवासमा दाहालले सभामुखमा सापकोटालाई प्रतिपक्ष र सत्तापक्षले स्वीकार गरेको बताएका हुन्। 'सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न,' उनको आग्रह थियो। ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिइसक्यो। अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा,’ दाहालले भने।

नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा उक्त विषयमा आन्दोलन आवश्यक नभएको दाहालको भनाइ थियो।

सापकोटाका विरुद्धमा कुनै मुद्दा नभएको समेत दाहालले बताए। ‘उहाँमाथि केही पनि छैन। बेकारको कुरा हो त्यो। हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्‍यौँ। हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरूले दुःख नगरे हुन्थ्यो,' उनले भने।

यसअघि बुधबार दिउँसो मावनअधिकारवादीहरूले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए। ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार र कानुनी शासनको सम्मान गर’ भन्ने नारासहित माइतिघरमा प्रदर्शन भएका थिए।

सभामुख निर्वाचनको घोषणा १२ गते हुँदैछ। सापकोटा एकल उम्मेदवार भएकाले उनी सभामुख हुने निश्चित भएको छ। उनलाई द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेको थियो। उक्त मुद्दा सत्य निरुपण आयोगमा रहेको छ भने सर्वोच्च अदालतमा उक्त मुद्दालाई लिएर निवेदन परेको छ। सापकोटाले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन्।

प्रकाशित : माघ ८, २०७६ २१:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×