नारायणहिटी नजिक इतिहासको झल्को

सीमा तामाङ

काठमाडौँ — मुख्य गेट पुग्नासाथ दुवैतर्फ पार्किङ । अगाडि सङ्लो पानीको फोहोरा । मुख्य स्मारकमा हिमाल, पहाड र तराई झल्किने नेपालको आकृति । त्यही आकृतिमा छानाबाट आइरहेका प्रकाशका राता किरण । 

नारायणहिटी नजिक इतिहासको झल्को

नारायणहिटी दरबार संग्रहालयको पूर्वतर्फ बनेको गणतन्त्र स्मारक हो यो । आन्दोलनका क्रममा मृत्यु भएका, बेपत्ता पारिएका र अंगभंग भएकाहरूको स्मरणमा स्मारक बनाइएको हो । जल, आकाश र प्रकाशलाई महत्वपूर्ण अंग हुनेगरी स्मारक निर्माण गरिएको सहरी विभागले जनाएको छ । ४५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको स्मारकमुनि दुई वटा बेसमेन्ट छन् ।


पहिलो बेसमेन्टमा गणतन्त्र प्राप्तिका क्रममा खिचिएका तस्बिर, विभिन्न चरणको जनआन्दोलनका सहिदको तस्बिर राखिएका छन् । दोस्रो बेसमेन्टमा नेपालको संविधानसम्बन्धी विभिन्न विषयवस्तु संग्रह गरिनेछ । इन्टेरियरको काम बाँकी रहेकाले पूरा गर्न केही समय लाग्ने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।


स्मारकमा दुई सय मानिस अट्ने कक्ष पनि निर्माण गरिएको छ । स्मारक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गणतन्त्र प्राप्तिको संघर्षका श्रव्यदृश्य यही कक्षमा देखाइनेछ । स्मारकको अग्रभागमा ५ टनको ढुंगामा खोपेर ‘नेपाल संविधान २०७२’ लेखिएको छ ।


सहरी विकास मन्त्रालयले यो स्मारक नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई शुक्रबार हस्तान्तरण गरेको छ । सहरी मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागले स्मारक निर्माण गरेको हो । समितिका प्रमुख कार्यकारी निर्देशक दाहालले एक वर्षभित्र संग्रहालयलाई पनि अन्तर्राष्ट्रिय रूप दिने बताए । ‘सहिदप्रति सम्मान गर्ने स्थलको रूपमा विकास गर्ने योजना छ, स्मारकभित्र रहेको खुला थिएटरलाई अमूर्त सम्पदास्थल बनाउँछौं,’ उनले भने ।


ऐतिहासिक उपलब्धि प्राप्तिका लागि सहादत गर्ने सहिदको सम्झनामा सरकारले ०६८ सालमा स्मारक बनाउने निर्णय गरेको थियो । ०६८ चैत महिना १४ गते नारायणहिटी दरबार संग्रहालयको पूर्वतर्फको ८२ रोपनी जग्गामा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले गणतन्त्र स्मारकको शिलान्यास गरेका थिए ।


अहिले ३५ रोपनी जग्गामा मात्र पार्क निर्माण गरिएको छ । गत जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारकको उद्घाटन गरेकी थिइन् ।

प्रकाशित : माघ ५, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?