१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिंहदरबारको गुरुयोजना संशोधन गरिँदै

राज्यका तीनै अ‌ंगलाई एउटै परिसरमा राखिने
आधुनिक एकीकृत सुरक्षा स‌ंयन्त्र बनाइने
ऋषिराम पौड्याल

काठमाडौँ — सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई सिंहदरबारको एउटै परिसरमा राखेर दैनिक आउजाउका लागि एकीकृत सुरक्षा प्रणालीजडित छुट्टाछुट्टै प्रवेशद्वार बनाउन गुरुयोजना संशोधन गर्ने भएको छ । ८ सय ७ रोपनी जमिनमा सर्वोच्च अदालत, संघीय संसद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयहरूलाई थप व्यवस्थापन गर्न गुरुयोजनालाई १३ औं पटक संशोधन गर्न लागिएको हो ।

सिंहदरबारको गुरुयोजना संशोधन गरिँदै

सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गुरुयोजना संशोधनलाई अन्तिम रूप दिइरहेको छ । आगलागीबाट सिंहदरबार जलेपछि २०३७ सालमा पहिलो पटक गुरुयोजना बनाइएको थियो ।


भूकम्पले भत्काएको सिंहदरबारस्थित राणाकालीन मूल भवनलाई हाल पुनर्निर्माण प्राधिकरणले रेटोफिट (प्रबलीकरण) गरिरहेको छ । सरकारले सिंहदरबार परिसरकै पुरानो संसद् भवन (ग्यालरी बैठक) भत्काउने तयारी गरेको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ग्यालरी बैठक भत्काएर आवश्यकताअनुसारको संरचना बनाउन निर्देशन दिइसकेको छ । भूकम्पले काम नलाग्ने गरी भत्काएपछि राणकालीन उक्त बैठक हल प्रयोगविहीन छ ।


संशोधित गुरुयोजनामा सिंहदरबार परिसरमा पुतलीबगैंचाको ५२ रोपनी जमिनमा बगैंचा निर्माण गर्ने योजना समेटिनेछ । सर्वसाधारणले सिंहदरबार कस्तो छ भनेर देख्ने ठाउँ नै उक्त बगैंचा हुने सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख रवीन्द्र बोहराले जानकारी दिए ।


बिजुलीको तार, पानीका पाइप तथा टेलिफोन एवं टेलिभिजनका केबुलहरूलाई भूमिगत रूपमा व्यवस्थापन गर्ने योजनालाई संशोधनमा राखिने भएको छ । यस्तै सुरक्षाका सबै संयन्त्रलाई एकीकृत रूपमा राख्ने योजना छ । परिसरमा संघीय संसद् भवन एक सय ७३ रोपनी ८ आना जमिनमा निर्माण सुरु भइसकेको छ । चिनियाँ कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ५ अर्ब २ करोडमा निर्माण गरिरहेको हो । दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को उक्त भवन ‘स्टेट अफ आर्ट’ का एउटा नमुना हुने सहरी विकास तथा भवन विभागले जनाएको छ । विभागका अनुसार भवनमा युगअनुसारको प्रविधि र सुविधा उपलब्ध हुनेछ ।


गुरुयोजनाअनुसार आधुनिक संसद् भवन र सर्वोच्च अदालत प्रवेशका लागि छुट्टाछुट्टै बाटो बनाइनेछ । सर्वोच्च अदालतको पूर्वतर्फ अर्को भवन बनिरहेको छ । योजनाअनुरूप सर्वोच्च प्रवेशका लागि हाल कायम रहेको सिंहदरबारको पश्चिमको बाटो नै कायम राखिनेछ । हाल स्वास्थ्यबाहेक सबै मन्त्रालय सिंहदरबारभित्रै छन् । पाँचवटा मन्त्रालयको आफ्नै भवन छैन ।


रक्षा मन्त्रालयको नयाँ भवन बनिसकेको छ । उक्त मन्त्रालय नयाँ भवनमा सरेपछि संसद् भवन बन्दै गरेको स्थानमा रहेको चण्डीदल गणका केही सेनालाई हाल रक्षा मन्त्रालय र सुरक्षा परिषद्को सचिवालय रहेको भवनमा सारिने भएको छ । भवन विभागका महानिर्देशक मणिराम गेलालका अनुसार सेनालाई सिंहदरबारभित्रै राख्न थप टहरा बनाइनेछ । यसका लागि बजेट विनियोजन भइसकेको छ । उक्त गणमा करिब ८ सय सेना छन् ।

प्रकाशित : माघ ६, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?