३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मेलम्चीको पाइप बिछ्याउने काम सुस्त

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पाइप लाइन बिछ्याउने तथा फोहोर पानी प्रशोधन केन्द्रको काममा सुस्तता आएको छ । सरोकारवाला निकाय आयोजना कार्यान्वयन निर्देशनालयले कडाइ नगरेपछि काममा सुस्तता आएको हो । गत वर्षको तुलनामा पाइप लाइन र फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सुस्ताएको हो । यो मेलम्ची आयोजनाको दोस्रो ठूलो काम हो । 

मेलम्चीको पाइप बिछ्याउने काम सुस्त

६ वटै फोहोर प्रशोधन केन्द्रको ठेक्का भइसके पनि गुह्येश्वरीस्थित प्रशोधन केन्द्रको मात्र निर्माण सम्पन्न भइसकेको छ । गुह्येश्वरीमा ३ करोड २४ लाख लिटर क्षमताको केन्द्रको केही दिनभित्रै उद्घाटन हुने जानकारी खानेपानी तथा सरसफाइ मन्त्रालयका एक अधिकारीले दिए । ‘पानी सुन्दरीजलमा आउनेमा करिब करिब ढुक्क छौं तर पाइप बिछ्याउनेलगायत अन्य काम सुस्त भए,’ ती अधिकारीले भने ।

सुन्दरीजलदेखि महांकालसम्मको ११ किमिमा बिछ्याइएको मुख्य पाइपको क्षमता चाहिनेभन्दा कम भएको उनले बताए । ‘१७ करोड लिटर क्षमताको पाइप बिछ्याइएको छ, फागुन, चैत, वैशाख र जेठबाहेक ८ महिना मेलम्चीबाट दैनिक ५० करोड लिटरसम्म पानी आउँछ,’ ती अधिकारीले कान्तिपुरसँग भने, ‘याङग्री र लार्के त पछिको कुरा हो ।’


याङग्री र लार्केबाट दैनिक थप ३४ करोड लिटर पानी आउनेछ । यसरी सुन्दरीजलदेखि महांकालसम्मसमेत पाइप लाइन बिछ्याउनसमेत नसकेकामा उनले आश्चर्य प्रकट गरे । ‘मुख्य पाइपलाइन बिछ्याइएको छैन, अरूको के कुरा गर्नु ?’ ती अधिकारीले भने । सल्लाघारी र कोड्कुमा एक/एक वटा तथा धोबीघाटमा दुइटा फोहोर पानी प्रशोधन केन्द्र निर्माण भइराखे पनि तिनको काम निकै सुस्त छ ।

सल्लाघारीमा १ करोड ४२ लाख, धोबीघाटमा ८ करोड ७७ लाख र कोड्कुमा १ करोड ७५ लाख लिटर प्रतिदिन फोहोर पानी प्रशोधन गर्ने योजना छ । धोबीघाटमा २२ करोड, कोड्कुमा १ करोड ७० लाख, गुह्येश्वरीमा १ करोड ६० लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिनेछ ।


सन् २०१८ मा ६ वटै केन्द्रको निर्माण सम्पन्न हुने योजना भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । मेलम्ची खानेपानी आयोजना सम्पन्न भइसकेपछि उपत्यकामा दैनिक ५१ करोड लिटर पानी थपिनेछ । मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणमा निर्माणाधीन ६ वटा फोहोर पानी प्रशोधन केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानी मात्र प्रशोधन गर्नेछ । आयोजनाका अनुसार ८० प्रतिशत फोहोर पानी प्रशोधन गर्न थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ । ६ वटा फोहोर पानी प्रशोधन केन्द्र निर्माण भइसकेपछि गोकर्ण, टुकुचा र भक्तपुरको हनुमानघाटमा समेत विकेन्द्रित फोहोर पानी प्रशोधन केन्द्र निर्माण हुनेछन् । गोकर्ण (२० लाख लिटर), हनुमानघाटमा १० लाख लिटर र टुकुचामा १० लाख लिटर क्षमताका प्रशोधन केन्द्र निर्माण गरिनेछ ।


हनुमानघाट, गोकर्णमा आयोजना कार्यान्वयन निर्देशनालय र टुकुचामा अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिले प्रशोधन केन्द्र निर्माण गर्नेछ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख भोजविक्रम थापाले चिनियाँ ठेकेदारले काममा ढिलाइ गरेको बताए । ‘केही ढिलाइ भएको छ, ठेकेदारलाई बोलाएर छलफल गरिसकेका छौं, अब काम चाँडै गर्छु भनेका छन्,’ उनले भने, ‘मेलम्चीको पानी ल्याउनुअघि नै अधिकांश संरचना निर्माण हुन्छन्, प्रशोधन केन्द्र अन्य स्थानमा पनि निर्माण हुन्छन् ।’


प्रशोधन केन्द्रसम्म पुग्न ढलहरूको निर्माण वागमती र धोबीखोला वारिपारि भइसकेको छ । मनोहरा, हनुमन्ते र खस्याङखुसङ खोलामा ढल निर्माण भइरहेको छ । मनोहरामा ११ किमि, हनुमन्तेमा २५ किमि र खस्याङखुसङमा ७ किमि ढल बिछ्याउने काम भइरहेको छ । हनुमन्ते, मनोहरा र खस्याङखुसङ खोलामा ४५ किमि लामो इन्टरसेप्टर (ठूला पाइप) पाइपलाइन बिछ्याइनेछ । सन् २०३० सम्म ५४ लाख जनसंख्यालाई लक्षित गरेर फोहोर पानी प्रशोधनको व्यवस्था गर्न लागिएको आयोजनाको दाबी छ । २०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब ३० लाख छ । हाल गुह्येश्वरीमा रहेको फोहोर पानी प्रशोधन केन्द्रले सुरुङमार्फत तिलगंगास्थित वागमतीमा पानी मिसाएको पनि अब गुह्येश्वरीबाट सिधै वागमतीमा प्रशोधित पानी मिसाइनेछ । पशुपतिनाथ मन्दिरस्थित आर्यघाटमा नुहाउनयोग्य पानी बनाइनेछ ।

ललितपुर महानगरको २० प्रतिशत र आयोजनाको ८० प्रतिशत लगानीमा पाटन दरबार क्षेत्रमा ढल बिछ्याउने काम भइरहेको छ । काठमाडौं महानगरपालिकाको ठमेल, वसन्तपुरलगायत मुख्य भागमा ढल बिछ्याउनका लागि पनि पहल भइरहेको छ साथै वर्षातको समयमा बाढीको पानी प्रशोधन केन्द्रको क्षमताले धान्न नसक्ने हुँदा विभिन्न नदी किनारमा बनाइएका ‘ओभरफ्लो म्यान होल’ बाट सिधै नदीमा जानेछ । प्रशोधन केन्द्र वातावरणमैत्री बनाउनका लागि वरपर बोटबिरुवा तथा फूल रोपिनेछ । त्यसका साथै पानी जम्मा हुने स्थानलाई सिमेन्टको ढलानले छोपिन्छ ।

प्रकाशित : माघ ६, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?