४७ लाखमा दुइटा पिलर !

प्रशान्त माली

(ललितपुर) — त्रिशूली कन्स्ट्रक्सनका सञ्चालक श्यामबहादुर तामाङले भट्टेडाँडास्थित ठोस्ने खोलाको पुल निर्माण गर्न ३३ प्रतिशत भुक्तानी लिएर पनि काम अधुरै छाडेका छन् । खोला किनारामा दुईवटा पिल्लर पनि राम्रोसँग ठड्याएका छैनन् । 

तत्कालीन जिल्ला विकास समिति ललितपुरले स्विस सरकारको सहयोग परियोजनाबाट आएको १ करोड ३९ लाख ९० हजार १८ रुपैयाँमा पुल निर्माण गर्न २०७१ असार २३ मा तामाङले ठेक्का पाएका थिए । विभिन्न समयमा उनले ४७ लाख ९ हजार ३ सय ९१ रुपैयाँ भुक्तानी लिइसकेका छन् । ठेक्काको पाँच वर्ष बितिसक्दा पनि न त्रिशूली कन्स्ट्रक्सनले काम पूरा गरे न त ठेक्का नै रद्द भयो ।


वागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले ठेकेदार तामाङ नौ महिनाअघि सम्पर्कमा आए पनि त्यसपछि सम्पर्कविहीन रहेको बताए । ‘पुल बनाउँछु भनेर भुक्तानी लगे पनि काम भने छोडेका छन्,’ उनले भने । पूर्वाधार विकास कार्यालय ललितपुर प्रमुख दीपककुमार दासले पुल समयमा निर्माण सम्पन्न हुन नसक्नुमा ठेकेदारको मात्र दोष नरहेको भन्दै बचाउ गरे । ‘खानी खोला हाइड्रोपावरको ड्याम र कान्तिलोक पथ सडकको माटो, ग्रावेल, लेदो खोलामा मिसिएका कारणले खोलाको सतह डेढ मिटर बढ्यो । बाढीले फराकिलो बन्यो,’ उनले भने, ‘पहिलाको डिजाइनअनुसार ठेकेदारले काम गर्न नसक्ने अवस्थामा पुगेको हो ।’


अहिलेको डिजाइनअनुसार काम अगाडि बढाए हाइड्रो पावरको ड्यामभन्दा पुलको हाइट कम हुने उनले बताए । ‘अहिले स्थानीय सडक पुल नियोग ललितपुरका इन्जिनियरको सल्लाह अनुसार काम रोकेका हौं,’ उनले भने, ‘नयाँ डिजाइनअनुसार पुल बनाउन सक्ने भएमा तत्काल ठेक्का रद्द गर्नतर्फ अगाडि बढ्नेछौं ।’ उक्त पुल छपेली– भट्टेडाँडा– इकुडोल सडकअन्तर्गत पर्छ । समयमा पुल निर्माण सम्पन्न नहुँदा दक्षिण किसान बढी मर्कामा परेका छन् । दक्षिणमा करिब ६० प्रतिशत कृषक दुग्ध र तरकारी व्यवसायीमा आबद्ध छन् ।


सबै पुल अधुरो

जिल्लामा २०७१ देखि ०७५ को बीचमा पुल बनाउन ११ वटा ठेक्का भएका छन् । तीमध्ये नेसनल/नीलगिरि जेभीले नख्खु खोला पुल ठेचो निर्माण गर्न ०७६ असारमा सम्पन्न गर्ने गरी ०७५ असारमा २ करोड ६७ लाख ८५ हजार ७ सय ९३ रुपैयाँमा पाएको ठेक्का अझै सम्पन्न भएको छैन । ठेकेदार कम्पनीले ०७६ पुस २९ सम्म गरेको म्याद थपको अवधि पनि सकेको छ । कम्पनीले १ करोड ३२ लाख ८२ हजार रुपैयाँ भुक्तानी लिइसकेका छन् । नार्गाजुन/कँडेल जेभीले ०७५ फागुनमा सम्पन्न गर्ने गरी ०७४ असारमा ५ करोड ८५ लाख ३९ हजार ६ सय १४ रुपैयाँमा ठेक्का पाएको टुंगुन खोला पुल लेले चन्दनपुर सडक पनि समयमा सम्पन्न भएको छैन । ठेकेदार कम्पनीले ३ करोड ८ लाख ४५ हजार ७ सय ४ भुक्तानी लिइसकेका छन् । कम्पनीको ठेक्का ०७७ जेठ १४ सम्म म्याद थप गरिएको छ । खानी खोला पुल, कलवन भट्टेडाँडाको अवस्था पनि उस्तै छ । ठेकेदार कम्पनीले ०७५ वैशाखमा सम्पन्न गर्ने गरी ०७४ असारमा ३ करोड ९ लाख ९० हजारमा ठेक्का पाए पनि हालसम्म निर्माण सम्पन्न गरेका छैनन् ।


नख्खु खोला कार्यविनायक चुनीखेल पुल भने ठेक्कापट्टा नै हुन सकेन । चुनीखेल पुल निर्माण गर्न चालु आर्थिक वर्षका लागि ५३ लाख छुट्याएको थियो । पूर्वाधार विकास कार्यालय ललितपुरका सूचना अधिकारी हरिप्रसाद ओझाले खोला पूर्वपट्टि ठेचो बस्तीबाट खोलासम्म पुग्न सडक नभएकाले कार्यान्वयमा ल्याउन नसकेको बताए ।

प्रकाशित : माघ ७, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?